माथि पण्यो साइपाल् हिमाल् तल बग्न्या सेती
देउडा गीतमा समस्त राष्ट्र बोलेको हुन्छ। राष्ट्र मानव र हित हुन सक्दैन। हिमाल नदी, पहाड जल, जमिन नभएको राष्ट्रको कल्पना गर्न सकिँदैन।
माथि पण्यो साइपाल् हिमाल् तल बग्न्या सेती
देउडा गीतमा समस्त राष्ट्र बोलेको हुन्छ। राष्ट्र मानव र हित हुन सक्दैन। हिमाल नदी, पहाड जल जमिन नभएको राष्ट्रको कल्पना गर्न सकिँदैन। यी विषयहरूलाई देउडा गीतका पुराना शैलीले बताएका देखिन्छन्। अचम्म लाग्छ, कहिलेकाहीँ शिक्षित समुदायभन्दा अशिक्षित समुदायले मर्मस्पर्शी देउडा गीतका भावहरू रच्ने गर्छन्।
अझ त्यसमा पनि जन्मजात अपांगता भएका (आँखा देख्न नसक्ने, कान सुन्न नसक्ने) व्यक्तिबाट देउडा गीतमा अर्थपूर्ण शब्द र भावहरू रचिएका छन्। त्यस्ता व्यक्तिले न साइपाल हिमाल देखेका छन् न त सेती महाकाली र कर्णाली नदी नै तरेका छन्। तर सहजरूपमा खेलौडासँग सबाल–जवाफ गर्दा हिमालको वर्णन गर्छन्, नदीको व्याख्या गर्छन्। यो शक्ति उनीहरूमा कसरी आयो ? जन्मजातको अलौकिक शक्ति हो या सुनेका आधारमा ? जानी नसक्नुको विषय छ।
देउडा गीत सबै विषयसँग समेटिएको श्रीमद्भागवत गीताजस्तै ज्ञानको गंगा पनि हो। सामवेदको स्वरूप मानिन्छ, संगीतको स्वरूप देउडा गीत सबैभन्दा प्राचीन गीत हो। यो प्राचीन संगीत त शिवजीको डमरुबाट निस्केका आवाज सा रे ग म प ध नि गरी ७ वटा ध्वनि मात्रै हुन्। मानव विकासको कल्पना भएदेखि बादरको रूपबाट विस्तारै मानवको रूपमा जंगली बस्ती हुँदै घरबस्तीसम्म आइपुग्दा नेपालका प्राचीन संस्कृति र गीतको पनि यसरी नै विकास भएको देखिन्छ।
अझ देउडा गीतको इतिवृत्ति त सबैभन्दा जेठो संस्कृति र गीतका रूपमा लिने गर्छु। देउडा मूर्त र अमूर्त संस्कृतिको झर्राे खालको झोला भएकाले सबैथरी भावहरू यस्मा अटाउँछन्। प्रेम र करुणादेखि रौद्र र भयसम्मका साहित्यका विविध रूपमा देउडा गीत अटाएको देखिन्छ। प्रकृतिसँग त यसको घनिष्ठ सम्बन्ध जोडिएको पाइन्छ। पृथ्वीमा नै जन्मिने हुर्कने र विचरण गरिने भएकाले देउडा गीतको घनिष्ठता बढ्नु स्वाभाविकै हो भन्ने बोध गराएका थिए, पुराना सर्जक जुम्लाका स्व. महाशंकर देवकोटाले।
माथिको गीतमा ‘बौलो’ शब्द प्रयोग गरिएको पाइन्छ। बौलोको अर्थ धेरै भन्ने बुझिन्छ। जन्मभूमिमा धेरै प्रकृति सम्पदा छन्, ती सम्पदासँगै संस्कृति पनि जमेको देखिन्छ। त्यसैले पनि देउडा गीतका रचनाकारले जन्म्या ठाउँको बौलो माया भन्ने प्रसंग उठाएका हुन्।
सेती नदीको उद्गमस्थल साइपाल हिमाल हो, हिमाल हाम्रो रखबार हो। सेती नदीको नामबाट सेती अञ्चल र महाकाली नदीको नामबाट महाकाली अञ्चलको नाम रहन गएको हो। महाकाली नदी अपी हिमालबाट निस्केकाले साइपाल र अपीलाई देउडा गीतमा पनि सर्जकले यसरी सम्झने गर्छन्–
अपीबाट महाकाली साइपालबाट सेती
दिदी बैनी यी नदीले गरिदियो क्षति।
२०६३ भदौको अन्तिम सातामा सुदूरपश्चिममा आएको विनाशकारी बाढीका कारण दार्चुला जिल्लाको खलंगा, कञ्चनपुरको शिवनगर गड्डाचौकीलगायत धेरै ठाउँमा जनधनको ठूलो क्षति पुर्यायो। महाकाली नदी पारिका चाँदनी र दोधारामा नदी पसेर चौपाया र बालीनाली पूर्ण रूपमा नष्ट गर्यो। सेती नदीमा पनि त्यही बेला बाढी आएर बझाङ सदरमुकाम चैनपुर, डोटीको दक्षिणी भूभागमा पुर्याएको क्षति बिर्सी नसक्नुको छ।
