खडेरीले खाँदै छ धानबाली

खडेरीले खाँदै छ धानबाली

सिँचाइको सुविधा भएका उच्चपहाडी क्षेत्रमा यतिबेला रोपाइँ सुरु भइसकेको छ।

काठमाडौं :सामान्यतया जेठ ३०/३१ गते (जून १२/१३ तारेख) मा मनसुन सुरु हुन्छ। तर, यस वर्ष मनसुन ढिला भएको छ। यसको मुख्य असर धानबालीलाई पर्दैछ। कृषिविज्ञहरू मनसुन ढिलो हुँदा मकैमा असर परिसकेको बताउँछन्। सिँचाइको सुविधा भएका उच्चपहाडी क्षेत्रमा यतिबेला रोपाइँ सुरु भइसकेको छ। तल्लो क्षेत्रमा ब्याड राख्ने समय भएको छ। तर, मध्यपहाडी क्षेत्रमा किसानहरू धानको बीउ राख्न मनसुनको प्रतीक्षा गरिरहेका छन्। 

राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्र (नार्क) का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार मुलुकमा करिब ९२ प्रतिशत धान खेती वर्षायाममै गरिन्छ। धानखेती गरिने कुल भूभागको ३० प्रतिशत उच्च खडेरीको जोखिममा रहेको उनले बताए। समग्र खेती योग्य भूमिको करिब ६५ प्रतिशत सिञ्चित छ। तर, २८ प्रतिशत भूभाग मात्रै वर्षैभरि सिँचाइ हुन्छ। त्यसैगरी १५ प्रतिशत बाढीको उच्च जोखिममा छ। 

जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा औसतभन्दा कम वर्षा हुने सूचना दोस्रोपटक प्रकाशित गरेको छ। गत बिहीबार सूचना निकालेको विभागले महिना दिन अगाडि पहिलो सूचना निकालेको थियो। 

औसतभन्दा कम वर्षा हुनुको असर मुख्यतः कृषिमा पर्ने भएकाले अनुकूलनका काम, नयाँ प्रयोग तथा प्रविधिको अवलम्बन गर्नुपर्ने सन्देश मौसम विभागको सूचनामा छ। मनसुनमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी पर्छ। तर, यसपटकको मनसुनमा ३५ देखि ५५ प्रतिशत कम वर्षा हुने संभावना छ। वर्षायाममा लगाइने बालीलाई यसले प्रभावित पार्ने निश्चित छ। मुलुकको पूर्वी भूभाग अर्थात् कोसी प्रदेशमा मनसुन भित्रिनका लागि अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

धानखेतीका लागि अत्यधिक पानी चाहिन्छ। एक केजी धान उत्पादन गर्न ३२ देखि ४५ सय लिटर पानी आवश्यक हुन्छ। मकै उत्पादन गर्न ८ सय र गहुँका लागि २२ सय लिटर पानी चाहिन्छ। विशेषगरी बालीका फूल खेल्ने बेलामा कम पानी परेमा दाना पनि कम लाग्ने र पुष्ट दाना नलाग्ने समस्या हुन्छ। 
सन् २०२५ सम्म ७ करोड ३२ लाख मेट्रिक टन वार्षिक धान उत्पादन गर्नका लागि प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन हुन आवश्यक छ। ‘त्यसैले नयाँ खालका प्रविधिहरू अपनाउनुपर्ने समय आइसकेको छ,’ कार्कीले भने, ‘सुक्खा सहन सक्ने जातका धान लगाउन जरुरी भइसकेको छ।’

कार्कीका अनुसार वर्षा कम हुँदा सुक्खा छरुवा धानखेती पनि गर्न सकिन्छ। यो प्रविधि आकाशे पानीमा निर्भर रहनुपर्ने ठाउँमा उपयुक्त हुन्छ । तर, यस प्रविधिमा मौसम पूर्वानुमान भरपर्दो हुनुपर्ने बताए। 

‘कम पानीमा पनि हुने जातहरू विकास भएका छन्’, कार्कीले भने, ‘नेपालमा सुक्खा धान १, सुक्खा धान २, सुक्खा धान ३, सुक्खा धान ४, सुक्खा  धान ५, सुक्खा धान ६, हर्दिनाथ ४, घैया ३ लगायतका जातहरू कम पानीमा हुन्छन्।’

