एन्टी डोपिङको प्रशिक्षण
तीनदिने प्रशिक्षण सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सञ्चालन गरिएको छ।
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको १९औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ। तीनदिने प्रशिक्षण सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सञ्चालन गरिएको छ।
एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ। सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहेको औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने भएको छ।
दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमानसिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी प्रशिक्षण दिने छन्।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले मंगलबार उद्घाटन गरे। सोही कार्यक्रममा खेलकुदमन्त्री लिम्बूले १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेका थिए। कार्यक्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङलगायतको पनि उपस्थिति थियो।