शदियौंदेखि चल्दै आएका असारे गीत किसानी लोकसंस्कृति, सामूहिकता र सजीवताको उदाहरण थियो। युगमा श्रम संस्कृतिको मानक र प्रतिमान बोकेको असारे गीतलाई अहिले भने जोगाउन हम्मेहम्मे परेको छ।
वैशाख–जेठको उखरमाउलो गर्मी। प्रचण्ड तापपछि जब वर्षा ऋतु सुरु हुन्छ। तब सर्वत्र उल्लास छाउन थाल्छ। प्रकृतिका जीव जीवात्मामा आनन्दको बिज फुट्न थाल्छ। झिलिकमिलिक चम्किएका बिजुलीले आकाशको शोभा बढाउन थाल्छ। आकाशमा नीलो चमकदार रंगको बादल छाएर सप्तरंगी इन्द्रेणी देखिन थाल्छ। भ्यागुताहरू टर्टराएर मुर्चुंगे धुन निकाल्छन्। अनेकौ रंगका सुगन्धित फूल फुुल्छन्। तपतप झरेका वर्षात्को बुँदसँगै रूख पात झुम्न थाल्छ।
धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादल प्रेमीको रूप धारण गर्छ। प्रेमरूपी वर्षा गराउन थाल्छ। चौतर्फी हरियाली छाएर बालीनाली लहलहाउन थाल्छ। यद्यपि वर्षात्ले खुसीमात्र ल्याउँदैन। कहिलेकाहीँ बाढी, पहिरोजस्तो विकराल रूप पनि लिएर आउँछ। जसको सबैभन्दा बढी मार ग्रामीण र विपन्न वर्गले भोग्नु पर्छ। यति हुँदाहुँदै पनि यो ऋतुको विकल्प छैन। यही ऋतुले नै वर्षाभरि पानीको मूल फुटाउँछ। बस्तुभाउका निम्ति घाँस चारो जुटाउँछ। वर्षामा बर्सिएका जलधाराले धर्तीलाई नवजीवन दिन्छ। यतिखेर सर्वत्र उल्लास छाइरहेको हुन्छ।
सिर्जनाका निम्ति पनि उर्वर ऋतु हो– वर्षा ऋतु। अंग्रेजी साहित्यका पीभी सेली, जोन किट्स, रबर्ट फ्रस्ट, स्पेनी साहित्यका गाब्रियल मिस्त्राल, जर्मनी साहित्यका हर्मन हेस्से, संस्कृत साहित्यका कालीदास आदिले आफ्ना विलक्षण काव्य साधनाले वर्षा ऋतुलाई मानवीकरण गरेका छन्। कालीदासले कालजयी कृति मेघदूतमा वर्षाको जुन अनुपम र अद्भुत मनोरम चित्र कोरेका छन्, त्यो रेकर्ड आजसम्म कसैले तोड्न सकेको छैन।
वर्षामा कवि कलाकारहरूले काल्पनिक संसार बनाएर सिर्जना गरिरहेका हुन्छन् भने धर्तीपुत्र किसानले धर्तीमा सिर्जना गरिरहेका हुन्छन्। वर्षाको सबैभन्दा बढी व्यग्रताका साथ कसैले प्रतीक्षा गरिरहेका हुन्छन् भने किसानहरूले नै गर्छन्। आदिकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ। यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृतसमान हुन्छ। त्यसैले किसान बेचैनीका साथ आकाश हेर्दै व्यग्रतापूर्वक वर्षाको प्रतीक्षा गरिरहेका हुन्छन्। जब वर्षा हुन्छ, तब किसान हर्षले गद्गद् हुन्छन्। खेतमा रौनक छाउँछ। लोकगीतकार किसानको मनस्थितिसँग भलिभाँती परिचित हुन्छन्। किसानसँगै वर्षात्को रिमझिममा भिज्दै गाउन थाल्छन् जसमा अरुण उपत्यकाले स्वर भरेको छ–
रिमीमा झिमी पानी है पर्यो
