सिन्धुपाल्चोकमा पेट्रोलको कालोबजारी, प्रतिलिटर २५० रुपैयाँ
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा १ लिटर पेट्रोललाई २ सय ५० सम्ममा बिक्री गर्दै आएको पाइएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले सदरमुकाम चौतारा बजारमा छापा मार्दा व्यापारीहरूले पेट्रोलको मूल्य २ सय ५० सम्म अशुल्दै आएको खुलेको हो। ‘हामीले बजार अनुगमन गर्दा केही व्यवसायीहरूले बोतलमा भरेर पेट्रोल बिक्री गर्ने गरिएको, एक लिटर पेट्रोलको मूल्य २ सय ५० सम्म लिने गरेको पायौं’, सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठले भने।
अवैध रूपमा पेट्रोलियम पदार्थ बेच्ने र कालोबजारी गर्ने व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा चेतावनी दिएको जनाएको छ। ‘पहिलो पटकलाई नसियत दिएर छाडिदियौँ, अर्कोपटक दोषीमाथि सिधैं कारबाही गछौँ’, श्रेष्ठले भने, ‘पेट्रोलियम पदार्थको कालो बजारी गर्दै बेचबिखन गर्नेलाई कम्तीमा २ लाख ५० हजारदेखि ३ लाखसम्मको जरिवाना गर्ने गराउने ऐनमा व्यवस्था छ। त्यसैले इजाजत प्राप्त व्यवसायीले बाहेक अरूले बेचबिखन नगर्न सचेत गराएका छौँ। यो अनुगमन निरन्तर रहन्छ।’
चौतारा बजारको विभिन्न पसलमा चर्को मूल्य असुल्दै पेट्रोलियम पदार्थ बेच्दै आएको उजुरी परेपछि क्रेताका रूपमा साधा पोशाकका प्रहरी परिचालन प्रशासन कार्यालयले अवैध रूपमा पेट्रोलियम पदार्थ बेच्ने गरेको हो वा होइन भन्ने अनुसन्धान गरेको उनले जनाए।
प्रहरीबाट प्राप्त सूचना अनुसार किराना पसलदेखि जुत्ता चप्पल पसलसम्म अवैध रुपमा पेट्रोलियम पदार्थ बेच्ने गरेको जानकारी पछि चौताराको केही पसलमा छापा मारेको श्रेष्ठले जानकारी दिए।
पेट्रोलियम पदार्थमा कालोबजारी बढेको गुनासो बढ्दै गएको र अनुसन्धानबाट अवैध रूपमा पेट्रोलियम पदार्थ बेच्ने गरेको पुष्टि भएपछि टोलीले शंकास्पद ठाउँमा छापा मारेको हो। छापा मार्ने क्रममा टोलीले चौतारा साँगाचोकगढी-५ स्थित एक इलेक्ट्रोनिक्स पसलमा बेच्नका लागि राखिएको पेट्रोल समेत बरामद गरेको छ।
सो इलेक्ट्रोनिक पसललाई अब पेट्रोलियम पदार्थ बेचबिखन नगर्ने र गरिएको पाएमा सजाय भोग्न तयार छु भन्ने कागजात गराई चेतावनी दिएको श्रेष्ठले बताए।
चौतारामा मात्र हैन जिल्लाका ग्रामीण र बजारक्षेत्रमा सबैभन्दा बढी बोतलमा भरेर पेट्रोल बिक्री गर्ने गरिएको छ। पेट्रोलियम पदार्थ बोतलमा भरेर बेच्नु कानुनी हिसाबले पनि गलत रहेको सहायक प्रजिअ श्रेष्ठले बताए।
अनुगमनका क्रममा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने गरेको फेला पारेकोले यस्तो काम नर्गन र उपभोक्ता हित विपरीतका कार्य तत्काल बन्द गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक श्रेष्ठले बताए।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठ, प्रशासकीय अधिकृत श्याम श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्ले, उपभोक्ता समिति र प्रहरीको संयुक्त टोलीले जिल्ला सदरमुकाम चौताराको विभिन्न पसलमा अनुगमन गरेको थियो।
जिल्लाका सबै क्षेत्रमा यो अभियान निरन्तर सञ्चालन हुने र बजार अनुगमनका साथै अवैध क्रियाकलापको सूक्ष्म अध्ययन गरिरहेको हुनाले अनुगमनका क्रममा त्यस्तो भए गरेको पाइएमा कडा भन्दा कडा सजाय गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम श्रेष्ठको जनाए।