पहिचान पक्षधर २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी
विराटनगर : कोसी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले गरेको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ।
प्रहरीले विराटनगरबाट आइतबार ८६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। तीमध्ये तोडफोड एवं आक्रमणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये ६० जनालाई छाडिसकिएको छ।
अन्यलाई भने घटनाको विश्लेषणपछि अभद्र व्यवहार मुद्दा चलाउने निस्कर्षमा प्रहरी पुगेको हो। सोमबार सार्वजनिक बिदा परेका कारण उनीहरूविरुद्ध मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हिंसात्मक एवं उग्र प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएकामध्ये महिला, अशक्त र वृद्धवृद्धालाई मात्रै छाडिएको छ।
‘अराजक गतिविधिमा संलग्न नभएका तथा शारीरिक अवस्था कमजोर रहेकालाई छाडिएको हो,’ डीएसपी दाहालले भने, ‘अन्यविरुद्ध कानुन अनुसार कारबाही अघि बढाउने तयारी छ।’ नियन्त्रणमा लिइएकाबाट भाला, लाट्ठी, भाटा, बाँस, गुलेली, ढुंगासमेत बरामद भएको उनले बताए। प्रदर्शनका क्रममा उत्तेजना फैलाएर हिंसा भड्काउने, प्रदेशको स्वास्थ्य मन्त्रालयमा तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेलाई मुद्दा चलाउन लागिएको प्रहरीको भनाइ छ।
कोसी प्रदेशको दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने हिसाबले पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रदर्शनकारीले प्रदेशसभा भवनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुडा एवं आक्रमण गरे। ढुंगा प्रहार गरेर प्रदेशको स्वास्थ्य मन्त्रालयमा क्षति पुर्याए। ढुंगाले मन्त्रालय भवनको शिशा फुटेका छन्। अवस्था तनावग्रस्त बनेपछि मन्त्रालयका कर्मचारीबीचमा भाडदौड मच्चिएको थियो।
प्रहरीका अनुसार स्वास्थ्य मन्त्रालयमा तोडफोड एवं ढुंगामुडा गरिँदा ३० लाख माथिको क्षति भएको छ। आन्दोलनकारीले ढुंगाले हानेर मन्त्रालयको बा २ झ ३१२८ र बा २ झ २४०८ नम्बरका गाडीमा क्षति पुर्याएका छन्। पार्किङ गरेर राखिएका सरकारी गाडीको शिशा फुटाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको ढुंगा प्रहारबाट सुरक्षाकर्मीको ५ थान सिल ढाल र हेल्मेट कामै नलाग्ने गरी क्षतिग्रत बनेका छन्।
आन्दोलनकारीले प्रदर्शन उग्र बनाउँदै ढुंगा, इँटा, बियरको बोतल र गुलेली प्रहार गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। स्थिति नियन्त्रण बाहिर जान लागेपछि सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र लाट्ठी प्रहार एवं हवाईफायर गरेका थिए। प्रदर्शनकारीसँगको दोहोरो झडपमा परेर ५४ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेमध्ये ३८ जना नेपाल र १६ जना सशस्त्र प्रहरी छन्।
आन्दोनकारीतर्फ १७ जना घाइते भएको प्रहरीले जनाएको छ। पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले भने ४० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताए। प्रदेशसभाबाट करिब ५० मिटरजति पूर्वमा डेढ घण्टाजति प्रदर्शन र झडप हुँदा विराटनगरको देवकोटा चोक रणमैदानमा परिणत भएको थियो। घटनापछि सर्वसाधारण र स्थानीय आतंकित एवं त्रसित बनेका थिए। सुरक्षित स्थानको खोजीमा उनीहरूबीच भागदौड मच्चिएको थियो।
प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। प्रदेशको नामकरणपछि पहिचान पक्षधर असन्तुष्ट बनेका छन्। कोसी नाम खारेज र ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले निरन्तर आन्दोलन गरिरहेका छन्। नेताहरूले शान्तिपूर्ण भनेर दाबी गरिरहे पनि आन्दोलन हिंसात्मक बन्दै गएको सुरक्षा विश्लेषण छ।
यी हुन् मुद्दा चलाउन लागिएकाहरू
मुद्दा चलाउने तयारी गरिएकामध्ये झापा र सुनसरीका ६-६, इलामका ५, मोरङका ४ र पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर एवं उदयपुरका १-१ जना छन्।
झापाको कमल गाउँपालिका-२ का खड्क लिम्बू, कमल-४ का सुमन केरुङ, हल्दिबारी-३ का सुकराज लिम्बू, मेचीनगर-११ का सुकराज थेबे, बिर्तामोड-४ का प्रयास वान्तवा, अर्जुनधारा-४ का सन्तोष सुम्पाफेविरुद्ध मुद्दा चलाइने भएको हो। सुनसरीको इटहरी-५ का अशोक चेम्जोङ, धरान-८ का आरभी लिम्बू (भविश्वर), धरान-१५ का कूलप्रसाद लिम्बू, प्रदीप लिम्बू, पदम खेवाङ र धरान-१७ का सीताराम राईविरुद्ध मुद्दा चलाइँदै छ।
त्यस्तै मुद्दा चलाउन लागिएकामध्ये इलामको माई-६ का मनकुमार थेगिम, माई-८ का मनकुमार लिम्बू, माङ्सेबुङ-५ का शंकर लिम्बू, रोशन लिम्बू र चुलाचुली-४ का जेबी साँवा तथा मोरङको पथरीशनिश्चरे-८ का ताराकुमार लिम्बू, लेटाङ-७ का प्रमोद लिम्बू, लेटाङ-२ का छविरमण सार्की र मिक्लाजुङ-२ का राजभक्त लिम्बू रहेका छन्।
ताप्लेजुङको फुङलिङ-८ का नवीन पोमु, पाँचथरका सञ्जीव लिम्बू, धनकुटाको चौबीसे-२ का दुर्गा मगर, भोजपुरको आमचोक-४ का अमृत राई र उदयपुरको गाईघाट-३ का सुकुम राईविरुद्ध पनि मुद्दा चल्दैछ।