असारे मासैमा
हिँडेको हामी धान है रोप्न
बेंसीको फाँटैमा।
९० प्रतिशतभन्दा बढी किसान भएको हाम्रो देशमा किसान मेहनतले देशको अर्थव्यवथालाई अगाडि बढाउनमा मेरुदण्ड सावित हुँदै आएका छन्। अधिकांश किसान मनसुनमा आधारित वर्षामा नै देशको प्रमुख बालीको रूपमा रहेको धान खेती गर्न निर्भर छन्। यी मेहनती किसान वर्ग धान खेती गर्दा आफ्ना इच्छा, आकांक्षा, हर्ष, उल्लास, निराशा, अवसाद, कुण्ठा, अभिलाषा आदिलाई लोकगीतका माध्यमबाट व्यक्त गर्छन्।
लोकगीत त्यस्तो विधा हो, जसमा शिष्ट साहित्यिक कविताको रचनागत सतर्कता र काव्यशास्त्रीय चेत नभए पनि प्रचुरमात्रामा मानवीय संवेदनशीलता हुन्छ। लोकगीतमा व्यक्तिको चेतना, कल्पनाशीलता, भावप्रवणता, समूहमा मिश्रण भएर समूहको साझा वाणी बन्छ। लोक कल्याणको स्वरूप ग्रहण गर्छ। लोकगीत जनसाधारणको हृदयको सहज र सरल उद्गार हो, जुन लोकको वास्तविक र व्यावहारिक जीवनसँग जोडिएको हुन्छ।
लोक अनेकौं झाँकीहरू देखिने लोकगीत स्वच्छता र सरलताले भरिनुका साथै मनका कल्म, क्लेषलाई मेटाउने पीयूषधारा समान हुन्छ। हाम्रा अतीत, वर्तमान र भविष्य सबथोक लोकगीतमा सुरक्षित हुन्छ। आदिकालदेखि नै अन्नदाता वर्ग किसान लोकगीतसँग अभिवाज्य रूपमा जोडिँदै आएका छन्। किसानी काम यसै पनि कठिनाइले भरिएको हुन्छ। यसमा अधिक शारीरिक श्रम गर्नुपर्छ। पसिना बग्छ। हातमा ठेला उठ्छ। आँत सुकेर छिट्टै प्यास लाग्छ। यी थकानहरू मेटाएर शरीरमा चुस्ती, फुर्ती भरेर पुनर्ताजगी ल्याउन किसानले रामदली, गोडेलो, दाइँगीत, असारे आदि श्रमगीत रचे। जसमा सबैभन्दा प्रमुख रूपमा असारे गीत पाइन्छ।
असारे गीत पनि बेठी, रसिया, घाँसे नगरा आदि गरेर विभिन्न हाँगामा बाँडिएका छन्। यसरी वर्षा ऋतुमा चल्ने ऋतुकालीन र श्रमगीतमा किसानका दुई प्रकारका चित्र पाउँछौं। पहिलोमा स्थानीय प्राकृतिक वातावरण चित्र पाउँछौं भने दोस्रोमा किसानका मनोदशाका चित्र पाउँछौं। जब हामी असारे गीतभित्र प्रवेश गर्छौं, तब कृषि समाजको परिवेश, कृषि सामग्री, कृषि समाजको हर्ष विस्मात, आपद्, विपत्, प्रेम, बिछोड, रमाइलो ठट्टा, हास, परिहास आदिको झल्को पाउँछौं।
परपरागत कृषिमा हलो र गोरुको सम्बन्ध नङ–मासुको प्रगाढ छ। अझै पनि गोरुबिनाको कृषिको कल्पना गर्न सकिन्न। काँधमा काठले बनेको जुवा, भैंसीको छालाले बनेको हल्लुड, काठको जोतारो लगाएर नारिने गोरुलाई किसानले माले, तारे, झाले, जुरे, लालतारे आदि नामले पुकारा गर्छन् भन्ने झल्को धर्मराज थापाको स्वर संकलनमा रहेको पुरानो लोकगीतमा पाइन्छ–
हरियो डाँडा माथि
हलो जोत्ने साथी
हो हो माले हो हो
