रेशम चौधरीको रिहाइको पूर्वप्रहरी संगठनद्वारा विरोध
विराटनगर : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइप्रति नेपाल पूर्वप्रहरी संगठनले विरोध जनाएको छ।
नेपाल पूर्वप्रहरी संगठन परिवारका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रहरी नायव उपरीक्षक (पूर्वडीएसपी) बद्रीविक्रम थापाले मंगलबार विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिनु त्रुटिपूर्ण भएको उल्लेख गरेका छन्।
आममाफीको निर्णय तत्काल पुर्नविचार गर्नुपर्ने माग राख्दै संगठनले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ।
‘२०७२ सालमा कैलालीको टीकापुरमा ७ जना प्रहरीसहित १ जना नाबालकको अमानवीय तवरले भएको बीभत्स हत्याका योजनाकार रेशम चौधरीलगायतका हत्यारालाई नेपाल सरकारको सिफारिसमा सम्मानीय राष्ट्रपति ज्यूबाट आममाफी दिइएको प्रति यस पूर्वप्रहरी संगठन परिवारको गम्भीर ध्यानआकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले समेत दोषी ठहर गरी फौजदारी अपराधमा आजन्म कैद सजाय पाएका व्यक्तिलाई विधि, प्रक्रिया मिची कानुनी राज्य र मानव अधिकारको उपहास हुने गरी आममाफी दिनु गम्भीर त्रुटि हो।’
आममाफीको निर्णयले आमसुरक्षाकर्मीको मनोबल गिर्ने र पीडितलाई अझ असुरक्षा भइ पीडा महसुस हुने संगठनको ठहर छ। ‘आमसुरक्षाकर्मीको मनोबल गिर्ने र पीडितलाई अझ असुरक्षा भइ पीडा महसुस हुने गरी भएको यस आममाफी निर्णयको तत्काल पुर्नविचार होस्,’ ज्ञापनपत्रमा भनिएको छ।