युवालाई बाँच्ने आश नदिने राजनीतिको के अर्थ ? : गगन थापा

युवालाई बाँच्ने आश नदिने राजनीतिको के अर्थ ? : गगन थापा
फाइल तस्बिर।
सुन्नुहोस्

राजनीति जनताको लागि भएकोले जनताको भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग यो जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो? भन्दै उनले प्रश्न गरेका छन्।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्ले समय युवाहरुमा बढिरहेको आत्महत्याको विषयमा बोल्दै युवालाई बाँच्ने आश जगाउन नसक्ने राजनीतिको कुनै अर्थ नभएको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको बताएका छन्।

'पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।', उनले भने, 'आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्‍यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ?'

राजनीति जनताको लागि भएकोले जनताको भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग यो जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो? भन्दै उनले प्रश्न गरेका छन्।

मान्छेका साथी सामाजिक सञ्जालमा मात्र धेरै भएको र अधिकांश समय स्क्रिनमा बिताउने गरेकोले मानिसमा एक्लोपन बढेको उनले बताए।

मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न र परामर्श लिन पनि नसकिएको बताउँदै उनले भने, 'मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ। अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ।'

मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्न उनले जोड दिए।

आफूहरुले चाँडै नै काठमाडौँ महानगर-३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ( अर्ब्यान हेल्थ प्रमोसन सेन्टर) मा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने र त्यहाँबाट नि:शुल्क सेवा लिन सकिने उनले बताए।

मानसिक रोगबारे सचेतना साना कक्षाबटै सुरु गर्नुपर्ने बताउँदै उनले भने, 'हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौं भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.