असारमा गाइने देउडा गीतका सयौं भाका छन्। ती भाका अरू महिनामा मेला पर्वमा र भारी खेलमा पनि गाइन्छन्।
लोकसंगीतको उर्वरभूमि नेपालमा वर्षभरि नै लोकगीतहरू गाइन्छन्। अझ चाडपर्वका गीतहरू विशेष तरिकाले गाइन्छन्। मानु छरी मुरी उमार्ने महिना असारमा मेचीदेखि महाकालीका नरनारीले रोपाइँको बेला पारी ठाउँ विशेषका गीत गाउँछन्। एकातिर गोरु जोत्ने, बाउसी खन्नेहरूले गीतका शब्द मीठो शैलीमा पस्केको देख्न र सुन्न पाइन्छ भने अर्काेतिर धान, कोदो रोप्ने महिलाको कर्णप्रिय आवाज।
सञ्चै छ कि गाउँघरमा गाथ् छ कि सुकालो।
एकजनाले अर्काेलाई सोध्ने गरेको गीत हो यो। भौगोलिक विकटताका कारण हरेकथरी गीत समाजमा देखा परेका छैनन्। गीत गाउनु भनेको आआफ्नो जात देखाउनु हो भन्ने मान्यता थियो कुनै जमानामा। विस्तारै अन्धविश्वासको सो प्रथाको अन्त्य भएको छ। अझै पनि मान्यजनका अगाडि गीतांगी (गीतको रचना गर्ने व्यक्ति)ले खुलस्त रूपमा पस्कन नसकेको अवस्थामा असार मासमा भने ती भाका, शब्दहरू रोपाराहरूले गाउने गर्छन्। जसरी तीजमा महिलाले वर्षैभरिका पीडाहरू गीतमार्फत पोख्छन्, ठीक त्यसैगरी रोपाइँका बखत मनका भावहरू महिलाले निर्धक्कसँग सुनाउने गर्छन्। एक हातमा रोपारो अर्काे हातले धानको रोपारो रोप्दै निहुरीनिहुरी महिलाहरूले सामूहिक या दुईटा समूह बनाई निकै मीठो शैलीमा गीतहरू गाउने गर्छन्।
हरियो प्रकृति, धानको बिउ, हली र बाउसेको आपसी विनोदप्रिय भलाकुसारी र महिलाहरूको गीत गुञ्जनले धान रोप्दाको अटुट सम्बन्ध रोपाइँको बेलामा देखिन्छ। हार्दिकताका पाठशाला हुन्, असार महिनाको रोपाइँ गर्ने खेतहरू। चुनावताका पिठ्यू फर्काएर हिँड्ने सामान्य मतदाता पनि रोपाइँका बेला आफैं धान रोप्न सहयोग गर्ने ती हितकारी मनहरूलाई नमन गर्नैपर्छ। गाउँ सद्भावको मन्दिर हो। रोपाइँको बेला होस् या गाउँमा बिहे व्रतबन्ध या धार्मिक कार्यमा होस्, गाउँमा एकताको आवाज घन्किन्छ। यो संस्कार जोगाइराख्न नव पिँढी पनि लागिपरेका देखिन्छन्। वैशाखको बिसु पर्व, असार महिनाको रोपाइँ पर्व, भदौ महिनाको गाभ्या पर्व, असोज कात्तिक महिनामा पर्ने महान् पर्व दसैं, तिहार, पुसको दुत्या पिठायो र भूवो पर्व, माघी संक्रान्ति, फागुनको होरीपर्व र चैत्रको चैतलो पर्वले गाउँका मानिसलाई एकताको सन्देश दिएको छ।
समाजमा महिला सशक्तीकरणका कारण गाउँमा आइपर्ने विविध समस्या मिलेर समाधान गर्ने संस्कृतिको विकास भएको देखिन्छ। एकजना नारी शिक्षित भए दसजना व्यक्ति शिक्षित हुन्छन् भन्ने कहानी झुटो होइन रहेछ। कोमल भावका सबैथरी महिला आफैं खेतमा गएर रोपाइँसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्नुलाई किसानबाट सम्य संस्कारको थालनी भएको मान्न सकिन्छ।
