वीरगन्जमा तीन जना कृषक पुरस्कृत
वीरगन्ज : २० औं राष्ट्रिय धान दिवसका अवसरमा वीरगन्ज महानगरपालिकाले उत्कृष्ट ३ जना किसानलाई नगद राशीसहितको पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ।
धान दिवसको अवसरमा वीरगन्ज महानगरपालिका-२९ बसल्डिवामा महानगरपालिकाको कृषि महाशाखाले शुक्रबार धान रोपाइँ महोत्सव तथा उत्कृष्ट किसान सम्मान कार्यक्रम आयोजना गरेको थियो।
त्यही कार्यक्रममा महानगरपालिकाले वीरगन्ज-२० का रामकिशोर महत्तो, वीरगन्ज-२९ का लालबाबु प्रसाद यादव र वीरगन्ज-३१ का नवलकिशोर झालाई जनही १० हजार रुपैयाँ नगद राशी सहितको पुरस्कार र कदरपत्रसहित सम्मानित गरेको हो।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले उत्कृष्ट किसानहरूलाई नगद पुरस्कार र कदरपत्र प्रदान गरे।
महानगरपालिकाको कृषि महाशाखाले व्यावसायिक र अर्धव्यावसायिक रूपमा कृषि कर्म गर्दै आएकामध्ये उत्कृष्ट किसानलाई पुरस्कृत गर्न बनाएको कार्यविधिमा उल्लेख मापदण्ड पूरा गरेका तीन जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको कृषि महाशाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताइन्।
सम्मान कार्यक्रमपछि बसडिल्वास्थित खेतमा धान रोपाइँ कार्यक्रम पनि गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा नम्बर २९ का वडा अध्यक्ष धर्मेन्द्र महत्तो थारुसँगै कर्मचारी र स्थानीय किसानहरूले खेतमा धान रोपेका थिए।