कर्पोरेट ब्याडमिन्टन खेलाडीको ‘ड्रिम टुर्नामेन्ट’ बनेको छ
अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन हुँदैछ। यो प्रतियोगितालाई तपाईले कसरी हेर्नु भएको छ ?
ब्याडमिन्टनका विषयमा अन्नपूर्णले जुन कभरेज गरेको छ, त्यस्तो कभरेज हामीले कल्पना गरेकोभन्दा धेरै उत्कृष्ट छ। यही प्रतियोगिताका कारण खेलाडीले पनि राम्रै कभरेज पाएका छन्। हाम्रा खेलाडीलाई पनि सबैले चिन्ने अवस्था आएको छ। यससँगै संघले पनि भिन्न किसिमको ‘ओनरसिप’ पाएको छ। समग्रमा भन्नुपर्दा यो प्रतियोगिताले ब्याडमिन्टनलाई स्थापित र लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो प्रतियोगिता सबै खेलाडीको ‘ड्रिम टुर्नामेन्ट’ बनेको छ। यस्तै टेक्निकल टिमलाई पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भएको
यो प्रतियोगिताले नयाँ नयाँ खेलाडीलाई ब्याडमिन्टनमा लाग्न कत्तिको हौसला प्रदान गरेको पाउनु भएको छ ?
अन्नपूर्णले एक समय सातै प्रदेशमा छनोट प्रतियोगिता गरेर केन्द्रीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको थियो। त्यतिबेला देशैभर ब्याडमिन्टनको लहर ल्याएको थियो। प्रदेशमा पनि यो प्रतियोगिताले भिन्न उचाइ पाएको थियो। केन्द्रीय स्तरमा छनोट हुन नसकेका खेलाडीले पनि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता खेलेर कर्पोरेट ब्याडमिन्टन खेल्ने धोको पूरा गरेका थिए। यसले खेलाडी उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यही प्रतियोगिताबाट करियर थालेका खेलाडीहरू अहिले वरीयतामा आउन थालेका छन्।
खेलकुद र कर्पोरेट हाउसबीच सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले कस्तो भूमिका निर्वाह गरेको छ ?
यस प्रतियोगितामा खेल्नेहरू कर्पोरेट हाउसका तल्लो तहदेखि माथिल्लो तहका व्यक्तिहरू छन्। कर्पोरेट हाउस ब्याडमिन्टनमय भएको छ। यसले पक्कै पनि नेपाली खेलकुदमा सकारात्मक भूमिका निर्वाह गरेको छ।
पूर्व राष्ट्रिय च्याम्पियन नङ्सलदेवी तामाङले कर्पोरेट ब्याडमिन्टनका कारण बैकिङ करियर सुरु गर्न पाएकी छन्। सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रसिंह भण्डारीले नङ्सललाई बैंकमा स्थायी रोजगारीको व्यवस्था दिनुभएको थियो। आगामी दिनमा पनि कर्पोरेट हाउसहरूले खेलाडीलाई रोजगारी दिनुहुनेछ भन्ने विश्वास लिएको छु।
यो प्रतियोगिताले कर्पोरेट हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताको मान्यता स्थापित गरिसकेको छ। आगामी दिनमा पनि अन्नपूर्णले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउँछ ?
सन् २०१६ देखि २०१९ को अवधिमा नेपाल ब्याडमिन्टन संघले आठ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो। त्योमध्ये अन्नपूर्ण इन्टरनेसनल सिरिज पनि एक हो। अन्नपूर्ण पोस्ट्ले अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन पनि उत्कृष्ट रूपमा गरेको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो प्रतियोगिताले छुट्टै चर्चा कमाएको थियो। पछिल्लो समयमा कोभिडको असहज अवस्थाका कारण यो लय रोकिएको छ। अब फेरि विस्तारै त्यो लयमा फर्किंदै छौं।
यो प्रतियोगिता खेलाडीहरूको रोजाइमा पर्ने प्रतियोगिता भन्नुभयो। यसको कारण के हो ?
अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताले विजेता खेलाडीलाई दुई तोला सुन पुरस्कार दिएको थियो। यस्तो पुरस्कार नेपाली खेलकुदमा कसैले पनि दिएका थिएनन्। कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता हामी खेलाडी हुँदा पनि हुन्थ्यो। तर, त्यतिबेला अहिलेकोजस्तो अवस्था थिएन।
पछिल्लो समय यसले भिन्न उचाइ हासिल गर्नुमा पूर्वखेलाडी एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाको ‘कन्सेप्ट’का कारण पनि हो।
यो प्रतियोगितालाई अझ स्तरीय बनाउन के गर्नुपर्छ ?
ब्याडमिन्टनमा हुनुपर्ने पाँच वटा इभेन्ट र कर्पोरेटका दुई इभेन्टले गर्दा प्रतियोगिता पूर्ण देखिएको छ। धेरै इभेन्ट राख्दा धेरै समय लाग्नुका साथै पुरस्कार राशि पनि बाँडिन्छ। खेलाडीको सुविधा पनि बाँडिन्छ। सात वटा मात्रै इभेन्टले प्रतियोगितालाई नै उत्कृष्ट बनाएको छ। कर्पोरेट क्षेत्रका व्यक्तिहरूसँगै ब्याडमिन्टनकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले यो प्रतियोगितामा खेल्न पाएका छन्।
कर्पोरेट र एमोच्योर प्रतियोगितामा के फरक छ ?