हो तारे हो हो
चाम्रो माटो माथि
बाल्दै मनको बाती
डल्ला फर्काइ फर्काइ
ढाड मर्काइ मर्काइ
हो हो जुरे हो हो
मनसुन आउन लागेपछि सुक्खा खेतमा आली कान्ला ताछेर बिउ राखिन्छ। जब बिउ हराभरा भएर आउँछ। तब किसानमा खुसीको सञ्चार हुन थाल्छ। सप्रिएको बिउ देखेर प्रफुल्ल भएर जुहारीको भाकामा लोकगीत गाउन थाल्छन्। बिउ नै असल धानबालीको आधार हो। हिरण्य भोजपुरे, गणेश रसिक र तारादेवीको स्वरको पुरानो लोकगीतमा यही आशय झल्किन्छ–
केटा : बाबा र ज्यूको बियाडे दुलो
सुन चेलीबेटी हउ ढुकुरै लुक्ने बिउ
हेर्दामा चुल्ठोमा लोभलाग्दो केश
सुन चेलीबेटी हउ रहरलाग्दो तिम्रो जिउ।
केटी : त्यही काली लेकमा नि धुपीको रूखमा
सुन माइती राजा हउ बेंसीमा सालको धुप
जतिमा हेर्यो हेरिरहुँ लाग्ने
सुन माइती राजा हो
के राम्रो तिम्रो रूप।
केटा : मैनाले लायो नि घुमाउने गुँड
सुन चेलीबेटी हउ बर्दानी खोपेर
धनकुटा–हिले, दिलचित्त मिले
सुन चेलीबेटी हउ लैजाउँ कि बोकेर।
पानी परेपछि खेतमा पानी जमाइन्छ। हिलो आली मिलाउने काम हुन्छ। घरघरमा गएर बिउ बोक्ने लाठे, बिउ काढ्ने बियाडे, हिलो सम्याउने बाउसे आदिका निम्ति पर्मको आह्वान गरिन्छ। समाहा थुन्ने र खोल्ने काम गरिन्छ। विशेषतः असारे गीत समाहाको सुरिलो आवाजमा खुल्छ। लोकमा प्रचलित पुरानो असारे गीतको गेडाले यही आशय प्रकट गर्छ, जसमा जनवादी गायक रामेश श्रेष्ठले स्वर पनि भरेका थिए–
हरियो भन्नु त्यही रानीवन
पहेंलो बेसार
यता नि पानी उता नि पानी
लाग्यो नि असार।
लोकगीत प्रकृतिको पनि गीत हो। अक्सर लोकगीत प्रकृतिमा लिन भएर उठ्छ। समाहा र सिमबाट बगिरहेको सुरिलो आवाजमा मग्न हुँदै लोकगीत गाउँदै काममा तल्लीन हुन्छन्। रामजी थापा रोचकको संकलन, भानु ओली र लोचन भट्टराईको स्वरमा रहेको रोपाइँ बेठी रागको यी गीतका गेडाहरूले यही तथ्यलाई इंगित गर्छ–
असारै लाग्यो पानी है पर्यो खेताला रुझाउने
खोला र खोल्सी भल छोपी ल्याउँछ
बेंसी नै समाहा सुसाउने
सिमे र भुमे नागको पूजा
संसारी भाकेर
सेवामा गर्दै अक्षता पाती
हजुर धुप बत्ती बालेर।
रोपाइँको दिन आफ्नो आर्थिकताले भ्याएसम्म नौमती र पञ्चैबाजा हालेर रोपाइँ गर्नुका साथै भोजभतेर पनि गरिन्छ। जसलाई बेठी गर्नु भनिन्छ। पहिलापहिला जिम्मावाल मुखियाकोमा श्रमिकहरूले सित्तैमा काम गर्नु पर्दाको कुण्ठास्वरूप बेठी गीत जन्मियो। पछि यसले संस्कृतिको रूप लिएको हो भन्ने अनुमान पनि गरिन्छ। बेठीमा नौमती र पञ्चैबाजाका तालमा बजाइने नगरा धुन, बेठी धुन, तीन ताले गर्रा धुन, दोलखे रोपाइँ धुनको छुट्टै विशेषता छ।
