मेडिकल विश्वविद्यालयको आन्दोलन : भित्र बजेट, बाहिर शंख र सिट्ठी
धनगढी : गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने माग गर्दै आन्दोलित स्थानीयले संसद बाहिर शंख र सिट्ठी बजाएर विरोध प्रर्दशन गरेका छन्।
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले प्रदेश संसदमा बजेट प्रस्तुतको भव्य तयारी भएका बेला गेटमा भने शंख र सिट्ठी बजाएर विरोध प्रदर्शन गरिएको हो।
नीति तथा कार्यक्रममा गेटामा मेडिकल विश्वविद्यालय र बजेटमा प्रतिष्ठान भनेर आएपछि स्थानीयहरुले संघर्ष समिति नै बनाएर विरोध गर्दै आएका छन्।
उनीहरूले संघीय सरकारको यसै अधिवेशनबाट मेडिकल विश्वविद्यालयको विधेयक पास गर्नुपर्ने माग गरेका छन्।
‘संघीय संसदमा भएका सांसदहरू यसै अधिवेशनमा विधेयक पास गर्न हाम्रो आवाज सुनून् भनेर शंख र सिट्ठी बजाएर विरोध प्रदर्शन गरिएको हो’ गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने।