विदेशमा रहेका नागरिकले भोट हाल्न पाउने व्यवस्थाका लागि बजेट छुट्याएको देखिनँ : सासंद् लामिछाने
काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने भने पनि बजेट छुट्याएको नदेखेको सांसद् रवि लामिछानेले बताएका छन्।
‘सरकारले विदेशमा रहेका नागरिकका लागि पनि अब भोटिङ राइट्स दिने। विदेशमा रहेका नेपाली नागरिकले पनि भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने त भन्यो,’ उनले भने, ‘तर, बजेट कहाँ छुट्याउनु भयो अर्थमन्त्री ज्यु ? त्यसका लागि लगत संकलन गर्न जानुपर्ला...निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूको बारेमा जानकारी लिन जानुपर्ला... त्यसका लागि कहाँ कतै मैले बजेट देखिँन कि ? मलाई क्षमा गरिदिनुहोला।’
अर्थमन्त्रीले भन्नलाई भन्दिए पनि प्राथमिकतामा राख्न नचाहेको लामिछानेले बताए।
‘यो देशमा भविष्य नदेखेर विभिन्न कुरितीका कारणले हामीले भोग्नुपरेका बेथितिका कारणले मुलुकमै केही गरिखाउँ भन्ने अवसर नपाएर बाध्य भएर विदेश बसेका नेपालीहरूले आफ्नो देशको भविष्य छान्न पाउनपर्छ भोट हाल्न पाउनुपर्छ यसलाई प्राथमिकताकासाथ राखियोस्,’ उनले भने, ‘म अर्थमन्त्रीलाई विदेश रहेका नेपाली नागरिकहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताका लागि कति बजेट छुट्याउनु भएको छ। के व्यवस्था गर्नु भएको छ, म त्यसको लागि जवाफ चाहन्छु।’