सिमे–भुमे पूजाको धुनको अर्को आकर्षण हुन्छ, खोलाको धुनले सबको मन हरण गर्छ। जसअन्तर्गत छिटोछिटो दमाहा, झ्याम्टा, ढोलकी बजाइँदै हुरहुर हुर्राको राग अलापिन्छ। यस्ता धुनले जो कोहीलाई पनि हिलोमा उफ्रिएर लडीबुडी खेलुँ झै बनाइदिन्छ। अझ बागमती क्षेत्रको नुवाकोट, रसुवातिर त बेठी गरिएको घरमा लाखे नचाइन्छ।
हनुमानको झैं मुकुण्डो पहिरेको लाखे हिलोमा पसेर हिलो खाएको पनि खाएको देखिन पाइन्थ्यो। बेठीमा पूर्वी पहाडमा रसियाको छुट्टै आकर्षण हुन्छ भने बागमती क्षेत्रमा काँठे र सुदूर कर्णालीमा अवालीको छुट्टै मिठास हुन्छ। बागमतीको पूर्वी भागमा प्रचलित रसिया किसानका सुख, दुःख, प्रेम, पिर, व्यथा, ह्रास–परिहास आदिले ओतप्रोत हुन्छ। नवीनकुमार खड्का र साथीहरूको स्वरमा रहेको गीतका गेडाले यही तथ्यलाई उजगार गर्छ–
हो रे हो हो
केटाः हातको बिउ म कसलाई दिउँ
रोपारै हराए
हली नि आए बाउसे नि आए
आए नि बियाडे
हातको बिउ म कसलाई दिउँ
रोपारै हराए
आँखालु काँचो ख्याल होइन साँचो
रोपारै हराए
केटी : छुपुमा छुपु रोप्दै जाउँ है
हौ पिपलपाते बिउ
दसैंमा खाने खसीको मासु
माघैमा खाने घिउ
छुपुमा छुपु रोप्दै जाउँ है
अँधेरी खोला दाइ सुन्नु होला
हौ पिपलपाते बिउ।
केटा : मायालु ज्यानलाई फरिया किन्दा
छ–बिस रिन लाग्यो
असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्यो
मायालु ज्यानलाई फरिया किन्दा
छ–बिस रिन लाग्यो
आँखालु काँचो ख्याल होइन साँचो
छ–बिस ऋण लाग्यो।
बागमती क्षेत्र नुवाकोट, रसुवाका पूर्वीभाग, मकवानपुरतिर पनि झन्डैझन्डै यस्तै लयका गेडाहरू चल्छन्। जुन वाद्ययन्त्रको तालमा र बिना वाद्ययन्त्र घाँसेगीतको तालमा पनि गाइन्छ।
सिमे–भुमे पूजाको धुनको अर्को आकर्षण हुन्छ, खोलाको धुनले सबको मन हरण गर्छ। जसअन्तर्गत छिटोछिटो दमाहा, झ्याम्टा, ढोलकी बजाइँदै हुरहुर हुर्राको राग अलापिन्छ। यस्ता धुनले जो कोहीलाई पनि हिलोमा उफ्रिएर लडीबुडी खेलुँ झैं बनाइदिन्छ।
यस्ता गीतहरूमा माया पिरतीका संयोगान्त, वियोगान्त चित्र भेटिनुका साथै वर्षाको बाह्य र आन्तरिक चित्रण हुन्छ। शिवनारायण जोशीको संकलनमा रहेको यी गेडाहरू श्रवण गर्दा यही आभास पाइन्छ–
हो हो रे हो हो
पाकेर गयो मालभोग केरा
पाकेन लोहोरी
एकोहोरी माया के महिमा हुन्छ
लाउँ माया दोहोरी
लाउँ माया दोहोरी कान्छी
लाउँ माया दोहोरी
केटी : दारको ठेको माइतीले दिएको
दाइजो त पित्तले थाल
मुटु नै खान्छौ, छोडेर जान्छौ
के लाउनु मायाजाल
के लाउनु मायाजाल कान्छा
के लाउनु मायाजाल
केटा : नुवामाकोटको भैरवी खेतमा
पानीलाई टल्कन्छ
यतामा फर्की नहेर कान्छी
मन मात्रै कल्पन्छ
मन मात्रै कल्पन्छ कान्छी
मन मात्र कल्पन्छ
