पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारको आह्वान
विराटनगर : प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ।
प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्।
आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गरिरहेका छन्।
कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने माग आन्दोलनरत पक्षको छ। लामो समयदेखि आन्दोलन गरिरहेको पहिचान पक्षधरलाई सरकारले पहिलोपटक औपचारिक हिसाबले वार्तामा बोलाएको हो।
‘नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्वद्ध पक्षलाई कोसी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ,’ विज्ञप्ति जारी गर्दै सरकारका प्रवक्ता सिटौलाले भनेका छन्।
१६ औँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि पहिचान पक्षधरलाई हिंसा त्यागेर वार्तामा आउन आह्वान गरेका थिए। वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न मुख्यमन्त्री कार्कीको आग्रह थियो।
उनले संविधान र कानुनद्वारा प्रत्याभूत अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगामी निर्वाचनमार्फत कानुनी र संवैधानिक प्रक्रिया अगाडि बढाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेका थिए।
संवाद र छलफलबाट निष्कर्षमा पुग्न सकिनेमा जोड दिँदै कार्कीले हिंसा त्यागेर शान्तिपूर्ण गतिविधि गर्न पनि आह्वान गरेका थिए। सार्वजनिक मञ्चबाट मुख्यमन्त्रीले आह्वान गरेको भोलिपल्टै प्रदेश सरकारले पहिचान पक्षधरलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो।
प्रदेशसभाको जारी दोस्रो एवं बजेट अधिवेशनअन्तर्गतको दोस्रो बैठक बुधबार बस्दैछ। नाम संशोधनका लागि सांसदलाई दबाब दिने उदेश्यले बुधबार पनि प्रदेशसभा भवन केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्ने तयारी रहेको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए।
नेताहरुले शान्तिपूर्ण भनेपनि आन्दोलन भने हिंसात्मक बन्दै गइरहेको छ। गत आइतबार प्रदेशसभा भवननजिकै विराटनगरको देवकोटा चोकमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो।
प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सुरुमै ढुंगामुडा गरेर माहोल भड्काएपछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ।
झडपमा ५४ जना सुरक्षाकर्मी र १७ जना आन्दोलनकारी घाइते भएका थिए। प्रहरीले त्यस दिन ८६ जना आन्दोलनकारीलाई पक्राउ गरेको थियो। तीमध्ये ६० जना सोमबार नै छुटे। प्रहरीका अनुसार आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएपछि मुद्दा चलाउने तयारी गरिएका २६ जनालाई पनि मंगलबार छाडिएको छ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउने सर्वपक्षीय सहमति जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार भएको थियो। सुरक्षा निकायका प्रमुख र पहिचान पक्षधरबीचको बैठक एवं छलफलमा उक्त सहमति भएको हो।