मोरङबाट भूतपूर्व बेलायती सैनिक पक्राउ : नक्कली बाबु बनेर धेरैलाई नागरिकता दिलाएको आशंका
विराटनगर : मोरङको लेटाङबाट १ जना भूतपूर्व (अवकाश प्राप्त) बेलायती सैनिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएर लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।
नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंकामा अनुसन्धानका लागि लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘नक्कली बाबु बनेर धेरै जनालाई नागरिकता दिलाएको विषय बाहिरिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ उनले भने, ‘यस प्रकरणमा लिम्बूको कुन तहको संलग्नता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ ।’
तर, प्रारम्भिक अनुसन्धानबाट लिम्बूले मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नक्कली नागरिकता बनाइदिएको पत्ता लागेको छ । नक्कली बाबु बनेर उनले कति जनालाई नागरिकता बनाइदिएभन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको प्रहरी स्रोतले बतायो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले यस विषयमा प्रहरीले अनुसन्धान गर्ने उल्लेख गरे । प्रशासनले कुन विषयमा र किन पक्राउका लागि निर्देशन दिएको भन्ने आफूलाई थाहा नभएको उनले बताए । भने, ‘सीडीओ (वीरेन्द्रकुमार यादव) साबको निर्देशनमा प्रहरीले पक्राउ गरेको हुनसक्छ । हामीलाई सबै कुरा थाहा हुँदैन । त्यो प्रहरीले अनुसन्धान गर्ने विषय हो ।’
प्रहरीका अनुसार पक्राउ परेका लिम्बू बेलायतका अवकाश प्राप्त सैनिक हुन् । बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै आफू बाबु बनेर अन्य व्यक्तिहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोप उनीमाथि लागेको छ । लेटाङबाटै पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ ।