अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीको वर्चस्व
दोलखा : दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले जितेका छन्।
८.५ अंकसहित प्रथम भएका महिन्द्रकारले नगद एक लाखसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
स्व. भीमबहादुर तामाङको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, अमेरिका र फ्रान्सका एक सय ५६ जना खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताको दोस्रो र तेस्रो स्थान पनि भारतीय खेलाडीहरूले नै हात पारेका छन्।
प्रतियोगितामा उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भएका छन्। ७.५ अंक सहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अंक सहित तेस्रो बनेका सोनीले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा १२ वर्षमुनिको अर्को प्रतिस्पर्धामा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादव विजेता बनेकी छन्। उनले ४ अंक प्राप्त गरेको आयोजकले जनाएको छ। नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अंकसहित दशौ भएका थिए भने ६ अंकसहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका छन्।
त्यसैगरी महिला तर्फ ६ अंक सहित श्रीलंकाको खेलाडी एसडी रनसिंगे प्रथम भएकी छन्। प्रतियोगिताका विजयीहरूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले पुरस्कार वितरण गरेका थिए।