लुक्ला विमानस्थल फुर्सदिलो
सोलुखुम्बु : नेपालकै व्यस्त विमानस्थल मध्येका एक सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ। पर्यकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २/३ वटामा सिमित बनेका हुन्।
पर्यटक सिजनमा ४१२ मुभमेन्टसम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए। यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएको छ भने भएका उडानमा समेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरु बताउँछन्।
अहिले काठमाडौंबाट हुने दैनिक एक दुई आउने विमानहरुले निर्माण सामाग्री, खाद्यन्न, कपडा लगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए। उडान घटेसँगै विमानस्थलका कर्मचारीहरुमा समेत फुर्सद मिलेको छ। सिजनमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याइनभ्याइ हुने विमानस्थल कर्मचारीहरु समेत यतिखेर फुर्सदमा रहेका नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ।
उपत्यका बाहिरका विमानस्थल मध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्ज नेपालको व्यस्त विमानस्थलहरुको रुपमा परिचित छन्। सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको २ सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।