विश्व श्रमिक दिवसको नारा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन साँचो अर्थमा गाउँमा लागू भएको देखिन्छ। असार महिनाको खेत रोपाइँ, पाखो जमिनमा, धान कोदो गोड्ने बेला सबैथरी किसान पानी पिउने पनि फुर्सद पाउँदैनन्। महिलाहरू त अझ काखेबच्चा पिठ्यूँमा बोक्दै खेतमा काम गरिराखेको दृश्यले कस्को मन पग्लदैन होला ? अन्न भण्डारण गर्ने नमुना वर्ग हुन् महिला। जब काम सकिन्छ, तिनै महिला मनोरञ्जन गर्न पनि पुरुषभन्दा एक कदम अघि निस्कन्छन्।
रोपी खानु धनगढीमा गोड्नु त बझाङमा
बादल फाटी घाम् लागिझाउ दुःखारीका आङ्मा।
गीतले बताएझैं कैलालीको फाँटहरूमा धान रोप्ने गरिन्छ। अन्नका भण्डार मानिएका झापादेखि कैलाली, कञ्चनपुरसम्मका तराईका खेतहरूमा यतिबेला खेत रोप्ने चटारो किसानलाई छ। हामी किसानका छोराछोरी हौं। त्यसैले असार १५ मात्र होइन, खेतमा धान नरोपुन्जेल उत्सवका रूपमा हेर्नुपर्छ। अन्नका भण्डार मानिएका तराईका यी मलिला खेतका फाँटहरूमा जब धान रोपिन्छ अनिमात्र पितापुर्खाको अनुहारमा उज्यालोपन झल्किन्छ।
झापा, मोरङ, सुनसरी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका अत्यधिक धान उब्जनी हुने मलिला फाँटहरूले पहाडका जनतालाई वर्षभरि खान पुग्छ, हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं। हाम्रो मुलुकमा के फल्दैन ? संसारमा उब्जनी नहुने फलफूल, नेपालमा उब्जनी हुन्छ। अञ्जना बासमती, हंसराजजस्ता धानका बालाहरू नेपालमा झुल्ने गर्छन्। सुन फलाउने, हीरा चम्काउने मुलुकको नाम हो, नेपाल। अखाद्य सामग्री मिसावटका कारण हामी बिरामी परिरहेछौं, रोग पालिरहेछौं घरघरमा। यसको अन्त्य हुनैपर्छ। बादल फाटी घाम लागोस्, दुःखारीको आङमा (शरीरमा) त्यसै गीतकारले भनेको होइन।
सुनको बिड् पितल्या काँदो दैलेखी कर्दको
आँखो रुदो मेयरीको मन् रुदो मर्दको।
आफ्नो देशको कृषि अवस्था देखेर कति भावुक हुन्छ, गीतकार। सुन फल्छ देशमा, युवाहरू विदेश पलायन छन्। गरिबीको अवस्थाले महिला भोकभोकै रुन्छन् डाँको छोडेर। पुरुषहरू पनि आँसु नखसाली मनमनै रुन्छन्, आफ्नो खेतबारी बाँझो देखेर। दैलेखको दृष्टान्तमात्र होइन, सुदूरपश्चिमको अझ देशभरिको आस्था यस्तै छ। सुनको थालमा भात मागिरहने अवस्थाको अन्त्य हाम्रो स्वर्गतुल्य भूमिमा कहिले हुने ? प्रश्न अनुत्तरित छ।
असार महिनामा गाइने देउडा गीतका सयौं भाका छन्। ती भाका अरू महिनामा मेला पर्वमा र भारी खेलमा पनि गाइन्छन्। ओबाज झुम्यौली बाज, बाजमेरी, कठैदरिय, चुणी छमाछम, साइगोला, सुसु, हीरा होटलैमा बैरागिरी मोटरैमा, छमक्क छमक्क, सिरुपाते, आरु फुलेली, बझाङ–बाजुरा, जुम्ला जाँच्यो, चुलीय भाउज्यू, धनसरा, बिजुली रेल, मेरी कोल रामराम बोल, बान्नीका चैतेली, ठिन्क्या झुलो, ब्यानदेलीको तारो, जौपात, रुस्या मेरीय, सुनचाँदीको चोइला, बल्याको लाल्टिन, किर्मीपारी टाँक्याटन, हिरूलाल आदि सयौं देउडागीतका भाकाहरू असारको रोपाइँमा गुञ्जिने गर्छन्।
