प्रहरीसमक्ष हाजिर हुँदै उपप्रमुख यादव
राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव बुधबार प्रहरीसमक्ष हाजिर हुने भएकी छन् । नागरिकतासम्बन्धी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादवले बुधबार स्वयम् हाजिर हुने बताएकी हुन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
डाक्नेश्वरी नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना वितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै उच्च अदालतमा परमादेशका लागि ३ महिना अघि निवेदन दिएका थिए । कृष्णले साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपप्रमुख र उनका श्रीमान विरुद्ध उजुरी दिएका थिए ।
उजुरीमा उपप्रमुखका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उल्लेख छ । आरोपितहरु विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं।५१ अनुसार श्रीमान् श्रीमती दुवै भारतीय नागरिक रहेको दावी गरिएको छ ।
उपप्रमुख, उनका श्रीमान र छोरा इन्द्रजीतले डाक्नेश्वरी नगरपालिका ६ अन्तर्गत साविकको औरही गाविस–३ बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई उपप्रमुखको पद धारण गरी संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेको उजुरीमा उल्लेख छ ।
उच्च अदालतमा दायर मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो ।
आरोपहरु गलत रहेको जिकिर गर्दै उपप्रमुख यादवले अनुसन्धान सहजताका लागि कानुनमाथि विश्वास राख्दै हाजिर हुन लागेको बताएकी हुन् ।
निर्वाचनमा पराजित हुनेहरुले नक्कली कागजात पेश गरी झुठा मुद्दा दायर गरेको दावी गर्दै उपप्रमुख यादवले आफू नेपाली नागरिक रहेको र अदालतबाट पुष्टि हुने विश्वास व्यक्त गरिन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरमा जन्मे, हुर्केको, पढेको र जागिर खाएको तथा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–६ मा विवाह गरेको बताउँदै उपप्रमुख यादवले राजनीतिक पूर्वाग्रह राखी दिएको झुठा उजुरी खारेज हुने विश्वास व्यक्त गरिन् ।