नेताका बोली र व्यवहार सुधारिनुपर्छ
भ्रष्टाचारविरुद्ध सडकमा नागरिकले दबाब दिनुपर्छ। नागरिक स्तरबाट आन्दोलन चल्नुपर्छ। सदन प्रभावकारी हुनुपर्छ।
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताकै अभिव्यक्ति लोकतन्त्र र राष्ट्रका लागि शोभनीय छैनन्। सुन्दा अमर्यादित लाग्छ। कसैले दबाब दिएर वा पत्रकारले अन्तर्वार्तामा र्याखर्याख्ति प्रश्न गरेपछि चिप्लिएका होइनन्। उनीहरूका स्वयंका अन्तरहृदयबाट निस्केका हुन् ती बोली। केही नेताहरूका अभिव्यक्ति मात्र होइन व्यवहार पनि अशोभनीय नै छ।
ती अभिव्यक्तिलाई लिएर मुद्दा चल्ने हो भने अधिकांश जेल गइसक्थे। कतिपय नेता ठूला भ्रष्टाचार काण्डमा मुछिएका छन्। जेल जानबाट जोगाउन सौदावाजी भएको पाइन्छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादास्पद अभिव्यक्ति दिनेमा पहिलो हुनुहुन्छ पछिल्लो गतिविधि नियाल्दा। पछिल्लो उदाहरणका रूपमा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने उहाँको अभिव्यक्तिलाई लिन सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको गरिमासँग जोडिएको हुन्छ। पदमा हुँदा दिएको अभिव्यक्ति व्यक्तिगत मानिँदैन। यस्ता उदाहरण सबै नेताका छन्।
ठूला पार्टीहरू जुट्दा र फुट्दा सार्वजनिक हुने शीर्ष नेताहरूका बोली ठीकविपरीत हुन्छन्। एकता हुँदा एक अर्कोको प्रशंसा गर्छन्। पार्टी फुटेपछि नानाथरि आरोप प्रत्यारोप लगाउँछन्। प्रायः सबै पार्टीका शीर्ष नेताहरूका अभिव्यक्ति पटक–पटक विवादित हुने गरेका छन्। तर, शीर्ष नेताहरूलाई दण्डित दिने सामथ्र्य पार्टीभित्र छैन। लोकतन्त्रमाथि खतरा भनेकै शीर्ष नेताहरूबाट छ। नागरिकहरूलाई कमजोर ठानेरै नेताहरूका अभिव्यक्ति अमर्यादित, अशोभनीय र छाडा हुने गरेका छन्। नागरिकले आन्दोलन गरिदिएकै कारण नेताहरू पटक–पटक सत्ताको सिंहासनमा पुगेका हुन्। तर, सत्तामा पुगेपछि नागरिकलाई अन्डरइस्टिमेट गर्छन्।
सुरुमा मनलाग्दी आरोप लगाउने र पछि त्यसको जवाफदेही नहुने प्रवृत्ति देखिएको छ। शीर्ष नेताहरूको चरित्रले पार्टी र नेता स्वयं जनतामा बद्नाम हुँदै गएका छन्। प्रभावहीन भएका छन्। नेताहरू न त आफ्नो अभिव्यक्तिमा अडान लिन्छन्। न त खण्डन नै गर्छन्। यो सबै नागरिकलाई कमजोर ठानेको हो। त्यसैले शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। लोकतन्त्रमा नेताहरू स्वच्छ छविको हुनुपर्छ। बोलीमा अडान हुनुपर्छ। जवाफदेही हुनसक्नुपर्छ। मुलुकको सुशासनका लागि कार्यहरू अघि बढाउनुपर्छ। नेताहरूकै कारण लोकतन्त्रलाई भीरमा पुर्याउनु हुँदैन।
भ्रष्टाचारविरुद्ध सडकमा नागरिकले दबाब दिनुपर्छ। नागरिक स्तरबाट आन्दोलन चल्नुपर्छ। सदन प्रभावकारी हुनुपर्छ। भ्रष्टाचार विरोधी आवाजले सदन गुञ्जनुपर्छ। सरकारले पनि सुशासनका लागि कदम चाल्नुपर्छ। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। कुशासनमा कुख्यातहरू बदलिँदैनन्। दल होइन नेता भ्रष्ट हुन्छन्। नेतालाई कारबाही नगर्दा दल भ्रष्ट हुन पुग्छन्। त्यसैले कार्यकर्ताले भ्रष्ट नेता बदल्नुपर्छ। दल जोगाउनुपर्छ। भ्रष्ट नेताका दास नबनौं। कार्यकर्ताले संरक्षण गर्छन् भने जनताले बिदाइ गर्नुपर्छ। निर्वाचनको माध्यमबाट बिदा गर्नुपर्छ।
(मानव अधिकारकर्मी पहाडी मानव अधिकार तथा शान्ति समाजका संस्थापक हुन् )