शल्यक्रिया कक्ष तयारी गर्दा गर्दै गर्भवतीको मृत्यु
मुगु : शल्यक्रिया कक्ष तयारी गर्दा गर्दै गर्भवतीको मृत्यु भएको छ। जिल्लाको छाँयानाथ रारा नगरपालिका-१३ लुमा गाउँकी ३० वर्षीया राजु नेपालीको शुक्रबार मृत्यु भएको हो।
उनलाई बिहीबार बिहानदेखि व्यथाले च्यापेको थियो। घरमा सुत्केरी हुन नसकेपछि आफन्त र घरपरिवारले बिहीबार बेलुकी सुत्केरी गराउन जिल्ला अस्पतालमा पुर्याएका थिए।
अस्पतालमा सुत्केरी गराउन शल्यक्रिया कक्ष लिने तयार गर्दा गर्दै उनको मृत्यु भएको हो। पिसाबको संक्रमणका भएको र व्यथा सुरु भइसके पनि पाठेघरको मुख लामो समयसम्म २ सेमीभन्दा नखुलेपछि अस्पतालले रिफर गर्न खोजेको थियो।
चेकजाँच गर्दा बच्चा घुमेर बसेको अवस्थामा देखिएपछि शल्यक्रिया गरेर आमा र बच्चाको ज्यान जोगाउन अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने सल्लाह दिइए पनि परिवारले मानेका थिएनन्।
अस्पतालमै शल्यक्रिया गर्न खोज्दा शुक्रबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जानकारी दिएको छ। अस्पतालको कमजोरीका कारण आमा र गर्भभित्रको बच्चाको ज्यान गएको वडा अध्यक्ष वीरबहादुर खड्काले बताए। उनका १० वर्षमुनिका छोराछोरीको बेहाल भएको अध्यक्ष खड्काले बताए।
रिफर गरेर जुम्ला लैजाँदा बाटोमा नै मृत्यु हुने सम्भावना देखिएपछि अस्पतालमै शल्यक्रिया गर्न लाग्दा उनको मृत्यु भएको डाक्टर कमल ढुङ्गानाले जानकारी दिए।
'शल्यक्रिया गर्नका लागि उनलाई लठ्ठाउने औषधि दिइएको थियो। त्यसपछि उनी एक्कासि बेहोस भइन्। पछि नाडी र मुटुले पनि काम गर्न छाड्यो। त्यसलगत्तै कृतिम श्वास दिने सबै प्रकिया अपनाइयो तर उनलाई बचाउन सकिएन,' डाक्टर ढुङ्गानाले भने।