बाटो छेक्यो मुग्लिनमा पहिरो खसेर...

बाटो छेक्यो मुग्लिनमा पहिरो खसेर...
नारायणघाट–मुग्लिन सडकखण्डको तुइन खोलामा शनिबार राति खसेको पहिरोको कारण जाममा परेका सवारी र यात्रु। तस्बिर : अनिल ढकाल

पहिरोले बिचल्लीमा परेका यात्रुको न खानको ठेगान, न यात्राको। त्यसमाथि जोखिमपूर्ण यात्राले हैरान थिए। दैनिकयात्रामा निस्कने चालक पनि उत्तिकै तनावमा देखिन्थे।

चितवन : नेपालगन्जकी पुनम सुवेदी आइतबार बिहान पहिरो हटाउँदै गरेको मेसिनलाई एकनासले हेरिरहेकी थिइन्। बिरामी सासूलाई अस्पताल पुर्‍याउन हिँडेकी उनलाई कतिबेला पहिरो सफा होला र बाटो कटौला भन्ने चिन्ता थियो।

नेपालगन्ज मेडिकल कलेजबाट रेफर गरिएकी सासू सीता अधिकारीलाई काठमाडौं पुर्‍याउन नसक्दा चिन्तित पुनम बाटोको अवस्थाले निकै आक्रोसित पनि थिइन्। घरी एम्बुलेन्सभित्र सासूलाई छोडेर पहिरो सफा गरेको ठाउँमा पुग्थिन् त घरी अत्तालिएर सासूतिरै जान्थिन्। उनीसँग बाटो खुलुनजेल कुर्नुको विकल्प थिएन।

नारायणघाट–मुग्लिन सडक खण्डको तुइना खोलाको पहिरोले उनीजस्तै हतारमा रहेका बिरामी, विद्यार्थी, कर्मचारी र अनेक कामले हिँडिरहेकालाई बाटोमै छेक्यो। बिहान ६ बजे त्यहाँ पुगेकी पुनम साँझ ६ बजेसम्म पनि यस्तै अवस्थामा देखिइन्। ‘छिटो उपचार गर्न पाए हुन्थ्यो भनेको। बिरामीको अवस्था गम्भीर छ। खुला होला र काठमाडौं लैजाउला भनेको सकेका छैनांै’, पुनमले दुखेसो पोखिन्। आइतबार पनि बिहानको रातिदेखि नै सडकमा बसेर बाटो खुल्ने प्रतीक्षामा हजारौं सवारी र यात्रु थिए। जरुरी कामले हिँडेकाहरू निराश देखिन्थे। बर्सेनि यहाँ झेल्नुपर्ने समस्या र दीर्घकालीन समाधान नहुँदा सरकार र नेतालाई गाली गर्थे। 

वैदेशिक रोजगारका लागि हिँडेका सर्लाही लक्ष्मीपुरका नजारुल मन्सुरको सडकमै बास थियो। नजारुलको सोमबार मलेसियाको उडान छ। उनी १७ घण्टा मुग्लिनको जाममा परे। जुगेडीमा रोकिएका नजारुलले निकै आत्तिँदै भने, ‘भोलि बिहान फ्लाइट छ। क्यान्सिल भयो भने त बर्बाद हुन्छ। अहिलेसम्म यहीँ छु। कहिले पुग्ने ? कहिले जाने भन्ने तनाव भएको छ। रातभर धेरै दुःख पाइयो।’ 

पहिरोले बिचल्लीमा परेका यात्रुको न खानको ठेगान, न यात्राको। त्यसमाथि जोखिमपूर्ण यात्राले हैरान थिए। दैनिकयात्रामा निस्कने चालक पनि उत्तिकै तनावमा देखिन्थे। मालसामान ढुवानीका लागि हिँडेका चालकको बास कहाँ हुने हो, पत्तो थिएन।

सामान ढुवानीका लागि भैरहवाबाट पोखरा हिँडेका ट्रक चालक सुजन चौधरीसहितको टोली ट्रकमुनि नै खाना खाँदै थिए। पहिरोले बाटो रोकिएपछि सडकमै उनीहरूले भान्छा बनाए। देख्नेका लागि नौलो भए पनि उनीहरूका लागि सामान्य थियो। अघिल्लो दिनदेखि उनीहरू जाममा थिए। 

  • पहिरो खस्दा १७ घण्टासम्म सडक अवरुद्ध
  • बिरामी, विद्यार्थी र विदेश हिँडेका समयमा पुगेनन् गन्तव्य
  • सडक खन्दा थर्किएको भीर कुन समय खस्छ टुंगै हुँदैन 
  • पहिरोको समस्या पुरानै, भएन दीर्घकालीन समाधान