केटीः धागोमा कात्ने कतुवा भन्छन्
घुमाउने चर्खैमा
न तिमी मर्छौ न हामी मर्छौ
दुई महिना बर्खैमा
दुई महिना बर्खैमा कान्छी
दुई महिना बर्खैमा
किसानहरू बाहिर जति हाँसिरहेका हुन्छन्, भित्र त्यति नै छट्पटी, पिर, व्यथा बोकेर बाँचिरहेका हुन्छन् भन्ने अभिव्यक्ति लोकका प्रचलित यी गेडाहरूमा प्रष्ट रूपमा झल्किन्छ–
हो हो रे राम हो
असार पन्ध्र खाने दही–चिउरा
साउन पन्ध्र खिर
घरमा छैन शीतलु वचन
मनमा छैन थिर।
रोपाइँको दोपहरमा लाठे, बाउसे, बियाडे, रोपाहार, हलो जोत्ने, साउने आदि खेती हरमजदुरका निम्ति खाजाको रूपमा कोप्वाँरे ल्याइन्छ। कोप्वाँरे खाएपछि केही क्षण आलीमा बसेर बिना वाद्ययन्त्र घाँसेगीत गाइन्छ। जसमा पहिलो फाँकी झिकेपछि बीचमा टुक्का मिलाएर अन्तिममा टुप्पो फाँकी गाइन्छ। जसमा शृंगार, विरह, प्रकृतिको चित्रण अधिक देखिन्छ। शिवनारायण जोशीको संकलनमा रहेको असारे घाँसे गीतका गेडाले यही तथ्यलाई इंगित गर्छ–
केटा : तीनतले घरको शृंगार गर्दा खेरी
सलाम सानुमाया सामुन्नेमा धानको मेल
हजुर कहाँको कहाँको हामी होइन यहाँको
सलाम सानुमाया कहाँबाट भयो जम्काभेट
भोटमाथि चीनमा लौ आजको दिनमा
सलाम सानुमाया कहाँबाट भयो
कहाँबाट भयो जम्काभेट।
केटी : ऐना र बट्टा कोहीदिन खेल्थ्यौं गट्टा
सलाम सानुमाया खेल्थ्यौं डण्डीबियो
धोबी लुगा धुँदा, हामी सानो हुँदा
सलाम सानुमाया दिन खेल्थ्यौं डण्डीबियो
माछाको भुरा, गरौं भने कुरा
सलाम सानुमाया संयोगैले जुराको
दारको ठेको हो माइतीले देको
सलाम सानुमाया संयोगैले जुराको।
यस्तै फाँकी र टुक्का गाँसिएको गीत पूर्वी पहाडमा पनि अलि फरक लयमा गाइन्छ। जसमा प्रेम, प्रणय, अभिसार र रतिरागका भाव झल्किन्छ। टंक केसीको स्वर तथा संकलनमा रहेको यी गेडाहरूले यही तथ्यलाई उजगार गर्छ–
तारु र बाँसको गुलेली मेरो
खेलायो है रामले
तामाको भाउले, कलेजाको घाउले
बोलाको कति कामले
लाकुरी छायाँ भनन सानुमाया
बोलाको कति कामले।
किसानको निम्ति असारको महिना मानो खाएर मुरी उब्जाउने महिना हो। आलीमा बसेर कोप्वाँरे खाँदी असारे गीत गाउँदै किसानहरू यही भाव व्यक्त गर्छन्, जसमा कमलीकान्त भेटुवालले स्वर पनि भरेका छन् :
नाच न नाच ए मेरा भाइ हो
आहै मादलको तालैमा
लौ हेर यता लौ हेर उता
आहै चिउरा छ थालैमा
असारे महिना यो
मानो खाई मुरी उब्जाउने।
रोपाइँ बेठीमा खाजा खाइसकेपछि पुनः नौमती र पञ्चैबाजा घन्किन थाल्छ। अग्नि, जल, वायु आदि पञ्चतत्त्वको प्रतिनिधित्व गर्ने पञ्चैबाजा सनई, नरसिंगा, ढोलकी, बाउताल, दमाहा, टेम्को आदि बाजा घन्किन थालेपछि सबैमा जोस र फुर्ती बढ्न थाल्छ। हली गोरुको पुच्छर समाउँदै जोरले दाँते साउन थाल्छ। रोपाहार बाउसे रोपाइँ गर्दै एकआपसमा हिलो छ्यापाछ्याप गर्दै धर्तीपुत्रहरू केहीबेर आफूलाई माटोमा मिलाउँछन्।
