काठमाडौं : जेठ अन्तिम साताबाट मनसुन सक्रिय बनेसँगै कोसी पहाडी जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्यायो। अन्य जिल्लामध्ये संखुवासभामा अझै धेरै क्षति भयो।
जल तथा मौसम विज्ञान विभागका अनुसार संखुवासभाको नुममा वर्षा मापन केन्द्र (स्टेसन) छ। यसले यो क्षेत्रमा बारम्बार भारी वर्षा भएको मापन गरिरहेको छ। सन् २०२० सम्मको यस स्टेसनले मापन गरेको तथ्यांकलाई हेर्दा पनि यो क्षेत्रमा धेरै पटक भारी वर्ष भएको विभागले जनाएको छ।
पछिल्लो साता पनि यहाँ अत्यधिक वर्षा भएको थियो। जेठ ३० गते १३७.८ मिलिमिटर वर्षा मापन भएको थियो भयो असार १ गते १२२.४ र असार ५ मा ३८७.४ मिलिमिटर वर्षा भएको नुम स्टेसनले मापन गरेको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार उक्त नम्बर अत्यन्त जोखिमपूर्ण हो। त्यसैले यो स्थानका नदी र खोलामा पानीको सतह बढ्यो, पहिरो गयो। धेरै हाइड्रोपावर बगाउँदा अर्बौंको क्षति भयो भने केही निधन भयो अझै दुई दर्जनभन्दा बढी
बेपत्ता छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार असार ५ गतेको वर्षा तेस्रो उच्च नम्बरको भारी वर्षा थियो। योभन्दा पहिला नुममा अझै भारी वर्षा भएका थिए। सन् २००१ को अप्रिल २२ मा नुम स्टेसनमा ३९४.५ मिलिमिटर वर्षा भएको थियो भने, सन् १९९७ को जुन ११ मा ३८८.२ मिलिमिटर वर्षा मापन भएको थियो।
नुममा कम्तीमा ६ पटक तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको रेकर्ड छन्। दुई सय मिलिमिटरसम्म वर्षा भएका थुप्र्रै दिनहरू भेटिएको समेत कँडेलले जानकारी दिइन्। उनले भनिन् ‘यो वर्षमात्रै होइन। त्यहाँ पहिला पनि भारी वर्षा हुने गरेको छ। त्यस्ता ठाउँको पहिचान गरेर विपद् व्यवस्थापनमा पूर्वसूचना तथा पूर्वतयारीका कामहरू गर्नुपर्ने हुन्छ।’ भौगोलिक अवस्थाका कारण त्यस्ता ठाउँमा वर्षाका कारण जोखिम हुन्छ। यति नै वर्षा हुँदा पहाडी भूभागमा पहिरोको जोखिम र तराईमा डुबानको समस्या हुन्छ।
नेपालको आधा भागमै अड्कियो मौसम
जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुन साता दिनमा पश्चिम पुग्नुपथ्र्यो। तर, आधा भागमै पुगेर अड्किएको छ। गत वर्ष पनि यस्तै भएको थियो। गत वर्ष पश्चिमतिर खडेरीले धान रोप्ने ढिला भएको थियो। यसपटक पनि अगाडि बढ्न सकिरहेको छैन।
‘मनसुन विकास हुनलाई विभिन्न खालका ‘ट्रिगरिङ फ्याक्टर’ हुन्छन्। जुन लेभलमा ‘हिटिङ’ हुनुपर्ने हो। त्यो लेभलमा हिटिङ भएको छैन’ कँडेलले भनिन् ‘अरू विभिन्न सिस्टम आइदिनाले पनि यस्तो भयो। नियमित प्रगति हुनुपर्ने थियो। नभएर अड्केको हो।’
अत्यधिक वर्षा २०१७ मा भएको थियो
विभागसँग सन् २०२१ र २०२२ को तथ्यांक अपडेट भएको छैन। तर, सन् २०२० सम्मको रेकर्डमा सबैभन्दा भारी वर्षा हेटौंडामा भएको छ। सन् २०१७ को अगस्ट १३ मा त्यहाँ अत्यधिक वर्षा भएको थियो। त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो। त्यसैगरी सन् २००० को जुलाई १ मा कञ्चनपुरको हनुमाननगरमा ५०० मिलिमिटर वर्षा मापन भएको थियो।
कर्णालीको चिसापानीमा सन् २०१४ को अगस्ट १५ मा ४९९.८ मिमि वर्षा भएको थियो। उक्त समयमा पश्चिममा एकदमै ठूलो बाढीपहिरो आएको थियो। त्यसैगरी गुल्मीको रिडी बजारमा सन् २०२० सेप्टेम्बर १९ मा ४८८.३ वर्षा मापन भएको थियो। प्युठानको फुल्कीमा सन् २००९ को जुलाई २७ मा ४८८ मिमि वर्षा भएको थियो।
हरिहरपुरगढी भ्याली, सिन्धुलीमा सन् १९९३ जुलाई २० मा ४८२.२ वर्षा भएको थियो भयो ४५० मिलिमिटरभन्दा बढी वर्षा भएका थुप्रै ठाउँ र दिनहरू विभागका रेकर्डमा छन्। तर, असार ५ मा संखुवासभाको नुममा आएको ३८७ मिलिमिटर पनि धेरै ठूलो पानी हो। कँडेलका अनुसार त्यहाँ दुई घण्टामा १८३ मिलिमिटर वर्षा भएको थियो। उक्त वर्षा एकदमै ठूलो भएको उनले बताइन्। दुई घण्टामा १८३ पानी पर्दा जुनसुकै ठाउँहरू डुब्छन्। त्यसले पहाडमा पहिरो ल्याउँछ। खहरेहरू बढ्छन्। गे्रगान बढी ल्याउँछ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनमा यतिका वर्षा हुनु सामान्य मौसमी प्रणालीअनुसार नै भएको बताउँछन्। तर, ट्रपिकल साइक्लोनले नेपालमा पनि असर गरेको उनको भनाइ छ। जसको असरले पूर्वमा धेरै पानी परेको छ।
पश्चिम नेपालमा अझै राम्ररी पानी परेको छैन। ‘मध्यपहाडी क्षेत्रमा अब कम्तीमा दुई दिन ब्रेक लाग्ने भएको छ। काठमाडौंमा पनि बिहीबारसम्म पानी पर्ने देखिन्न’ पोखरेलले भने ‘पर्सिदेखि थोरै देखिएको छ। बुधबार मधेस प्रदेशमा राम्रै पानी परेको हुनुपर्छ।’
विभागका वरिष्ठ मौसमविद् कँडेलले पनि अरवियन सी मा आएको ‘विपरजोय चक्रवात’का कारण नेपालको मनसुन प्रणालीमा प्रभाव पारेको अनुमान हुँदै आएको बताइन्। त्यसको असर अझै देखिएको छ। त्यसले मनसुनको विकास हुने क्रमलाई प्रभावित बनाए पनि हाल लुम्बिनीतिर पानी पर्न थालेको उनले बताइन्।