बागमती प्रदेश सभा बैठक बस्दै
हेटौंडा : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको सन्दर्भमा प्रतिपक्षी दलको विमतीसहित अवरोधका कारण बैठक स्थगित हुँदै आएको छ।
आइतबार बैठक सुरु हुनासाथ प्रतिपक्ष दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँले आफ्नो भनाईहरु राखेसँगै प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सिर्जना गरेका थिए।
उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो। बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज पनि सहमतिको प्रयास हुनेछ। आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको उनले बताए।
प्रतिपक्षी दल एमाले र राप्रपाले बजेटमा शिक्षा, स्वास्थ्य र कृषि उत्पादनलगायत विषयलाई प्राथमिकता नदिई सत्तारुढ दलका नेताहरुको आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी, राजनीतिक पूर्वाग्राही ढंगबाट बजेट ल्याएको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्ने मागसहित संसद अवरुद्ध गर्दै आएको छ।