बागलुङमा ६५ प्रतिशत रोपाइँ सकियो

बागलुङ : बागलुङमा ६५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार असार सकिदासम्म बागलुङमा ६५ प्रतिशत मात्रै रोपाइँ सकिएको हो । असार अन्तिमसम्म पनि मुलफुट्ने पानी नपरेपनि समय समयमा परिरहेको वर्षाको पानीको भरमा कृषक यतिबेला धान रोपाइँमा व्यस्त छन् ।
जिल्लामा ५ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । असार ३१ गतेसम्म बागलुङमा ३ हजार ८ सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
बागलुङका दश स्थानीय तहमध्ये गलकोट नगरपालिकामा सबैभन्दा छिट्टै रोपाइँ सुरु भएको थियो । प्रमुख भट्टराईले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका केहि स्थानमा रोपाइँ बाँकी रहेको बताए ।
ढिलागरी रोपाइँ सुरु भएका तीन पालिकाका सिंचाइ नभएका स्थानमा धान रोप्न बाँकी रहेको बताए । ‘खोलानाला भएका क्षेत्रमा यो वर्षको रोपाइँ सकिएको छ,’ प्रमुख भट्टराईले भने,‘धान फल्ने खेत धेरै भएकाले र आकाशे पानी तथा मुलको पानीको भर पर्नुपर्ने खेतहरूमा बल्ल रोपाइँ सुरु भएको छ ।’
उनले राम्रोसँग वर्षा नहुँदा यसपटक रोपाइँ सक्न साउन महिना पुग्नुपरेको बताए । जिल्लामा स्थानीय, हाइब्रिड, जेठो बुढो, गौरिया, जेठोबुढो, राधा, खुमलटार जातका धानखेती हुँदै आएको छ । केही स्थानमा उन्नत जातको धान खेति गरिन्छ । बागलुङको तमानखोला र ताराखोला गाउँपालिकाबाहेक अन्य पालिकामा धेरै क्षेत्रमा धान लगाउने गरिन्छ ।
बागलुङमा हाल अधिकांशले परम्परागत धान लगाउने गरेका छन् । प्रमुख बाली धान भएपनि खडेरीका कारण रोप्ने काम ढिला भएको हो । बागलुङमा गत आर्थिक वर्षमा १८ हजार ६ सय ९० मेट्रिक टन धान फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