यतिखेर पञ्चैबाजाको तालमा गाइने नगरा गीतले प्रमुख भूमिका खेल्छ। नगरा धुन र गीत दुवैको रूपमा सुन्न पाइन्छ। यस्तो धुन र गीतमा हली र गोरुसँगै हुरहुर हुर्राको राग अलापिन्छ। यस्तै राग अलाप्दै गाइने नवीनकुमार खड्का र पुस्तका खड्काको स्वरमा रहेको नगरा गीतका केही गेडाहरू–
केटा : बांगीमा बांगी नि काँकरी ज्यान त
यहै बरी चिरन बहिनी खाउँ
राम्रो छ भन्छन् नि नेपालै सहर
यहै बरी हिँड न घुम्न जाउँ
हुर हुर हुर्रा।
केटी : घुरुमा घुरु नि परेवा घुर्यो
यहै बरी हाँस पापी घुर्दैन
आजै र जाउँ जाउँ नि
भोलि रै जाउँ जाउँ
यहै बरी साइतै जुर्दैन
हुरहुर हुर्रा।
केटा : जालहारी दाइले नि
जालै र हान्यो ए है बरी
जाल पर्यो घागीमा
जे परे तिर्छु नि खुकुरी भिर्छु
ए है बरी हजुरको लागीमा
हुर हुर हुर्रा।
ठाउँ र भूगोलअनुसार असारे गीतका लय पनि फरक छन्। कर्णाली र सुदूरपश्चिमतिर अवालीको नामले चर्चित छ। जसरी बागमती र बागमती पूर्वको पूर्वी पहाडमा रोपाइँ बेठीमा पञ्चैबाजाको छुट्टै आकर्षण छ। कर्णाली र सुदूरपश्चिमतिर हुड्को बाजाको विशेष आकर्षण र रौनकता हुन्छ। हेर्दा डमरू झैं देखिने हुड्को बाजाको छलिया, रामकलीलगायतका विभिन्न राग हुन्छ।
विशेषतः हुड्के जातिमा प्रचलित रोपाइँ उत्सवलगायत विभिन्न उत्सवमा गाइने र नाचिने रामकली रागको हुड्केली गीत पनि स्थानीय प्राकृतिक वातावरणसँग जोडिएको हुन्छ। प्राकृतिक र सामाजिक समस्या दर्शाइएको हुन्छ। यो गीतमा गुरुले हुड्को बाजा बजाउँदै भट्याउँछ। समूहले त्यसलाई पछ्याउँछन्। डा. जयराज पन्तको संकलनमा रहेको रामकली रागको हुड्के गीतका यी गेडाहरू श्रोताको मस्तिष्कमा गहिरो छाप छोड्न सफल छन्–
छम छम छम
काट बौजु काँकडीका
तीन चाना तितिया
गाउँदा गाउँदै खेल्दा खेल्दै
दिन मेरा बितिया
छम चार दिनका लागि छम
चले भिनाजु।
कृषि कार्यमा पुरुषमात्र होइन, ग्रामीण महिलाहरू पनि त्यति नै दक्ष हुन्छन्। अक्सर महिलाहरू कृषि कार्यमा पूर्णतः एकाग्रचित्त हुन लोकगीत गुनगुनाउँछन्। जब रोपाहारहरू धान रोप्न थाल्छन्, आफ्ना पिर, व्यथा, पारिवारिक जीवनको कटुता, इच्छा, आकांक्षा, प्रणय, मिलन आदिलाई रोपाइँ गीतमार्फत व्यक्त गर्छन्। आफूले बाल वयमा सुनेका यी गीतका गेडाहरूमा यही भाव छल्किएका छन्–
असारे झरी साउने झरी
धानको पातलाई
जन्मेको ठाउँ छोड्नै पर्ने
छोरीको जातलाई।
छुपुमा छुपु ज्यान खेतै रोप्नु
हातैमा बिउ रहुन्जेल
राम्रैमा लाउँला मिठैमा खाउँला
