भारतीयसँग मिलेर दुई नेपालीको अपहरण : ५० लाख फिरौती मागियो, २ महिनापछि पक्राउ
विराटनगर : हतियारधारी भारतीय गिरोहसँग मिलेर दुई जना नेपाली युवालाई अपहरण गरेको घटनामा संलग्नलाई प्रहरीले सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको छ। अपहरणको योजना बनाउने, फिरौती रकम माग्ने तथा रकम बुझ्ने कार्यमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत पक्राउ परेका हुन्।
‘पेस्तोल देखाएर बलपूर्वक मोटरसाइकल नियन्त्रणमा लिएपछि दुवै जनालाई अपहरण गरी बन्धक बनाएर राखेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘अपहरणपछि परिवारसँग फिरौतीवापत ५० लाख रूपैयाँ माग गरेको पाइयो।’अपहरणपछि बन्धक बनाएर राखेको भोलिपल्ट अर्थात वैशाख २६ गते भारतीय नम्बरको मोबाइलबाट फोन गरेर शौगातको बुवासँग फिरौती रकम माग गरिएको जानकारी राईले दिए।
अपहरणमा परेका शौगात र छविलाल भने वैशाख २७ गते अपहरणकारीको पञ्जाबाट फुत्किन सफल भएको राईले बताए। ‘अपहरणकारीले दुवै जनालाई भारतको बेला बजारको भित्री एरियामा स्थान परिवर्तन गर्दै बन्धक बनाएर राखेको पाइयो। अपहरणमा परेको पर्सिपल्ट दुवै जना फुत्किएर भाग्न सफल भएछन्,’ उनले भने, ‘शौचालयको झ्यालबाट हामफालेर उनीहरु अपहरणकारीको पञ्जाबाट फुत्किए। त्यसपछि नेपाल आएर प्रहरीलाई घटनाको जानकारी गराएका हुन्।’
घटनाको जानकारी पाउनसाथ अपहरणकारीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका थिए। घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले अपहरणका मुख्य योजनाकार सन्तोष रहेको पत्ता लगाएको हो। उनले अपराधिक पृष्ठभूमिका भारतीय नागरिक इम्तियाजसँग मिलेर अपहरणको योजना बनाएको यकिन भएको डीएसपी राईको भनाइ छ।
उनका अनुसार सन्तोषलाई खोजी गर्ने क्रममा उनको घरबाट फिरौतीवापत लिएको १ लाख ५० हजार रूपैयाँ बरामद भएको थियो। घरमा लुकाईछिपाई राखेको अवस्थामा फेन्सिडललगायतका लागूऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ। सन्तोष भने फरार बनेका थिए। धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट गत सोमबार साँझ पक्राउ गरिएको डीएसपी राईले बताए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर राजेश दत्त नेतृत्वको सन्तोषलाई पक्राउ गरेको हो।
‘घटना सार्वजनिक हुनसाथ घर छाडेर सन्तोष फरार बनेका थिए। प्रहरीले खोजी जारी राखेको थियो,’डीएसपी राई भन्छन्, ‘भागेर उदयपुरतिर जाँदै गर्दा पक्राउ गरियो। अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।’
अपहरणमा संलग्न अन्य व्यक्तिको खोजी जारी राखिएको उनले बताए। उनका अनुसार पक्राउ परेका सन्तोष लागूऔषधका कारोबारी पनि हुन्।
लागूऔषध लिन गएका बेला उनी १ वर्षअघि भारतमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। भारतमा १० महिना कैद सजाय भुक्तान गरी छुटेर नेपाल आएपछि अन्य अपराधमा समेत सन्तोष संलग्न भएको नेपाल प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार सन्तोषले अपराधिक पृष्ठभूमिका भारतीयसँग मिलेर नेपालमा लागूऔषध भित्राउने गरेको पाइएको छ।
प्रहरीका अनुसार अपहरणमा संलग्न भारतीय नागरिक इम्तियाज पनि अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। विभिन्न अपराधिक घटनामा उनलाई भारतीय प्रहरीले पक्राउ गरेर कारबाही गरेको जनाइएको छ। पछिल्लो समय भने भारतबाट नेपालतिर हतियार र लागूऔषध ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। भारतमा जेल परेका बेला सन्तोषको भारतीय नागरिक इम्तियाजसँग चिनजान भएको प्रहरीको भनाइ छ। भारतमा जेल बस्दा भएको चिनजान र बनेको सम्बन्धका आधारमा दुई जनाले योजना बनाएर नेपाली युवालाई अपहरण गरेको डीएसपी राईको भनाइ छ।
अपहरणका योजनाकार सन्तोष बस्नेत।