बाँदर धपाउन विद्युतीय झट्का
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावतीमा बाँदरलगायत बन्यजन्तुले बालिनालीमा दुःख दिन थालेपछि सोलार फेन्सिङ सिस्टमबाट बन्यजन्तु नियन्त्रणको लागि काम सुरु गरिएको छ।
गाउँपालिकाको वडा नम्बर ७ ले हिमालय माउन्ट एभरेष्ट टावर कम्पनीको सहयोगमा सोलार सिस्टमबाट विद्ययुतीय झट्का निकाली बन्यजुन्तबाट बालिनालीमा हुने क्षति रोक्न यस्तो काम सुरु गरिएको वडा वडा अध्यक्ष रबिन्द्रकुमार खातीले बताए। अहिले वडाको क्यामुनडाँडामा परीक्षणका लागि यो काम सुरु गरिएको खातीले बताए।
दुई दिन लगाएर ९ रोपनी जग्गामा उक्त प्रविधि अपनाई गरिएको परीक्षण प्रभावकारी देखिएको वडाले जनाएको छ। यो प्रविधिमा सोलार सिस्टमबाट तारको माध्यमले झड्का उत्पन्न गराई बन्यजन्तुलाई तर्साउन सकिने र पटक-पटक झड्का महसुस गरेपछि पुनः उक्त स्थानमा जान डराउने हिमालय माउन्ट एभरेष्ट टावर कम्पनीका कार्यकारी अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।
उक्त सिस्टमले जम्मा दुई सेकेन्ड झट्का दिने र अर्को दुई सेकेन्डमा फेरि अर्को झट्का दिने गर्छ। झट्काबाट बन्यजन्तु तथा मानिसलगायत सजीव प्राणीमा कुनै असर भने नगर्ने श्रेष्ठले जानकारी दिए। यो प्रविधि प्रभावकारी भएमा गाउँपालिका तथा विभिन्न संघ संस्थाको सहयोगमा स्रोत जुटाई वडाका अन्य स्थानमा समेत विस्तार गरिने योजना रहेको वडा अध्यक्ष खातीको भनाइ छ।
बन्यजन्तुले दुःख दिएको गुनासो कृषकबाट ब्यापक आउन थालेपछि वडामा छलफल गरी यसको समाधान खोज्दै जाँदा कम्पनीको सहयोगमा परीक्षणका लागि सो विधि अपनाइएको वडासदस्य सदस्य तीर्थबहादुर तामाङले जानकारी दिए। बन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी भएमा कृषकले मेहनत गरी लगाएको बालिनाली जोगिने र उनीहरू कृषि पेसामा अझै अग्रसर भएर लाग्ने तामाङले बताए।