बाबाको जिउँ छउन्जेल।
जब धान रोप्ने महिलाहरू गाउँछन्। उनीहरूको स्वरले खेत अभिभूत हुन्छ। उनीहरूको पदचापमा झुम्न थाल्छ– खेत। उनीहरूले गाएको गीतमा जीवन बर्सिन थाल्छ। धर्ती र माटोको मूल्य कसैले बुझेका हुन्छ्न् भने त्यो महिलाहरूले मात्र हुन्छ। पूर्वी पहाडमा रोपाइँ गर्दा रोपाहारहरूले गाएका यस्ता सुरम्य लयका गीतका गेडाले एकक्षण सबैको मन हरण गर्छ। जसमा भानु ओलीले स्वर पनि भरेका छन्–
कठै असारेमासको रोपेको धान
के महिना पसाउँछ
एकपल्ट आउँछ अल्लारे जोवन
दुनियाँ हसाउँछ।
कठै घरमा मेरा जोर माउ भैंसी
सिँगै र घुमेका
सुक्नन् कहिले यी आँखा मेरा
आँसुले भिजेका।
वर्षामासमा सात डाँडा पारि अन्मिएर गएका चेलीहरूलाई माइतीको यादले खुब सताउँछ। तब उनीहरू कुहिरोले ढाकेका डाँडाहरू हेर्दै मनका बह पोख्न थाल्छन्। जसमा कविता आलेले स्वर पनि भरेकी छन्–
सरमा सर स्विटरै बुन्नु फलामे सुइँरोले
डाँडामा बसी घर हेरुँ भन्दा
छेक्यो नि कुहिरोले
फुलैको खाजा ओ माइती राजा
छेक्यो नि कुहिरोले।
आकाशै उड्ने गरुडै पन्छी
भुइँ घुम्ने बेसारा
त्यहाँ मेरो माता त्यहाँ मेरो पिता
यहाँ त को छ र ?
यहाँ लोकगीतलाई मनोरञ्जनको माध्यमको रूपमा मात्र लिइन्छ तर छुट्टै समाजशास्त्रीय महत्त्व पनि छ। धान रोपाइँ गर्दा गाइने गीतमा खेतीपातीका निम्ति उल्लास देखिन्छ। जसमा भविष्यको उन्नत धानबालीको अपेक्षा गरिएको हुन्छ। जति धानको खोजको इतिहास पुरानो छ– त्यति नै पुरानो छ– कृषि सभ्यातासँग जोडिएको लोकगीतको इतिहास पनि। वास्तवमा असारे गीत श्रमको महत्त्व र गरिमा दर्शाउने गीत हो। सहरी वर्गहरू वातानुकूलमा बसेर आराम गरिरहेको बेला श्रमजीवी मेहनतका साथ किसान वर्गहरू चर्का घाममा डटेर काम गरिरहेका हुन्छन्।
वास्तवमा असारेगीत एउटा समुद्र हो। जसमा विभिन्न भँगाला छन्। नेपालमा ठूला किसान, मझौला र भूमिहीन किसान गरी अनेक थरिका छन्। खेती गर्ने मजदुर पनि छन् जो अरूकै खेतमा काम गर्छन्। जसको कुनै जमिन नै छैन। उनीहरूका पनि छुट्टै लोकगीत छन्। सायद ती गीतहरूमा प्रतिरोधका स्वर पनि हुन सक्छन्, जसलाई लोकअध्येताहरूले संकलन गर्न सकेका छैनन्।
शदियौंदेखि चल्दै आएका असारे गीत किसानी लोकसंस्कृति सामूहिकता र सजीवताको उदाहरण थियो। लोकसंस्कृतिभित्र पुँजी र बजारको प्रवेशले बिचौलियाको उदय भएको छ। यसरी पुँजीवादी युगमा श्रम संस्कृतिको मानक र प्रतिमान बोकेको असारे गीतलाई जोगाउन हम्मे परेको छ। यो जटिल अवस्थामा पुरानो गीत गुनगुनाउन मन लाग्छ–
असारै खाउँला दुधिला मकै
साउनै खाउँला खिर
लोप हुन लाग्यो यो संस्कृति
यही लाग्छ मनमा पिर।