परीक्षामा भक्तिमार्ग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५० वर्षदेखि कम्युनिस्ट राजनीतिमा छन्। कम्युनिस्टहरू भौतिकवादमा विश्वास गर्छन्। विगत र आगतको कुनै अलौकिक कल्पनालाई भ्रम ठान्छन्। अहिले जे छ, त्यही जीवनलाई सम्मानित र मर्यादित बनाएर बाँच्नुपर्छ तर काल्पनिक दुनियाँको पछिलाग्नु हुन्न भन्ने माक्र्सवादी दर्शनको मान्यता छ। यी कुरा आम कम्युनिस्टका वैचारिक मान्यता हुन्।
धर्म अफिम हो, यसले लठ्याउँछ तसर्थ विज्ञानको अनुयायी बन्नुपर्छ। विज्ञान जीवनको उज्यालो हो भने धर्म अन्धविश्वासको अँध्यारो सुरुङ। विज्ञानको मार्ग रोजेर समुन्नत जीवन बाँच्न कम्युनिस्ट सिद्धान्त उपयोगी छ। कम्युनिस्ट आदर्श र कम्युनिस्ट जीवन पद्धतिमा ठूलो भिन्नता पाइन्छ। जसको पुष्टि नेकपा एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएको बेला पशुपतिनाथमा जलहरी राख्ने निर्णय र चितवनको ठोरीमा राम, सीता र हनुमानको मूर्तिसहित कलश यात्रा व्यक्तिगत खर्चमा गरेर प्रमाणित गरेका छन्। ओलीको हकमा यो सामान्य हो किनकि उनी ‘लिवरल’ धर्ममा ‘लिवरल’ नीति बोकेका कम्युनिस्ट नेता हुन्।
प्रचण्ड ओलीको ठीकविपरीत धर्म र परम्परा गलत भन्दै त्यसको समूल अन्त्यमा विज्ञान र आधुनिकताको जग राख्न सकिन्छ। मानवीयता बचाउन सकिन्छ। समाज सुधार गर्न पूजापाठ धर्मकर्म, काजक्रिया निषेध गर्ने विषय हुन् भनेर उदाएका नेता हुन् प्रचण्ड। पुजारीको टुप्पी काटिदिने, जनै चुँडाइदिने, मन्दिर भत्काइदिने र संस्कृत शिक्षाको बहिष्कार र निषेध गर्नेजस्ता कार्य माओवादी विद्रोहका बेला भएका घटना हुन्। जसको परोक्ष÷प्रत्यक्ष सिद्धान्तकार प्रचण्ड हुन्। यसर्थ माओवादीहरू धर्म र रुढ परम्पराका विरोधी हुन्। यी केवल सिद्धान्तका विषय हुन्, आवरणका कथ्य हुन्। व्यवहार र आचरणमा कम्युनिस्टहरू धर्म, संस्कृति र परम्परा (जसलाई अवैज्ञानिक भनिन्छ, धर्मको वैचारिकी शोषणको हतियार मानिन्छ) अनुयायीजस्तै देखिन्छन्।
कुनै बेला सम्पूर्ण संसार धर्मको आडमा चल्थ्यो। धर्म अवतारको रूपमा राजाले शासन गर्थे। ईश्वर नै सर्वशक्तिमान र सर्वेसर्वा मानिन्थ्यो। ईश्वरको अनुग्रह बेगर जीवन संगतिपूर्ण हुँदैन भनिन्थ्यो। अतः ईश्वर खुसी पार्न र जीवनमा सकारात्मक प्रभाव पार्न ईश्वरको अनुष्ठान गरिन्थ्यो। जुन प्रचलन आजपर्यन्त छ। हाम्रो जीवनमा जरा फिँजाएर बसेको प्रभाव हो, धर्म–संस्कृतिको मनोविज्ञान। जसको प्रभाव जुनसुकै र जतिसुकै वैज्ञानिक सिद्धान्तको कुरा गरे पनि हत्तपत्त कम भएर जाँदैन।
आफ्नो संस्कृति धर्मप्रति यदाकदा विचलित बने पनि त्यसलाई चटक्क छोड्ने हिम्मत छैन। यत्रतत्र सर्वत्र हामी धार्मिक प्रवृत्ति र अनुष्ठानबाट बाँधिएका छौं। जहाँ जाउँ, जसो गरौं हाम्रो व्यवहार, जीवनशैली, पद्धति, आचरण र व्यवहारमा धर्मसंस्कृतिको गहिरो प्रभाव र अमिट छाप छ। जुन विगतको निरन्तरता हो। एकाध अपवादबाहेक सांस्कृतिक र धार्मिक, जीवनशैलीमा बाँच्ने अभ्यस्तता आज पनि उही छ। जसलाई आजको भोलि बदल्ने चेष्टा मनोविज्ञान र समाज विज्ञानको गतिको नियमविपरीत हुन्छ। हामीले राजनीतिक परिवर्तनको खातिर राजा फाल्यौं तर सांस्कृतिक परम्परा र शैलीमा आज पनि राजाको स्थानलाई नकार्न र त्याग्न सकेका छैनौं।