कर्पोरेट र एमोच्योरका विषयमा हामीले अहिलेसम्म वर्गीकरण गर्न सकेका छैनौं। सबैभन्दा महत्वपूर्ण कुरा कर्पोरेट सेक्टरलाई हामीले खेलकुदमा भित्र्याउन सकेका छैनौं। जुन दिनदेखि कर्पोरेट सेक्टर खेलकुदमा लगानी गर्न आउँछन्, त्यो बेला कर्पोरेट र एमोच्योरमा फरक देखिएला। हामीले गर्ने भनेको ‘सेमी प्रोफेसनल’ प्रतियोगिता हो।
अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा ब्याडमिन्टन संघको चाहिँ कस्तो भूमिका रहन्छ ?
संघले प्राविधिक सहयोग गर्छ। अन्नपूर्ण पोस्ट्ले गर्ने भनेको व्यवस्थापनको काम मात्रै हो। अर्थात उद्घाटन र समापन समारोह बाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मेवारी ब्याडमिन्टन संघले लिएको छ।
नेपाली ब्याडमिन्टनमा कर्पोरेट क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? कर्पोरेट क्षेत्रलाई भित्र्याउन हामीले के गर्नुपर्छ ?
कर्पोरेट क्षेत्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले सुविधा दिनु आवश्यक छ। कर्पोरेट क्षेत्रले सरकारबाट सहयोग पाएको खण्डमा मात्र उनीहरू पनि खुलेर खेलकुदमा लगानी गर्न सक्छन्। यसो भयो भने नेपाली खेलकुदले धेरै फाइदा लिन सक्छ।
- अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका कारण खेलाडीले पनि कभरेज पाएका छन्।
- प्रतियोगिताबाट करियर थालेका खेलाडी वरीयतामा आउन थालेका छन्।
- यहाँका विभागीय टोलीसँगै कर्पोरेट क्षेत्रले यहीँ रोजगारी दिने हो भने हाम्रा खेलाडी बिदेसिनु पर्ने अवस्था नै आउँदैन।
पछिल्लो समय नेपालमा केही खेल व्यवसायिक देखिएको छ। ब्याडमिन्टनलाई पनि व्यवसायिक बनाउन के गर्नुपर्छ ?
पछिल्लो समय फुटबल र क्रिकेट व्यवसायिक देखिएको छ। फुटबल र क्रिकेटको बजेट ठूलो छ। उनीहरूलाई विदेशबाट सहयोग आउँछ। अरु खेलमा यस्तो अवस्था छैन। खेलाडीको प्रशिक्षणदेखि प्रतियोगिता आयोजनासम्मको बजेट संघ आफैले खोज्नुपर्छ। यस्तो अवस्थामा पनि ब्याडमिन्टनका राम्रा खेलाडीले वर्षमा १० लाखसम्मका पुरस्कार पनि जित्ने गरेका छन्। ब्याडमिन्टन पूर्ण व्यवसायिक नभए पनि अर्ध व्यवसायिक भने भइसकेको छ।
तपाई खेलाडी हुँदै संघको नेतृत्व तहसम्म पुग्नु भएको छ। पहिले र अहिलेमा ब्याडमिन्टनको अवस्था कस्तो पाउनु भएको छ ?
समय अनुसार फेरिएको छ। हामीले खेल्दा व्यवसायिक खेलाडी बन्छौं भनेर खेलेकै थिइनौं। हाम्रो लक्ष्य राष्ट्रिय च्याम्पियन बन्ने र केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने थियो। त्यतिबेला एउटा अण्डा, चना र दुई पिस पाउरोटी पनि हामीलाई धेरै हुन्थ्यो। हामी भिन्न जोस लिएर खेल्थ्यौं। तर, अहिले अवस्था फेरिएको छ।
खेलाडीले खाने ‘डाइट’ पनि वैज्ञानिक आधारमा दिने गरिएको छ। कुन खेलका खेलाडीले कति डाइट खाने भन्ने तोकिएको हुन्छ। हिजोका दिनमा हामीले नपाएका सेवा सुविधा अहिलेका खेलाडीलाई दिनु पर्छ भनेर म लागिपरेको छु।
पछिल्लो समय खेलाडी पलायन हुने अवस्था बढेको छ। यसको असर ब्याडमिन्टनमा चाहिँ कत्तिको परेको छ ?
खेलाडी पलायनका विषयमा मेरो छुट्टै धारणा छ। वैदेशिक सहभागिताका क्रममा कुनै पनि खेलाडी विदेशमा लुक्ने वा भाग्ने गर्छ भने त्यो अत्यन्त गलत हो। यस्तो काम खेलाडीले गर्नु हुँदैन। यो अपराध नै हो। तर, जो खेलाडीले वषौं आफ्नो उर्जाशील समय देशका लागि दिएका छन्। विदेशमा खेलेर स्वदेश फर्किएका छन् र रिटायर्ड हुने समयमा विदेश जान्छन् भने त्यो नराम्रो होइन। ब्याडमिन्टनका थुप्रै खेलाडी विदेशमा छन्।
उनीहरूले हाम्रा खेलाडीलाई समय समयमा सहयोग पनि गरिरहेका छन्। पछिल्लो समय रत्नजित तामाङ, दीपेश धामी र विकास श्रेष्ठ अमेरिकामा छन्। उनीहरू त्यहाँ व्याडमिन्टनमै सक्रिय छन्। त्यहाँका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। यहाँका विभागीय टोलीसँगै कर्पोरेट क्षेत्रले यहीँ रोजगारी दिने हो भने हाम्रा खेलाडी विदेशिनु पर्ने अवस्था नै आउँदैन। यस विषयमा राज्यले पनि ध्यान दिनु आवश्यक छ।
प्रस्तुति : विष्णु थापा