मुसलधरे वर्षाले पूर्वी तराईमा डुबानको जोखिम
विराटनगर : मुसलधरे वर्षासँगै पूर्वी तराईमा डुबानको जोखिम बढेको छ । खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ ।
खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको हो । उचित निकास नभएका स्थानमा पानी जम्न थालेको छ । शुक्रबार बिहान लगभग ३ बजेदेखि मोरङ, सुनसरी, झापालगायतका स्थानमा चट्याङ्सँगै मुसलधरे वर्षा भइरहेको छ । ४ घण्टादेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
वर्षाका कारण कोसी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी तराईका कैयौं स्थान जलमग्न भएका छन् । कतिपय स्थानमा पानीले निकास नपाउँदा घरहरुमा बाढी पस्ने जोखिम बढेको छ । केही स्थानमा निकास थुनिने अवस्था उत्पन्न भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको छ । बहाव उच्च हुँदा खोलाले ठाउँठाउँमा कटान सुरु गरेको जानकारी उनले दिए । डुबान, कटान र बाढीको जोखिम बढेका कारण सर्वसाधारणलाई सचेत हुन प्रहरी तथा स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बाढी एवं डुबानले पुर्याउन सक्ने सम्भावित क्षति रोक्न र कोही पीडित भएमा उद्धार गर्नका लागि जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिसकिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार बाढी एवं डुबानको जोखिम बढी हुने स्थानमा सुरक्षा सक्रियता बढाइएको हो ।
ठाउँठाउँमा परिचालित प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिरहेका छन् । वर्षा हुँदा तराईका अधिकांश स्थान बर्सेनि डुबानको चपेटामा पर्ने गरेका छन् ।