गत बिहीबारबाट पहिरो खस्न सुरु भएको हो। शनिबार राति ११ बजे अवरुद्ध सडक १९ घण्टापछि आइतबार साँझ ६ बजेबाट सञ्चालनमा आएको छ। चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। तर, पनि पहिरोको जोखिम हटेको छैन। छिनछिनमै पहिरो खस्ने गरेको छ। माथिबाट ढुंगा माटो खसिरहन्छ। पहिरो हटाएपछि कतिखेर रोकिन्छ भन्ने थाहै हुँदैन। कमजोर र खुकुलो भू–वनावटका कारण तुइन खोलामा पहिरोको जोखिम हटेको छैन। नारायणघाट–मुग्लिन सडकको यात्रा ढुक्क छैन। 

यसअघि पनि पटक–पटक पहिरो जाँदा घन्टौं बाटो अवरुद्ध भएको थियो। शनिबार बिहानभरि बाटो अवरुद्ध भयो। बिहीबार दिउँसो गएको पहिरो सफा गरेर सवारी सञ्चालन हुन २८ घण्टा लाग्यो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्की दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिएका थिए। ‘अन्य ठाउँमा सामान्य छ। मुख्य समस्या यही ठाउँमा हो। अहिले पन्छाए पनि फेरि खस्ने खतरा छ’, उनले भने, ‘अहिले पहिरोको भर नै छैन। थोरै पानी परेपछि झरिहाल्छ। यात्रामा जोखिम अझै छ।’ उनले जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए।  null

वर्षासँगै पहिरो जाने क्रम बढेको छ। पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण बनेको छ। पानी परिरहेकाले पहिरो खसिरहन्छ। पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ। छिनछिनमै पहिरो खस्ने हुँदा हटाउन निकै समय लागेको हो। ‘माथि चट्टानै चट्टान छ। वर्षाको कारण माथिल्लो भाग सुक्खा पहिरोका रूपमा झरेको हो’, सडक डिभिजनका इन्जिनियर सागर कार्की क्षेत्रीले भने, ‘अहिलेको अवस्था हेर्ने हो भने माथिको एउटा थुप्रो अझै झर्न बाँकी छ। यसले केही दुःख देला जस्तो छ।’

हरेक वर्ष नयाँ ठाउँमा पहिरो 

नारायणघाट–मुग्लिन सडकको स्तरोन्नति गर्दा पहाड कटान गरिएको थियो। त्यसपछि पहिरोको जोखिम बढेको हो। तुइन खोलामा पहिलोपटक पहिरो खसेको हो। पुल निर्माणका लागि पहुँच सडक बनाउन पहाड कटान गरिएको थियो। ब्रेकर लगाएर फुटाइएको पहाडको ५० मिटर पर पहिरो गएको हो। ब्रेकरको कम्पनबाट पहाड खुकुलो भएर पहिरो गएको अनुमान गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले भूगोलअनुसार जोखिम भएको बताए। 

नारायणघाट–मुग्लिन सडक खण्डमा हरेक वर्ष नयाँ ठाउँमा पहिरो जाने गरेको छ। गत वर्ष मौरी पुलमा पहिरोले दुःख दिएको थियो। त्यसअघिको वर्षमा सेती दोभानमा दिनहुँजसो पहिरो गएको थियो। एक वर्ष चार किलोमा पहिरो जाँदा यात्रा सकसपूर्ण बनेको थियो। टोपेखोला, बिस किलो, पाँच किलोलगायतको क्षेत्रमा पनि पहिरोले दुःख दिएको थियो। सडक विभागले ३१ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र तोकेको थियो। पहिरो नियन्त्रणको काम गरेपछि ती स्थानमा पहिरो नियन्त्रण भएको छ। अहिले नयाँ स्थानमा पहिरो खस्न थालेको छ।

‘अहिलेको पहिरो यही कारण भन्ने छैन। तुइन खोलामा पहुँच सडक बनाउन ब्रेकरले चट्टान फुटाउँदा त्यसको कम्पनले कमजोर भएको एउटा कारण हुनसक्ने अनुमान गरेका छौं’, इन्जिनियर कार्कीले भने, ‘गत वर्ष पहिरो खसेको ठाउँमा यस वर्ष आएको छैन। हरेक वर्ष नयाँ नयाँ ठाउँमा पहिरोले दुःख दिने गरेको छ । अहिले नयाँ ठाउँमा आको छ। ’

नारायणघाट–मुग्लिन सडक खण्डलाई मुलुकको लाइफ लाइनका रूपमा चिनिन्छ। दैनिक १५ हजार सवारी यो बाटोमा गुड्छन्। वर्षातको समयमा कहाँ कतिबेला पहिरो जान्छ भर छैन। यसको बैकल्पिक सडक नहुँदा यात्रुले सास्ति पाउने गरेका छन्। जोखिम मोलेरै यात्रा गर्न उनीहरू बाध्य छन्। नारायणगढ–मुग्लिन सडकको दूरी ३६ किलोमिटरको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.