त्यहीबेला कर्णालीमा आएको बाढीका कारण टीकापुर, लम्की, सत्ती, भजनी, बर्दियाको राजपुर, भुरीगाउँमा पनि लगाएको धानखेती पूरै नष्ट गरेको घटनालाई त्यस क्षेत्रका बासिन्दाले भुल्न सकेका छैनन्। २०७८ असोज ३१ र कात्तिक १ गते आएको भीषण बाढी र पहिरोको कारण बझाङको डिक्ला थलारामा १७ जना मानिसलाई एकै चिहान बनायो। अन्नको दोस्रो ठूलो भण्डार मानिएको छान्नामा पाँच जना मानिस बाढीले बगायो, पाँच जना बाढीले बेपत्ता पार्यो। हजारौं हेक्टरभूमि जमिन बगरमा परिणत गर्यो।
२०७० सालमा दार्चुलामा आएको महाकालीको बाढी खलंगा बजारमा बस्दा ९ वटा घर बगायो, ५ जना बेपत्ता पार्यो। यी र यस्तै घटना सुदूरपश्चिममा रहेकाले महाकाली र सेती नदीलाई देउडा सर्जक दुःखका नदी भन्छन्। हिमालप्रति पनि उनीहरू गुनासो गरिरहन्छन्। गत वैशाख १४ गतेदेखि यो लेख तयार पारुञ्जेल बझाङ, दार्चुला, मुगुलगायत जिल्लामा १४ व्यक्तिको हिउँपहिरोमा परी निधन भइसकेको छ।
यार्सागुम्बा टिप्न उनीहरू लेकमा पुगे। वर्षा सुरुअघि देउडा खेलाडी पनि लेकाली र हिमाली भेगमा यार्साटिप्न पुग्छन्। निधन भएका केही व्यक्ति हिउँपहिरोमा परे। सञ्चारको पहुँचभन्दा टाढा रहेकाले समाचार बन्न सकेन। व्यक्तिको मात्र नभै एकजना सर्जक र भरिलो संस्कृतिको अवशानदेखि हिमालसँग गुनासो गर्दै पहिरोसँग पीडा पोख्दै देउडा खेलाडी गीतमा भन्छन्–
कोइ माइस पैरोमा मर्या कोइ मर्या हिमाल
मेरा साई स्वर्गलोक गया कैखी दिउ रुमाल ?
कर्णाली रात र दिन भाग्याको भागै छ
रानीचणा तेरी सम्राई लाग्याकी लाग्यै छ।
हिमाल र नदीहरूको प्रसंगबिना गीत अधुरा हुन्छन्, अपूरा हुन्छन्। हिमालले गीतमा आकार दिन्छ, नदी र गाउँहरूले गीतमा प्राण भर्ने काम गर्छ। हिमाल ओत दिने बासस्थान हो भने नदी र खोलाहरू गीतलाई फैलाउने आकार दिने शक्तिहरू हुन्। त्यसैले त गायकहरू हिमाल र पहाडको फेदीमा सुस्ताउँदे ठाडो भाका सुसाउँछन्। नदीकिनारमा गीतहरू संगीतको ध्वनि फेर्छन् र कलाकारहरू आनन्द मान्दै जीवनसँग गीतको लय मिलाउँछन्।
एक किसिमको बेजोडको शक्ति देखा पर्छ, त्यसबेला कलाकर्मीलाई। अनि विगत र भविष्यमा नदी र बाढीपहिरोले दिएका दुःख, भैपर्ने घटनाक्रमलाई भुल्ने गर्छन्। पानीको कलकल ध्वनिसँग देउडा गीतको लय र भावपक्ष मिलाउने कोसिस गर्छन्। फरक छ केवल देउडा गायक र गायिकाको नदी र हिमालसँगको भावनात्मक सम्बन्धमा।
कर्णाली नदी होस् या कोशी नदीहरू, गन्तव्यमा पुग्न थकाई मार्दैनन्। रातदिन भागी (बगिरहनु) रहन्छन्, जसरी दुःखी मनबाट गीतहरू जन्मिरहन्छन्। त्यसैले भनिन्छ नि गीत गंगा हो। इन्द्रेणी हो। आकाश पनि हो, जुन निर्मल हुन्छ। प्रेयषीलाई गीतांगीले रानी चणाको उपमा दिएका छन्। नदीले बगाएको भए पनि पहिरोले पुरेको भए पनि देउडा पारखी रानीचरी (प्रेयषी) विलिन भएको ठाउँ अर्थात् नदी र पाखा पर्वतमै बस्न रुचाउँछन्। पहिरोलाई गाली गर्दैनन्, नदीलाई पिठ्यू फर्काउँदैनन्, बरु नजिक बस्न रुचाउँछन्। देउडा गीतको प्रेम, हिमाल र नदीप्रति गाढा भएर बाँचिरहन्छ।
दार्म जिउलो बाझै रैग्यो चंखेली छायाले
मौरी घुम्छ रस्का थोपा म घुम्छु मायाले।
कुनै बेलाको रु. १ को नोटमा चंखेली हिमालको तस्बिर राखेको थियो। मुगु जिल्लामा पर्ने सो हिमालको छायाँले गर्दा दार्म जिउलो (धान फल्ने खेत) बाँझो रहन गयो। मौरी रसका थोपाका लागि फूलमा घुमेजस्तै यो मन चंखेली, साइपाल, अपी हिमाल र त्यहाँबाट निस्कने नदी र गाडको वरिपरि घुमिरहन्छन्। देउडा गीतका स्रष्टा यही कल्पना गर्ने गर्छन्। त्यसैले देउडा गीत वनगीत त हुँदै हुन्, साथै नदी, हिमाल र तालहरूका पनि गीत हुन्, चोखा भाका हुन्।