ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री

ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याइएको छ । सिदिंवा–६ मेहेलेमा बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत लत्ताकपडा, टेण्टसहित स्वास्थ्य सामग्री पठाइएको हो । 

प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेण्ट लिएर आएको हेलिकप्टरमा सदरमुकाम फुङ्लिङबाट थप भाँडावर्तन र कपडा पठाइएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । ‘हामीलाई प्रदेश सरकारबाट आएको स्वास्थ्य सामग्रीहरु अलि धेरै आएकाले तत्कालका लागि ती सामग्री र अत्यावश्यक रहेका भाँडाकुँडा, ब्लाङ्केट र टेण्ट सहितका अन्य राहत सामग्री पठाएका हौं,’ प्रजिअ चेम्जोङले भनिन् ।

पहिरोबाट विस्थापित बनेका १ सय बढ स्थानीय निलगिरी माध्यमिक विद्यालयमा बसिरहेका छन् । बाढीपहिरोले स्थानीय स्वास्थ्य चौकीसमेत बगाएपछि स्वास्थ्य सामग्रीको अभाव भएको थियो । मंगलबार स्वास्थ्य सामग्रीको अभाव भएपछि पहिरोले पुरिएको स्वास्थ्य चौकीबाट समेत औषधी निकालेर उपचार गरिएको स्थानीयले बताएका छन् । पहिरोमा परी मेहेलमा तीनजनाको मृत्यू भइसकेको छ भने अन्य तीनजना बेपत्ता छन् । तीनजनाको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विपद प्रतिकार्यका लागि तयार रहन आग्रह

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह  गरेको छ । 

मनसुन सुरु भइ जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनको आग्रह छ ।

मङ्गलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ । बाढीपहिरामा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ । 

यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ ।

समितिको निर्णयानुसार हरेक पालिकाले विस्थापित परिवारको तथ्याङ्क यकिन गरी तीन दिनभित्रै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने भएको छ । मेची राजमार्गस्थित पाँचथरको हेवाखोला बाढीले बगाई यातायात सेवा अवरुद्ध भएकाले अत्यावश्यक सामान ढुवानी गर्न परे तुइन (घिर्लिङ) को व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नेसमेत निर्णय भएको छ । 

यसैबीच विभिन्न व्यक्ति, सङ्घसस्थाबाट राहत सङ्कलन र वितरणको कार्य सन्तुलित, पारदर्शी नहुने हुँदा विपद् व्यवस्थापन समितिको स्वीकृतिमा एकद्धार प्रणालीबाट सङ्कलन गरी स्थानीय तहले वितरणको व्यवस्था गर्ने निर्णय भएको छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौंलाई त्रिपाल, कम्बल, भाँडाकुडा र अत्यावश्यक औषधि माग गर्ने निर्णय गरिएको छ । बाढीपहिरामा परी  तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् । समितिका अनुसार जिल्लामा सरकारी कार्यालय, निजी घरसहित ४३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । मनसुन अझै सक्रिय रहेकाले नदी किनार तथा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.