प्रवासमा झन् प्यारा भानु

प्रवासमा झन् प्यारा भानु
भानुजयन्तीको अवसरमा सम्मान अर्पण गर्दै सिक्किमका मुख्यमन्त्री। तस्बिर : स्वतन्त्र आवाज
सुन्नुहोस्

इलाम : आदिकवि भानुभक्त आचार्यलाई नेपालीले सम्झन्छन्– एक दिन। अर्थात्, उनको जन्मजयन्तीमा। राजधानी काठमाडौंलगायत देशका केही स्थानमा फाट्टफुट्ट कार्यक्रम पनि हुन्छन्। त्यसपछि सबैले बिर्सन्छन्। उनको चर्चाका लागि अर्को वर्ष कुर्नुपर्छ, भन्दा अत्युक्ति नहोला। तर, सिमाना पारिको दार्जिलिङको चौरस्तले वर्षभरि नै भानुलाई सम्झाइरहन्छ। यहाँका नेपालीभाषीका लागि भानुभक्त आचार्य कविमात्र हैनन्, एकताका दूत हुन्। त्यसैले स्वदेशमा भन्दा प्रवासमा भानु अझ प्यारा छन्भन्दा फरक नपर्ला।  

भानु जयन्तीका अवसरमा सिक्किममा शुक्रबार दिनभरि झाँकी र सभा आयोजना भए। भाषा र साहित्यलाई माया गर्ने छिमेकका नेपालीभाषी भारतीयहरू सधैं भानु जयन्तीलाई उत्सवका रूपमा मनाउने गरेको दार्जिलिङकी नीरा शर्मा बताउँछिन्। 
नेपालीभाषी भारतीयहरू भानुलाई साहित्यका सकल तीर्थ मान्दछन्। पहिले चौरस्तरमा मात्र मनाइने भानु जयन्ती अचेल गाउँ पुगेको छ। विद्यालय, संघसंस्था र साहित्यिक प्रतिष्ठानहरूले उनको सम्झनामा बहस चलाउँछन्, रामायण र उनका अन्य कृतिका श्लोकहरू वाचन गर्छन्।  

दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रमा भानु जयन्तीलाई पर्वका रूपमा मनाइने गरिन्छ। बंगालकी मुख्यमन्त्री ममता बेनर्जीदेखि वडा तहका नेतासमेतले भानुको जन्मजयन्तीमा कुनै न कुनै रूपमा सहभागिता जनाएर भानुको कदलाई स्विकार गरे।

ममता बेनर्जीले नेपाली भाषामा निस्कने दैनिक पत्रिकामा शुभकामना प्रकाशन गरेर भानु जयन्तीको शुभकामना बाँडिन् भने अन्य नेताले समारोहमै पुगेर भानुभक्तप्रति सम्मान व्यक्त गरे। २१०औं भानु जयन्तीको अवसरमा शुक्रबार बिहानै नेपालीभाषीको बाहुल्य रहेको सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आदिकवि भानुभक्त आचार्यको सालिकमा माला लगाउँदै सम्मान व्यक्त गरे। ‘भानु जयन्तीको पावन अवसरमा आदरणीय सिक्किमका जनतालगायत विश्वभरिका आदरणीय नेपालीभाषी अनि नेपाली भाषाप्रेमी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामनासँगै आरोग्य, सुख–शान्ति, समृद्धि अनि उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्न चाहन्छु,’ उनले शुभकामना दिए। 

उनले भानु जयन्ती विश्वभरिका विभिन्न स्थानमा मनाइने एक वार्षिक उत्सव रहेकाले यसले गहिरो सांस्कृतिक, बौद्धिक अनि पारम्पारिक महत्त्व राख्ने उल्लेख गरे। 

मुख्यमन्त्री गोलेले भानुभक्तलाई सम्झँदै भने, ‘आदिकवि भानुभक्त आचार्य साहित्यकारहरूका लागि मात्र नभई स्थानीय भाषाको शक्ति र महत्त्वको वकालत गर्ने सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ।’ नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र नेपाली साहित्यलाई अग्रस्थानमा पुर्‍याउन उनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकालाई कसैले बिर्सन नहुने पनि उनले बताए। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चाम्लिङले पनि आदिकवि भानुभक्त आचार्यले रामायणलाई सरल नेपाली भाषामा लेखी नेपाली समाजलाई नयाँ दिशा दिएको बताए। 

उनी मात्रै नभई सिक्किम, दार्जिलिङसहितका नेपाली भाषी भारतीयको बाहुल्य रहेको क्षेत्रमा भानुभक्त आचार्यको सम्झनामा विविध कार्यक्रम सम्पन्न गरिए। सन् १९५० को दशकमा भानुको सालिक चौरस्तमा ठडिएपछि भानुको पुनर्जन्म भएको साहित्यकारहरू बताउँछन्। रामायणले भाषिक, सांस्कृतिक र सामाजिक एकीकरण गरेकोले पनि उनलाई सम्मान गर्ने गरेको शर्मा बताउँछिन्। सिक्किम, आसाम, मनीपुर  नागाल्यान्ड, बिजोरम, दिल्लीसहितका गोर्खाहरू बसेको ठाउँमा भानु जयन्ती मनाउने गरेका छन्। 

भानु सालिकमा कर्के नजर 

नेपाली साहित्य सम्मेलनले निक्कै मेहनत गरेर दार्जिलिङको चौरस्तमा स्थापना गरेको भानुको अर्धकदको सालिक तीन दशकअघि शिर काटेर बेपत्ता पारिएको थियो।  यो घटनाले नेपालीभाषीलाई चोट पुर्‍यायो। दार्जिलिङका साहित्यकारहरू अहिले पनि त्यही सालिक खोजिरहेका छन्। त्यो ठाउँमा पूर्ण कदको सालिक बनेको छ। 

पहिलेको सालिक सूर्यविक्रम ज्ञवालीको प्रयासमा १७ जुलाई १९४९ निर्माण भएको थियो। उनले मेहनत गरेर जग्गा सरकारसँग मागेर ८/८ फुटको सालिक बनाउने चाँजो मिलाएका थिए। त्यहाँ नर्वेली कलाकारले अर्ध कदको सालिक बनाइदिएका थिए। यही समयदेखि भानु जयन्ती पर्वकै रूपमा मनाउन थालियो। नेपाली भाषालाई माया गर्नेहरूका लागि चौरस्त तीर्थजस्तै बन्न थाल्यो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.