मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। सांस्कृतिक सहरको रूपमा विकसित भइरहेको काठमाडौ महानगरमा सांस्कृतिक हिसाबले ग्रेटर नेपालको नक्सा राखिएको हो। 

महानगर प्रमुखको सचिवालयका एक सदस्यका अनुसार बिहीबार सभागृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो। बालेनको सचिवालयका अनुसार मेयरको कार्यकक्ष पुनःसजावट भइरहेको छ। यसैक्रममा दक्षिण एसिया समेटिएकै थ्रिडी नक्सा पहिले नै थियो। यो नक्सा पुरानो भएपछि सांस्कृतिक नक्साको रूपमा ग्रेटर नेपालको नक्सा राखिएको हो। 

इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका हुन्। यो नक्सामा नेपाल–भारत सुगौली सन्धि हुनुपूर्वको नेपालको सिमाना समेटिएको छ। भारत र चीनका केही स्थानहरू पनि समेटिएको छ। 

भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखिएपछि नेपालीहरूले असन्तृष्टि जनाउँदै आएका छन्। ग्रेटर इन्डियाको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ। हाल नेपालको रहेका लुम्बिनी र कपिलवस्तुसहितको नक्सा भारतले आफ्नो संसद् भवनमा राखेपछि नेपालीहरू आक्रोशित भएका थिए। स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर मेयर बनेका बालेनले जनताको संवेदनालाई समेट्न ग्रेटर नेपालको नक्सा राखेको अनुमान गरिएको छ। 

के हो ग्रेटर नेपालको नक्सा ? 

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार ग्रेटर नेपालको नक्सा सन् १८०६ मा नै बनेको हो। तत्कालीन समयमा भारतमा शासन गरिरहेको इस्ट इन्डिया सरकारले नै यो नक्साको निर्माण गरेको हो। अंग्रेज सरकारले तत्कालीन भारतको नक्सा बनाउने क्रममा नेपालको नक्सा पनि बनाएको श्रेष्ठको दाबी छ। श्रेष्ठ भन्छन्, ‘नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरे। गोर्खाबाट सुरु गरेको यो अभियान काठमाडौं भएर मोरङ, किरात प्रदेश, ताप्लेजुङ तथा भारतको सिक्किममा पनि पुगेको थियो। उनको मृत्यु भएपछि उनका सन्तती बहादुर शाह र राजेन्द्रलक्ष्मीले यो अभियानलाई पुनः निरन्तरता दिए। 

सन् १८०६ मा नेपालको सिमाना पूर्वमा टिष्टा नदी, पश्चिममा किल्ला कांगडासम्म पुगेको थियो। १८०९ मा किल्ला कांगडाबाट पूर्व सरेर सप्तक नदीको सिमाना भयो। सिमानाको हिसावले विशाल भएको भारतमा शासन गरेको अंग्रेजलाई राम्रो लागेन। सन् १८१५ डिसेम्बरमा नेपालसँग युद्धको घोषणा ग¥यो। युद्ध भयो। यसलाई इन्डो गोर्खा वार भनिन्छ। यो युद्धमा कतै नेपालको जित भयो त कतै अंग्रेज सरकारको जित भयो। यसपछि सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भयो। 

यो सन्धिपछि नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित भयो। यो सन्धिको ७ महिनापछि नेपालले राप्तीदेखि कोसीसम्मको पूर्वी भाग फिर्ता पाएको थियो। यसको ४४ वर्षपछि बाँके बर्दिया कैलाली कञ्चनपुर प्राप्त गरेपछि नयाँ मुलुकको रूपमा वर्तमान नेपालको सिमाना कायम भएको हो। ग्रेटर नेपालको नक्सामा भारतको दार्जीलिङ, सिक्किम, गोरखपुर, लखनउ, सिलगढी, पिथौरागढ, झुलाघाटलगायतका ठाउँहरू समेटिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.