मोरङबाट तस्करी गरेर भित्राइएको चिनी झापामा बरामद
![मोरङबाट तस्करी गरेर भित्राइएको चिनी झापामा बरामद](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_lXMykNcy8Y_PTHr2K3FzE.jpg)
झापा : मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाका आधारमा मोरङको रतुमाई नगरपालिकाको सिजुवा हुँदै आमवारिबाट झापाको दमकतर्फ आउँदै मे १ ह ५८५१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच १० बोरा अवैध चिनी बरामद गरेको प्रहरीले जनाएको छ। सो चिनी मोरङका चतरामुनि र चुनिमारी सीमा नाकाबाट भन्सार छलेर भित्र्याएको हो।
प्रहरीले आइतबार दिउँसो पौने २ बजे चिनी लोड भएको अटो ट्याम्पोलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका-९ स्थित चिया पसल नजिकैबाट नियन्त्रणमा लिएको हो।
५० केजीको दरले १० बोरा चिनी ३५ हजार र अटो ट्याम्पोलाई ३ लाख गरी ३ लाख ३५ हजार मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकाबाट हुने तस्करीमा कडाइ गरिएसँगै पछिल्लो समयमा मोरङको चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा लगायत सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको कारोबारी स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)