शव पठाउन नमिलेपछि बेलायतमै अन्त्येष्टि
काठमाडौं : बेलायतमा निधन भएकी नेपाली विद्यार्थी २१ वर्षीया सदीक्षा तामाङको शव नेपाल ल्याउन नमिलेपछि परिवारले उतै अन्त्येष्टि गरेका छन्।
उनका बुवा कृष्णकुमार थोकर तामाङ काठमाडौंबाट बेलायत पुगेपछि तामाङ समाज यूकेको अगुवाइमा अल्टरसट गुम्बामा पूजा गरी अल्टरसट शवदाहगृहमा हालै सदीक्षाको सद्गत गरिएको हो। ढाडको समस्या भएपछि मिल्टन किन्स विश्वविद्यालय अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मे १० मा मृत्यु भएको थियो।
उनको मृत्यु कुन भाइरसका कारण भएको हो भन्ने नखुलेका कारण कोरोनरको सल्लाहअनुसार शव नेपाल पठाउन नमिलेको समाजसेवी सुमित्रा लाबुङले बताइन्। उनका अनुसार मृत्युको कारण खुलाउन अदालतमा सेप्टेम्बरमा सुनुवाइ हुने भएको छ।
सदीक्षा उच्च शिक्षा हासिल गर्न गत डिसेम्बर २६ मा काठमाडौंबाट बेलायत गएकी थिइन्। उनले लुटनस्थित युनिभर्सिटी अफ बेडफोर्डसायरमा स्नातक तहमा भर्ना भई अध्ययन थालेकी थिइन्। दोलखामा जन्मिएकी उनी काठमाडौंमा हुर्किएकी थिइन्।
तामाङ समाज यूके, गैरआवासीय नेपाली संघ यूकेसहित संघसंस्थाका साथै आयरल्यान्ड र स्कटल्यान्डबाट गरी सदीक्षाका नाममा उनको परिवारलाई करिब ५२ लाख रुपैयाँ सहयोग गरेका छन्। उनका बुवा थोकरले यसमध्ये केही रकम आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि सहयोगार्थ अक्षयकोष स्थापना गर्ने बताएका छन्।