हरव्यवहार र हरजिन्दगीमा सांस्कृतिक निरन्तरताको पक्षमा चाहेर नचाहेर बाँधिएका हुन्छौं। जसको पछिल्लो प्रमाण प्रचण्डको विवाद अनि त्यसको सामाजिक र मनोवैज्ञानिक अध्ययन हो। सन्दर्भ केही समयअघिको हो। सामाजिक र व्यावहारिक अनि पारिवारिक कारणले हाम्रा आस्था र विश्वास कति छिटो गल्र्यामगुर्लुम ढल्छन् भन्ने कुराका लागि अरू प्रमाण र तथ्य खोतल्नु जरुरी छैन। माक्र्सवादी, माओवादी प्रचण्डमा आएको विचलन २०६६ माघमा चतरामा भैंसी पूजा गरेबाट थाहा हुन्छ।
व्यक्तिको मनोविज्ञान समाजको मनोविज्ञानसँग कसरी जेलिएको हुन्छ ? मान्छे आफूलाई नपरी चेत्दैन भन्ने ताजा उदाहरण हुन् प्रचण्ड। बुवाको निधन, छोरीको निधन अनि एकमात्र जवान छोराको पनि निधनले प्रचण्डमा जुन बदलाव आयो, त्यो हाम्रो धार्मिक सांस्कृतिक मनोविज्ञानको प्रभाव हो। यही मानवीय कमजोरीका कारण प्रचण्ड आफ्नो सिद्धान्तसँग एकाकार हुन सकिरहेका छैनन्।
बुवाको देहवसानदेखि छोरीको महाप्रस्थान अनि अकल्पनीय रूपमा एकमात्र छोराको देहान्तले प्रचण्ड अति कमजोर मनोविज्ञानमा पुगे। त्यसैले उनले विगतका आफन्तको मृत्युवियोगभन्दा फरकरूपमा आफूलाई प्रस्तुत गरे। बुवा मुक्तिनाथ र छोरी ज्ञानुको अन्त्येष्टिमा कम्युनिस्ट चरित्र प्रदर्शन गरेका प्रचण्डले छोराको दागबत्ती दिँदा कट्टर हिन्दुधर्मका अनुयायी झैं प्रस्तुत भए। भलै उनले १३ दिने कृयाकर्म गरेनन् तर एक भौतिकवादी चिन्तक धार्मिक अस्थातिर विस्तारै झुक्दै र गल्दै गए। घिसारिँदै छन्।
श्रीमती सीताको नाजुक स्वास्थ्य अवस्थाले प्रचण्ड मनोविज्ञान बुझ्न सकिन्छ। उनी श्रीमतीको खुसी, स्वास्थ्य र मायाका लागि आफ्ना तमाम सैद्धान्तिक मान्यता तिलाञ्जली दिएर आलोचना खप्न तयार छन्। आखिर किन यति कमजोर हुन्छ मान्छे ? यसको कडीको सामाजिक र धार्मिक मनोविज्ञानसँग अभ्यस्त बन्दै आएको मान्छे, आम मान्छेको रौंचिरामा धर्म, दर्शन र संस्कृति अनि परम्परा जीवित छ। ईश्वरीय शक्तिको भय यथावत् छ। यसर्थ मान्छे चाहेर पनि बदलिन सक्दैन। अन्धविश्वास र अविज्ञानलाई विश्वास मान्छ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जुन धार्मिक गतिविधि देखियो, त्यो फेरि आकस्मिक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छा मुताबिकमात्र होइन, प्रचण्डको रुचि र तयारी पनि थियो। १०८ किलो रुद्राक्ष उसै लागिएको होइन। मोदीको आग्रह र प्रचण्डको भित्री आकांक्षाको संगम थियो, उज्जैनस्थित महाकालेश्वरको दर्शन। प्रचण्ड जत्तिको चतुर नेतालाई आलोचना हुने कुराको ख्याल नभएर होइन। मोदीको रहरको अनुमोदन गर्दै आफ्नो अन्तरकुन्तरमा बसेको धार्मिक विश्वाससहित मनोविज्ञानको उजागर गर्दै धार्मिक कूटनीति पनि प्रदर्शन गरेका हुन् उनले। भनिन्छ, कूटनीतिमा लुगा लगाइदिएर पनि नंग्याउने सामथ्र्य हुन्छ।
माओवादी नेता लेखनाथ न्यौपानेको यी अनुभूति पढौं, ‘गेरुवस्त्र लगाएर योजनाबद्ध पूजापाठ गर्नु, दान चढाउनु र पुजारीका पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कूटनीतिक विषय होइन, दृष्टिकोणको टाट पल्टाइँ हो। मोदीले कम्युनिस्ट नेताहरूलाई नांगो बनाएको देख्दा यस्तो नराम्रो लाग्यो कि सायदै जिन्दगीमा यस्तो अनुभूति भएको थियो ?’ प्रचण्डको यो आत्मसमर्पण धर्म र सत्ताको मनोविज्ञानले गराएको फ्युजन हो। मान्छेले अन्तरमनलाई ढाँट्न र धोका दिन कहाँ सक्छ र ? प्रचण्डले कम्युनिस्ट आवरण खोलेर धर्म र मनोविज्ञानले ग्रस्त आफ्नो असली रूप पुष्पकमल दाहाल भएको प्रमाणित गरे सायद।