निकाल्न थालियो फेवातालको जलकुम्भी
पोखरा : वर्षायाम सुरु भएसँगै तालको सिमसारबाट बगेर फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्न थालिएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत पोखरा महानगरपलिकाको आर्थिक सहयोगमा स्थानीय जलारी समूदाय र फेवा डुंगा व्यवसायी समितिअन्तर्गतका डुंगा व्यवसायीको समेत सहभागितामा तालमा फैलिएको जलकुम्भी झार निकाल्न थालिएको हो।
पोखरा महानगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत छुट्याएको ३ लाख ९५ हजार रुपैयाँ बजेटबाट जलकुम्भी झार निकाल्न सुरु भएको बताइएको छ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत कुल ५ सय जनाले तालमा फैलिएको जलकुम्भी झार निकाल्ने कार्यक्रम रहेको कार्यक्रमको समन्वय गरिरहेको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले बताए। जलकुम्भी झार निकाल्न थालिएको ५ दिनमा बाराहीघाट, स्विमीङपुल घाटसम्म करिब ३ सय ट्रक जलकुम्भी तालबाट निकालिएको गिरीले बताए।
प्रतिव्यक्ति दैनिक ७९० रुपैयाँका दरले जलकुम्भी झार निकाल्ने काम गरिरहेको जलकुम्भी झार निकाल्दै गरेकी मिश्री जलारीले बताइन्। पछिल्लो समयमा तालमा माछा मर्न थालेकोले घरमा तरकारी खाने माछा समेत पाइन छोडेका बेलामा झार झिक्ने काम पाउँदा खुसी लागेको उनले सुनाइन्।
फेवातालको सिमसार क्षेत्रका घोलमा हिउँदमा फस्टाउने जलकुम्भी झार वर्षायाममा तालको सतह बढेपछि बगाएर वर्षेनी तालमा फैलिन्छ। हिउँदमा सिमसार क्षेत्रमा रहेका जलकुम्भी झार निकाल्न सके वर्षायाममा तालमा फैलन रोकिने भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान नजाँदा प्रत्येक वर्ष समस्या दोहोरिने वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए। मेसिनबाट पनि जलकुम्भी झार निकालिएको छ।
जलकुम्भी झारले केजमा रहेका माछासमेत ढाकिएर माछा मर्ने गरेकोले हर्पन फेवा मत्स्य सहकारी संस्थाले हप्ताको एक दिन आफैं पनि तालबाट जलकुम्भी झार पहिलेदेखि नै निकाल्दै आएको हर्पन फेवा मत्स्य सहकारीका पूर्वध्यक्ष ज्ञानबहादुर जलारीले बताए।
वर्षायाममा बाढीले ल्याउने माटोले जलारी समूदायले माछा पालेको केज पुरिँदा केजमा माछा पाल्ने अवस्था पनि नरहेको ज्ञानबहादुरले सुनाए। २०७२ सालमा आएको बाढीले करिब सय केज पुरेको उनले बताए। त्यतिबेला ६ सय केज भएकोमा अहिले ३५ वटा जतिमा सिमित रहेको उनले सुनाए।
प्रत्येक वर्ष बाढी आएर ५÷७ वटा केज पुरिन थालेपछि र केजमा रहेका माछा पनि धमिलो पानीले मर्ने गर्दा केज कल्चर नै धारासायी भएको उनले सुनाए। यसरी वर्षेपच्छिे मुहानबाट आउने पहिरोसहितको बाढीले माछाको चरिचरन, प्रजनन र बासस्थान तीनै क्षेत्रलाई असर गरेकाले माछा पालेर जिविका चलाउन गाह्रो भएको उनले सुनाए। यसै कारणले सय घर जलारी समुदायको पेशा नै संकटमा पर्दै गएको उनले बताए। तालको सिमसार मानवीय र प्राकृतिक कारणले पुरिनुले तालको क्षेत्रफल र गहिराइ पनि वर्षेपिच्छे घट्दै ग्एको उनले सुनाए।