विराटनगरमा नालीमा डुबेर नाबालिकाको मृत्यु, अन्त्येष्टि गर्न लागेको शव प्रहरीले उठायो
विराटनगर : विराटनगरमा नालीमा डुबेर मृत्यु भएकी नाबालिकाको शव अन्त्येष्टि गर्ने तयारी हुँदै गर्दा प्रहरीले उठाएको छ।
विराटनगर महानगरपालिका-१८ का गौतम मण्डलकी डेढ वर्षीया छोरी छोटी मण्डलको शव उठाएर प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको हो। १८ महिनाकी छोटीको घर अगाडिको नालीमा डुबेर मृत्यु भएको अवस्थामा शनिबार बिहान १० बजेतिर शव फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खेल्ने क्रममा घरअगाडि रहेको डेढ फुटजति गहिरो नालीमा डुबेर छोटीको मृत्यु भएको खुलेको छ। अभिभावक र आफन्तले नेपाल-भारत सीमा क्षेत्रको दशगजा नजिक खाल्डो खनेर शवको दाहसंस्कार गर्ने तयारी गरेका थिए।
नालीको पानीमा डुबेर नाबालिकाको मृत्यु भएपनि प्रहरीलाई घटनाको जानकारी नगराइकन अन्त्येष्टिको तयारी गरिएको थियो।
स्थानीयले घटनाका बारेमा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोस्ट भेडियारीको टोली घटनास्थल पुगेको थियो। खाल्डो खनेर गाड्ने तयारी हुँदै गर्दा प्रहरीले दिउँसो १:१५ बजेतिर शव उठाएर पोस्टमार्टमका लागि अस्पताल ल्याएको हो।
‘घरनजिक डेढ फुटजति गहिरो नाली रहेछ। खेल्दै पुगेकी बालिकाको त्यही नालीमा डुबेर मृत्यु भएको खुल्यो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले भने, ‘त्यसरी अकाल मृत्यु हुँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। शवको पोस्टमार्टम गरिनुपर्छ।’
कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भन्ने अभिभावकलाई थाहा नभएकाले प्रहरीलाई घटनाको जानकारी नदिइकन शवको अन्त्येष्टि गर्न खोजेको पाइएको उनले बताए।
दाहालका अनुसार शवलाई पुर्न खोल्डो खनेर तयार पारिसकेको अवस्थामा पुगेको प्रहरीले उठाएर पोस्टमार्टमका लागि अस्पताल ल्याएको हो। सुरुमा अभिभावक र छरछिमेकी कसैले पनि नदेखेका कारण नालीमा डुबेपछि माथि निस्कन नसक्दा मृत्यु भएको अवस्थामा नाबालिकाको शव फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै अन्त्येष्टि गर्नबाट रोकेर शवलाई अस्पताल ल्याएको जानकारी उनले दिए। अकाल मृत्युमा पूरा गर्नुपर्ने कानुनी प्रक्रियाका बारेमा प्रहरीले स्पष्ट पारेपछि शवको पोस्टमार्टम गराउन अभिभावक र आफन्त तयार भएको डीएसपी दाहालको भनाइ छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।