प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण
भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म भोलिदेखि कार्गो रेल सञ्चालन हुँदै
विराटनगर : भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म बिहीबारदेखि कार्गो रेल सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अवसर पारेर मालवहाक रेल सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रचण्ड भारत पुगेपछि दुवै देशका प्रधानमन्त्रीले रेल सञ्चालन सुरु गर्ने कार्यक्रम तय भएको बताइएको छ । तर, मुआब्जा विवादका कारण नेपालतर्फ रेलको अन्तिम गन्तव्य मोरङको कटहरी क्षेत्रमा रेलमार्ग निर्माण अवरुद्ध छ । बथनाहा–कटहरी १८.६ किलोमिटरमध्ये निर्माण र परीक्षण सम्पन्न भइसकेको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्चालन हुनेछ ।
रेलमार्ग निर्माण सम्पन्न नभए पनि सीमित दूरीमा कार्गो रेल सञ्चालनसँगै व्यापारिक मालवस्तु ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । औद्योगिक कच्चा पदार्थ र सामान ढुवानीमा आर्थिक भार कम पर्ने उद्योगी व्यवसायी बताउँछन् । रेल सञ्चालनका लागि बुधनगर स्टेशनमा गोदाम र लिक मर्मतलगायत व्यवस्थापनसँग सम्बन्धित कामहरु सकिएको छ ।
२०६८ सालदेखि सुरू भएको बथनाहा–कटहरी रेलमार्गको निमार्ण २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो । तर,कटहरी खण्डको मुआब्जा विवादका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण हुन नसक्दा रेलमार्ग निर्माण सम्पन्न हुन सकेको छैन ।
रेल–वे निर्माणमा भारतले सहयोग गरिरहेको छ । २०७५ कात्तिक ८ गते बथनाहा–बुधनगर रेल–वेको लिक परीक्षण गरिएको थियो । परीक्षणले रेल संचालन योग्य रहेको देखाए पनि हालसम्म रेल सञ्चालन हुन सकिरहेको थिएन ।
औद्योगिक कच्चा पदार्थ बोकेको रेल बथनाहादेखि बुधनगरसम्मको निर्धारित दूरीमा १५ मिनेटमा आइपुग्ने जनाइएको छ । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलका अनुसार कार्गो रेल सञ्चालनसँगै सामानको आयातनिर्यात ३५ प्रतिशतसम्म सस्तो पर्नेछ । ढुवानी छिटो हुने,मालवस्तु टुटफुट नहुने र मालसामान बीच बाटोबाटै हराउने सम्भावना पनि नहुने प्याकुरेलले बताए । भने,‘लागत सस्तो पर्नेवित्तिकै औद्योगिक उत्पादन निक्कै सहज हुने छ ।’
विराटनगर भन्सारमा दैनिक लगभग ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ । भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत मालवस्तु आउने गरेको छ । कार्गो रेल सञ्चालनसँगै भारतबाट आउने ६० प्रतिशतभन्दा बढी र तेस्रो मुलुकबाट आउने सबै रेलमार्फत ल्याउन सकिने उद्योगी व्यवसायी बताउँछन् ।
उनीहरुका अनुसार ट्रकको प्रयोग गरेर मालवस्तु ढुवानी गर्दा १५ टनको ४० हजार भारतीय रूपैयाँ पर्छ । रेलमार्फत ल्याउँदा १५ हजार भारतीय रूपैयाँसम्म बचत हुने उनीहरुको दाबी छ ।
के हो मुआब्जा विवाद ?
मोरङको कटहरीस्थित रेल स्टेशन क्षेत्रको ११९ बिगाहा जग्गा अधिग्रहणमा विवाद कायमै छ । मुआब्जा निर्धारण समितिले जग्गाधनीलाई प्रतिकट्ठा २ लाख रूपैयाँका दरले मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्ट बनेका जग्गाधनीले रेल–वे विस्तार र स्टेशन निर्माणका लागि जग्गा दिएका छैनन् ।
अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरिदिए पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय ५ सय ६५ जग्गाधनीमध्ये २२ जनाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । मुद्दाको टुंगो नलाग्दा जग्गा अधिग्रहण सम्बन्धी किचलो कायमै छ । जग्गाधनी भने रेल–वे जग्गा अधिग्रहण पीडित संघर्ष समिति गठन गरेर आन्दोलित छन् ।
आवश्यक जग्गा नेपालले उपलब्ध गराउने र रेलमार्ग निर्माण भारतले गर्ने द्विपक्षीय सहमति थियो । मुआब्जा विवादका कारण भारतलाई समयमै जग्गा उपलब्ध गराउन नसक्दा निर्माण कार्यले पूर्णता पाएको छैन ।