किन आवश्यक छ ‘पूर्वसूचना प्रणाली’ ?
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसकेको छ। कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत भए पनि मनसुनजन्य विपत् कुनै पनि समय हुन सक्ने विज्ञहरूले जनाएका छन्। त्यसका लागि (अर्ली वार्निङ सिस्टम) पूर्वसूचना प्रणाली आवश्यक बनेको छ। जसले हजारौंको ज्यान जोगाउन मद्दत गर्ने उनीहरूको तर्क छ।
पूर्वसूचना प्रणालीका विषयमा गत साता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोेड)ले एउटा विज्ञप्ति जारी गर्दै ‘अत्यन्त आवश्यक’ रहेको जनायो। जलवायु परिवर्तनका कारण पछिल्लो समय चरम मौसमी घटनाहरू बढ्दै गएको र यस्ता प्रणालीहरू अत्यन्त आवश्यक रहेको जनाएको छ।
इसिमोडमा कार्यरत हाइड्रोलोजिस्ट मनिष श्रेष्ठका अनुसार समग्रमा कम पानी परे पनि सतर्क हुनुपर्छ भन्ने सन्देश दिन खोजेको छ। भौगोलिक अवस्थाका कारण भारी वर्षा हुनेबित्तिकै फ्ल्यास फल्ड (आकस्मिक बाढी), पहिरो, डुबान हुने भएकाले पूर्वसूचना प्रणाली आवश्यक रहेको जनाए। उनका अनुसार इसिमोडले दुई प्रकारको पूर्वसूचना प्रणालीले काम गरिरहेको छ। समुदायमा आधारित पूर्वसूचना प्रणाली र नासासँग मिलेर पूर्वानुमानका मोडलहरू बनाएर काम गरिएको छ। जोखिमका इतिहास हेरेर त्यस्ता ठाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ।
‘स्याटालाइटमार्फत नेपालभरिका ससाना खोलाहरूसमेत क्याप्चर गरेर हेरिन्छ’ श्रेष्ठले भने, ‘स्याटालाइटको सहयोग लिई जलविज्ञान मोडलअनुसार काम गरिन्छ।’ ती प्रणालीहरूको बाढी आउनुभन्दा पहिला सचेत गराउन मिल्छ। भारी वर्षा र बाढीको प्रक्षेपण गरिन्छ। दुईदिन पहिला पानी र बाढीको सूचना प्रवाह गर्न सकिन्छ। उक्त कामको अनुगमन भने जल तथा मौसम विज्ञान विभागले गर्दै आएको छ।
इसिमोेडको विज्ञप्तिअनुसार सन् २०१४ मा जस्तै यो वर्ष पनि बाढीपहिरोको वितण्डा ल्याउन सक्ने भन्दै सचेत गराएको छ। यस मनसुनमा दक्षिण एसियामा नै सरदरभन्दा कम वर्षा हुने आकलन छ। तर सन् २०१४ को अगस्ट १४ देखि १६ मा आएको भारी वर्षाले नेपालका १८ वटा जिल्लामा बाढीपहिरो आएको थियो। ५३ जनाको मृत्यु हुनका साथै १४० मिलियन डलरको क्षति भएको थियो।
जलवायु परिवर्तनका कारण वर्षात्को शैली फेरिएको छ। विनाशकारी बाढी, पहिरोको जोखिम बढेको छ। त्यसैले पनि पूर्वानुमान तथा पूर्वसूचना प्रणाली अति आवश्यक छ। विशेषगरी समुदायमा आधारित प्रमुख बाढीका जोखिम क्षेत्रहरूमा यस्ता सूचना प्रणालीको अत्यन्त आवश्यक छ। जसले हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सकिन्छ।
प्रत्येक वर्ष मनसुन झन्झन् नराम्रो बन्दै गएको छ। विश्व बैंकको प्रक्षेपणअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियन मुलुकले प्रतिव्यक्ति आयमा धेरै नै उतारचढाव अनुभव गर्नेसमेत विज्ञप्तिमा छ। त्यस्ता सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वसूचना प्रणाली जडान आवश्यक रहेको औंल्याएको छ। जसले समुदायलाई सूचित गर्न मद्दत गर्नेछ।
हालसम्म अफगानिस्तानमा ३, भारतमा ७, नेपालमा ११ र पाकिस्तानमा ५ वटा स्टेसनहरू जडान भएका छन्। पूर्वसूचना प्रणालीहरू राख्नका लागि राष्ट्रिय स्तरबाट नै लगानी आवश्यक छ।
