
सीता दाहालले जनयुद्ध सफल पार्न अहम् भूमिका निर्वाह गर्नुभयो। त्यसबेला पार्टीको सल्लाहकार भएर काम गर्नुभयो। उहाँ सुरुदेखि नै जनयुद्धको पक्षमा हुनुहुन्थ्यो। सीताले मजदुर, किसान, सर्वहाराको पक्षमा काम गर्न पार्टी नेतृत्वलाई सल्लाह, सुझाव दिनुहुन्थ्यो। सहयोग गर्नुहुन्थ्यो। यसकै पक्षमा लबिङ, क्याम्पियन चलाउनुहुन्थ्यो। पार्टीका अरू नेतालाई पनि सल्लाह दिनुहुन्थ्यो। उहाँ यो कुरामा सुरुदेखि नै लागिरहनुभयो।
उहाँले परिवारका हिसाबमा प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्डजीको साथमा रहेर काम गर्नुभयो। पार्टी अध्यक्षकी श्रीमतीको नाताले पार्टी काममा सहयोग हुन्थ्यो भने पार्टीसँग जोडिएर जेजस्ता काम पर्दा पनि उहाँले सहयोग र समर्थन गर्नुहुन्थ्यो। पार्टीका सामुन्ने आइपरेको समस्या र चुनौतीको सन्दर्भमा परामर्श दिने र अध्यक्षको नजिक बसेर एक प्रकारले पार्टी र देश निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्नुहुन्थ्यो। सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, वर्गीय मित्रता, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ।
सीताले देश र जनताको मुक्तिका लागि निरन्तर काम गर्नुभयो। उहाँ पार्टीले शान्ति सम्झौतामा जाने निर्णय गरिसकेपछि त्यही लाइनमा लाग्नुभयो। यो लाइनभन्दा उहाँको फरक विचार कहिले देखिएन। द्वन्द्वकालमा चार जना सन्तान हुर्काउनुभयो। भूमिगत बसेर लालनपालन गर्नुभयो। त्यो काम सहज देखिए पनि निकै चुनौतीपूर्ण थियो। उहाँले त्यो काम पनि गर्नुभयो। प्रचण्ड तीन छोरी र एक छोरो ससानै हुँदा जनयुद्धको नेतृत्व गर्न पुग्नुभयो। सीताले सन्तानलाई हुर्काउँदै जनयुद्ध सफल पार्न महत्त्वपूर्ण योगदान गर्नुभयो।
उहाँ एक क्रान्तिकारी नेतृ हुनुहुन्थ्यो। उहाँको व्यक्तित्वबाट धेरै कुरा सिक्न सकिन्छ। हामीले उहाँबाट जस्तोसुकै गाह्रो साह्रो पर्दा पनि पार्टीको हितमा, आन्दोलनको पक्षमा निरन्तर डटेर लागिरहनुपर्छ भन्ने पाठ सिक्न सकिन्छ। संघर्ष र क्रान्तिले परिवर्तन ल्याउँछ। उहाँले त्यसका लागि प्रतीक्षा गर्नुपर्छ भनेर पार्टी पक्तिलाई सुझाउनु हुन्थ्यो। आफ्नो योजनाबाट जतिसुकै दुःख र कष्ट हुँदा पनि विचलित हुनु हुँदैन भन्ने उहाँको जीवनबाट सन्देश लिन सकिन्छ।
उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न निरन्तर सल्लाह र सुझाव दिनुहुन्थ्यो। पार्टी अध्यक्ष प्रचण्डले त्यहीअनुसार भूमिका निर्वाह गर्नु भएको अवस्था हो। प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ र बाँकी उपलब्धिका लागि लड्दै जानुपर्छ भन्ने कोणबाट उहाँको सल्लाह आउँथ्यो। उहाँले आन्दोलनमा पार्टीका योजना तथा कार्यक्रमलाई सफल पार्न भित्र बसेर भूमिका निर्वाह गर्नुभयो। जनताका इच्छा आकांक्षा पूरा गर्न आन्दोलन गरिरहनुपर्छ भन्ने उहाँको सन्देश थियो। पार्टी र नेताले जहिले पनि जनताको पक्षमा निर्णय लिनुपर्छ भन्ने बहस पार्टीमा सीताले उठाई रहनुभयो।
२०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध भई जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभयो। उहाँ हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो। सीताले पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभयो। देशमा जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धमा योगदान दिनुभयो। उहाँ हाम्रो सिंगो पार्टीको अभिभावक हु्नुहुन्थ्यो। पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुहुन्थ्यो।
(गुरुङ माओवादी केन्द्रका महासचिव हुन्।)
प्रतिक्रिया दिनुहोस !
