सेवा आयोगका अध्यक्षमाथि कालोमोसो प्रकरण : नेविसंघ मोरङका सभापति पक्राउ

सेवा आयोगका अध्यक्षमाथि कालोमोसो प्रकरण : नेविसंघ मोरङका सभापति पक्राउ
कालोमोसो प्रकरणमा पक्राउ परेका नेविसंघ मोरङका सभापति सरोज पोखरेल ।

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। 

कालोमोसो प्रकरणको नेतृत्व गरेका पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले बुधबार बिहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो। 

आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन प्रहरीले उनलाई पक्राउ गरी सुनसरीतर्फ लिएर गएको छ। सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कालोमोसो दलेको घटनाको नेतृत्वकर्ता पोखरेललाई पक्राउ गरिएको जानकारी दिए। 

‘विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि १०–१५ जनाको समूहले कालोमोसो दलेको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। समूहको नेतृत्व गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ,’ ढकालले भने, ‘अन्य व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी टोली परिचालित छ। कालोमोसो दल्नेजस्तो अमानवीय घटनामा संलग्नविरुद्ध कानुन अनुसार कारबाही अघि बढ्छ।’

विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो। पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ। उदण्ड एवं अमानवीय घटनामा संलग्न सबैको पहिचान भइसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ।  

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९:३० बजेतिर कालोमोसो छ्यापिएको थियो। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको हो। कार्यालय जाने तयारी गर्दै गरेका बेला निवासमा पुगेर दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरिएको प्रहरीको भनाइ छ। 

हुलहुज्जतसहित प्राज्ञिक व्यक्तित्वमाथि अमानवीय व्यवहार र अपमानजनक घटना गराइएको भन्दै नेविसंघको चौतर्फी आलोचना भइरहेको छ। सेवा आयोगको विज्ञापन रद्ध गर्नुपर्ने माग राख्दै आयोगको कार्यालयमा गत पुसमा नेविसंघको नाममा ताला लगाइएको थियो। कांग्रेसकै अगुवाईमा केही दिनअघि ताला खोलियो। दाहालमाथि मोसो दल्ने समूह भने आफूहरुलाई जानकारी नदिइकन र वार्तामा नबोलाइकन ताला खोलिएको भन्दै असन्तुष्ट थियो। 

सेवा आयोगले विद्यार्थी संगठनका नाममा राखिएको माग पूरा गर्ने अधिकार आफूसँग नभएको स्पष्ट पारिसकेको छ। तर, शैक्षिक एवं प्राज्ञिक थलोलाई अस्थिर बनाउने तथा अघि बढ्न नदिने हिसाबमा तालाबन्दी गर्ने र आयोगका अध्यक्षमाथि मोसो दल्नेसम्मका हर्कत विद्यार्थी संगठनका नामबाट भइरहँदा राज्य मौन रहेको भन्दै तीव्र विरोध भइरहेको छ। अमानवीय हर्कत गरेको भन्दै नेविसंघविरुद्धको आलोचना चुलिएको छ। यस्ता घटनाले दण्डहिनता मौलाउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलिएको दाबी नेविसंघले गर्दै आएको थियो। तर, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी नेविसंघले नलिने स्पष्ट पारिसकेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले कालोमोसो दलिएको घटनालाई अमानवीय भनेका छन्। उनले गलत हर्कतमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.