ऐतिहासिक तथ्यांकहरू हेरेर, पहिला धेरै बाढी आएका क्षेत्रहरूलाई पहिचान गरी त्यस्ता ठाउँलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार जबसम्म घण्टा–घण्टाको तथ्यांक (आवर्ली डेटा) लिन सकिन्न तबसम्म पूर्वसूचना दिन सजिलो नहुने बताए।
नेपालमा हालसम्म २४ घण्टाको तथ्यांक मात्रै लिने गरिएको उनले बताए । उनले भने ‘रियल टाइम डेटा भएमा बाढीको पूर्वानुमान सजिलो हुन्छ। पानी परिसकेपछि कुन ठाउँमा बाढी कति बेला पुग्छ भन्न सकिन्छ।’ घण्टागत तथ्यांक लिन महँगो छैन। तर, राज्यले चासो देखाउनु पर्यो। आवर्ली सिस्टमको सञ्चालन र व्यवस्थापन उचित किसिमले गर्नुपर्ने उनले बताए।
नदीहरूमा केही वर्षको अन्तरालमा बाढी आउने गर्छ। ५, १०, २०, ५०, १०० या कति वर्षको अन्तरालमा बाढी आएको हो त्यसको अध्ययन जरुरी हुन्छ। बाढीको अन्तराल बुझ्दा कति पानी पर्यो, त्यसबेलाको माटोको अवस्था कस्तो थियो भन्ने बुझन आवश्यक हुने मरहठ्ठाले बताए।
वर्षभरि पर्ने पानीको ८० प्रतिशत मनसुनमा पर्छ। जुलाईमा मात्रै २६ प्रतिशत। जुलाई र अगस्टमा ५० प्रतिशत, जुन र सेप्टेम्बरमा ३० प्रतिशत पानी पर्छ। तर, करिब सातादेखि १० दिनको बीचमा ५० प्रतिशत पानी पर्छ। त्यसले बाढी ल्याउँछ। उनका अनुसार चुरे क्षेत्रमा वर्षभरिमा २००० मिलिमिटर पानी पर्छ। तर मनसुनमा एकै दिनमा ५०० मिमि पानी परेको रेकर्ड छ। बादल सबैभन्दा पहिला चुरेमा ठोक्किन्छ। त्यसैले पहिलो पानी चुरेमा पर्छ। त्यसपछि मात्र महाभारत रेन्जमा पर्छ।
काठमाडौंमा १७० मिमिभन्दा बढी पानी मापन भएको छैन। १०० मिमिभन्दा बढी पानी आउनेबित्तिकै काठमाडौं डरलाग्दो हुन्छ। लुम्ले, खुदी, पोखरा, संखुवासभाको नुम, सिन्धुपाल्चोकको शेर्माथानलगायतका ठाउँमा घण्टामा परेको पानी अत्यन्त धेरै हुन्छ।
जोखिमका ठाउँ पहिचान भइसकेको हुन्छ। त्यसमा पूर्वसूचना प्रणालीले सजिलो बनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले पूर्वसूचना प्रणालीमा काम गरिरहेको छ। सप्तरी, बारा, रौतहट, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लाका १३ स्थानीय तहका ३४ ठाउँमा स्मार्ट साइरन जडान गरिएको छ। अझै पनि जोखिमका क्षेत्रहरू (हजार्ड म्यापिङ) को बारेमा अध्ययन गरिहेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए। तर, त्यस्ता प्रणालीहरू विपद् आएर आफैं बज्दैन, आफैंले सञ्चालन गर्नुपर्ने हुन्छ।
‘विगतमा पानीको सहत कति हुन्छ भन्ने सूचना एसएमएसमार्फत पठाउने, सिट्ठी बजाउने गरिन्थ्यो’ खड्काले थपे, ‘तर पूर्वसूचना प्रणालीमार्फत सेटिङ मिलाएपछि आफैं पनि संकेत दिन्छ। माइकबाट सूचना प्रसारण गरिन्छ। उक्त सूचना चार किलोमिटर क्षेत्रसम्म सुनिन्छ।’
त्यसको सञ्चालन स्थानीय तहले या केन्द्रबाट पनि गर्न सकिन्छ। त्यसले धेरै जनधनको रक्षा हुने उनले बताए।
प्राधिकरणले १० हजार ८ सय शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी निकाय कस्तो अवस्थामा छन्। कति जोखिममा छन् भनेर अध्ययन भइरहेकोउनले बताए। त्यस्ता क्षेत्रमा पूर्वसूचना प्रणाली अर्थपूर्ण हुने पनि बताए।