यस प्रविधिमा सुक्खा माटोमा बीउ खसाल्न सिड ड्रिल तथा हिल्याएकोमा ड्रम सिडर मेसिनको आवश्यक हुने उनले बताए। 
यी जातहरूलाई ३० प्रतिशत कम पानी भए पनि पुग्छ। हिल्याएर रोपेको धानभन्दा ७ देखि ११ दिन छिटो पाक्छ। ३० देखि ५० प्रतिशत उत्पादन लागत घट्छ। त्यसैगरी ३० प्रतिशत पानीको बचत हुन्छ। यस प्रविधिअन्तर्गत कम खनजोत गरिन्छ। यसले माटोको गुणस्तर बिगार्दैन। उत्पादनमा खासै फरक पर्दैन। तीन बाली लगाउने ठाउँमा अझै पनि यस्ता बीउ राख्न मिल्ने र केही दिन ढिला भए पनि समस्या नहुने उनले बताए। 
छरुवा धान केही दिन ढिला भए पनि समस्या हुँदैन।नार्कबाट अवकाश लिएका मुख्य वैज्ञानिक तथा धान विज्ञ हरिकृष्ण उपे्रतीका अनुसार पानी नपर्दाको असर मकैमा अहिले नै देखिसकेको छ । 

मकैको धानचमरा निस्केपछि एकदमै संवेदनशील अवस्था मानिन्छ। सानो बिरुवा अवस्थामा पानी नभए पनि धानचमरा आएर जुँगा निस्केपछि पानी अति आवश्यक हुन्छ। प्रजनन अवस्थामा पुगेका र फूल खेलेपछि पानी नहुँदा दाना लाग्दैन, लागेको दाना पनि थोते हुन्छ। धानचमरा आएर जुँगा आइसकेको अवस्था संवेदनशील हुन्छ। तर, त्योभन्दा पहिलाको अवस्थामा मकैले पनि सुक्खा सहन सक्छ। 

त्यसैगरी धानमा पनि विभिन्न जातहरू विकास गरिएका छन्। एउटा जातले तीन/चार वर्ष राम्रो उत्पादन दिन्छ। फेरि वातावरणसँग घुलमिल हुन सक्दैन र फेल खान्छ। त्यसैले नयाँ–नयाँ जातहरू निकाल्दै जानुपर्ने हुन्छ। 

‘आकाशे पानीमा निर्भर हुनेहरूले लामो समय लाग्ने जात प्रयोग गर्नुहुँदैन। चाँडो पाक्ने जात पनि छन्। ती जात ढिलो रोपे पनि चाँडै पाक्छ’, उपे्रतीले भने, ‘त्यस्ता धानको वृद्धिविकास हुने समयमा कम पानी परे पनि खासै असर गर्दैन।’ 

सरदरभन्दा कम वर्षा भएको खण्डमा सुक्खा वा खडेरी सहने जात लगाउने, छिटो पाक्ने जातहरू लगाएर सुक्खा मौसम छल्ने प्रयास गर्ने, स्रोत संरक्षण प्रविधिको उपयोग गरी माटोमा प्रांगारिक पदार्थ बढाउँदा माटोले चिस्यान संरक्षण गरेर राख्न सक्छ, सन्तुलित मलखाद व्यवस्थापन गरेर बिरुवा स्वास्थ्य बनाउँदा केही हदसम्म तनाव सहन सक्छ। 

मुलुकमा २१ प्रतिशत आकाशे भरमा धान खेती गर्ने पर्छन्। कम पानी पर्दा त्यसको प्रत्यक्ष असर उनीहरूमा पर्छ। धान खेतीका लागि सुक्खा वा खडेरी भएपछि वातावरणीय तनाव थपिन्छ। र, उत्पादन र गुणस्तर घट्छ। त्यसैगरी सरदरभन्दा कम वर्षाको असर जलस्रोेत, ऊर्जा, सिँचाइ, खानेपानीलगायतका क्षेत्रमा देखिने भएकाले पूर्वतयारी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। 
कम वर्षा हुँदा मोटामोटी सबै क्षेत्रमा असर गरे पनि कृषिमा धेरै प्रभाव पर्छ। लगाइसकेको बालीलाई जोगाउन कृषि विशेषज्ञको सुझाव लिने, पानी नभए त्यसको विकल्प खोज्नुपर्ने सुझाव विज्ञहरूको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.