यतिमात्र नभएर ठाडो भाकालाई कारुणिक शैलीमा गाउने गर्छन् महिलाहरू। करुण रस प्रधान ठाडी भाका ६ र ७ नं. प्रदेशका पहाडी भूखण्डका गीतका अनमोल रत्नहरू हुन्। वनपाखा जाँदा, खेतमा धानरोपा, पाखा जमिनमा कोदा (कोद्या) रोप्दा, पाखो जमिनमा धान, कोदो, गोड्दा महिलाले एकोहोरो या दोहोरो तवरले पनि ठाडी भाका गाउने गर्छन्। निकै कारुणिक लवजले गाउने हुँदा मानिसको मनमात्र होइन, गाईबस्तु र नदीनाला पनि रुएको आभास दिन्छ। मन पग्लिन्छ तातो तावामा राखेको जमेको घिऊ जस्तै। यस्ता ठाडी भाका खास मौलिक गीतहरू हुन्। सबै थरी कलाकारले गाएका छन् यी मौलिक भाकाहरू। स्वर सुहाउँदो शब्द र शैली मिलाएर गाउने कलाकार स्व. हरिश्चन्द्र कडायत हुन्। उनले गाएका ठाडी भाकाका गीतमा असारे पानी दर्केको र रोपाइँमा हार्दिकता बाढेको आभास मिल्छ–
पैरो आइग्यो खेत् बगायो अव क्या खानु हो
यै ठौर भरोषा छैन अब काँ झानु हो ?
अहिले जिल्लाहरूमा पनि धेरै मानिसलाई नदीमा आएको बढीले बगायो, बेपत्ता पार्यो, पहिरोले खेतीपाती नष्ट गर्यो, चौपाया बगायो। देशभरि यो क्रम दोहोरिइरहेछ। सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लामा बर्सेनि आउने बाढीका कारण जनधनको क्षतिको चर्चा गरी साध्य छैन। रूख नरोपी, जताततै सडक निर्माणका कारण यस्तो भएको हुन सक्छ। खेतीयोग्य जमिनमा अनियन्त्रित बसोबासका कारणले पनि यस्तो विनाश निम्त्याएको हुन सक्छ। त्यसैले असारे भाकालाई जोगाउन जति जरुरी छ, हामी बसेको जमिनको सुरक्षा गर्नु पनि त्यति नै आवश्यकता छ भन्ने सन्देशको गीत हो माथिको।
काठमाडौं वरिपरिका जिल्लामा गाइने काँठे भाका र असारे गीतले जति चर्चा पाएको छ, त्यति चर्चा ६ र ७ प्रदेशका असारे भाकाले पाएको देखिँदैन। यो प्रस्तोताले २०३४ सालमा रेडियोमा रेकर्ड गरेका देउडागीत भन्दा १, २ वर्ष पहिले गणेश रसिक, हिरण्य भोजपुरे, कविता आले, गंगा राणा, पाण्डव सुनुवारले पूर्वका मारुनी धान नाचका भाकाहरू रेडियोमा रेकर्ड भइसकेको थिए। त्यसैले पनि ती गीतहरूको चर्चा हुनु स्वाभाविक हो। पंक्तिकार देउडागीतमा एकलव्य भएर लागिपरेका कारण नवपीढिहरू पनि वर्तमानमा जमर्काे गरिरहेछन्।
भोजराज भट्ट, नरेन्द्रराज रेग्मी, राजेन्द्र शाह बीपी, प्रकाश थापा, दीपा धामी, डिक्रावादी, उमाशंकर जोशी, टेकराज अवस्थी, अन्तराम विष्ट, लक्ष्मी आचार्य, गौरी भट्टलगायत कलाकारले गाएका देउडागीतमा असारे भाकाहरू गुञ्जिएको पाइन्छ।
दाजु दैलेख सुविदार भाइ कुल्लीका भेट
सम्झिरयै सुनाखरी हुँदै रयै भेट
झ्याम्म झ्याम्म।