असार सकिँदैछ, बल्ल २६.७१ भो रोपाइँ
काठमाडौं : बर्सेनि अकासे पानीको भरमा पर्नुपर्दा यस वर्ष धान रोपाइँको गति कम छ । अझै मुलुकभर कुल क्षेत्रफलको ७३.२९ प्रतिशतमा बर्खे धान लगाउन बाँकी छ । मनसुन ढिलाइ हुँदा असार सकिन लाग्दा पनि मुलुकभर बर्खे धान रोपाइँ २६.७१ प्रतिशत हाराहारीमा मात्रै भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । जबकि यहीँ अवधिमा गत वर्ष प्रतिशत ४०.०४ प्रतिशत रोपाइँ भएको थियो ।
मुलुकभर बर्खे धान हुने क्षेत्रफल १३ लाख ५७ हजार ८ सय १६ हेक्टर छ । मन्त्रालयको पछिल्लो असार २१ गतेसम्मको तथ्यांकअनुसार कुल क्षेत्रफलमध्ये ३ लाख ६२ हजार ६ सय २५ हेक्टरमा मात्रै धान लगाइएको छ । अझै ९ लाख ९५ हजार १ सय ९१ हेक्टर क्षेत्रफलमा धान लगाउन बाँकी छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिन्छ । ‘विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो । मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा रहेको छ,’ उनले प्रष्ट्याए । साउन १५ सम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरूमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने प्रारम्भिक अनुमान रहेको उनले जनाए ।
तर, यसपटक अधिकांश क्षेत्रमा गोरुलाई लम्की स्किन रोग लाग्दा जोत्न समस्या भएकाले रोपाइँ गर्न नसकेको धेरै गुनासो आएको छ । पशु सेवा विभागका अनुसार यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन् । मुलुकभर हालसम्म ७ लाख ९ हजार २ सय ३ पशुबस्तु यो रोगबाट संक्रमित भएको विभागले जानकारी दिएको छ ।
यो वर्ष पशुमा लाग्ने रोगले धान रोपाइँमा ढिलाइ हुनु नयाँ कारण हो । तर, रोपाइँ ढिलाइको पुरानै कारण सरकारले अन्त्य गर्न सकेको छैन । त्यो हो किसानले सिँचाइको सुविधा नहँुदा अकासे पानीकै भर पर्नु ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी सुदूरपश्चिममा ४८.९७ प्रतिशत रोपाइँ भएको छ । जहाँ १ लाख ७१ हेक्टरमधये ८३ हजार ९ सय ७२ हेक्टरमा रोपाइँ भयो । अझ गत वर्ष सोही अवधिमा सुदूरपश्चिममा ७२.७ प्रतिशत रोपाइँ भइसकेको थियो । अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ । गत वर्ष ३० प्रतिशत रोपाइँ भैसकेको अहिलेको अवधिमा भने ९.५३ प्रतिशतमात्रै भएको छ ।
यस्तै, कोसी प्रदेशमा ३६.६७ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशको भने गत वर्षकै हाराहारीमा देखिन्छ । गत वर्ष कोसीमा ३१.९६ प्रतिशत रोपाइँ भइसकेकोे थियो । यसैगरी गत वर्ष असार २१ सम्म ४३ प्रतिशत रोपाइँ गरिसकेको बागमती प्रदेशले यस पटक ३०.७८ प्रतिशत मात्रै रोपेको छ । यस्तै, गण्डकी प्रदेशमा १७.५५ प्रतिशत र लुम्बिनीमा २४.४३ प्रतिशत रोपाइँ भएको छ । जबकि गत वर्ष सो प्रदेशमा क्रमशः ६२.३२ र ५३ प्रतिशत भएको थियो ।
मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३०.२ प्रतिशत छ । तर धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य मात्रै वृद्धि भएको देखिन्छ । सिँचाइको लागि अकासे पानीमा भर पर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत बिउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्य रूपमा वृद्धि हुन नसकेको नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा औंल्याइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धान बालीबाट ५६ लाख २२ हजार मेट्रिकटन मात्रै धान उत्पादन भयो । सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रह्यो । यसपछिको आव २०७८/०७९ मा भने उत्पादकत्व घटेको देखिन्छ ।