महिला फुटबललाई युनिलिभरको साथ
काठमाडौं : बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गरेको छ। प्रायोजन सम्बन्धि सम्झौतापत्रमा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले गरेका छन्। सम्झौता अनुसार महिला फुटबलको विकासका लागि युनिलिभरले एन्फालाई २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। यो सम्झौता हाललाई एक वर्षको रहेको जनाइएको छ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला फुटबलले उत्कृष्ट प्रदर्शन गर्दै आएको बताउँदै यो सम्झौताले महिला फुटबलको विकासमा महत्वपूर्ण सावित हुने धारणा राखे। एन्फा अध्यक्ष नेम्वाङले नेपालको महिला फुटबल टोलीले छिट्टै नै विश्वकप खेल्ने विश्वास ब्यक्त गर्दै महिला फुटबलको विकासका लागि विभिन्न कार्यक्रमसहित अगाडि बढिरहेको बताए। उनले सहयोगका लागि युनिलिभरलाई धन्यवाद दिए।
‘नेपाली महिला फुटबल खेलाडीको प्रदर्शन पछिल्लो समय उत्कृष्ट छ। एन्फा पनि विशेष कार्यक्रमसहित अगाडि बढेको छ। हाम्रो लक्ष्य भनेको सन् २०२७ वा सन् २०३१ सम्ममा महिला विश्वकपमा नेपाललाई सहभागी गराउने हो’, अध्यक्ष नेम्वाङले भने, ‘मलाई विश्वास छ, हामी आफ्नो लक्ष्यमा सफल हुनेछौं।’
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक मुखर्जीले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले महिला फुटबलको स्तरलाई माथि उठाउन युनिलिभर र एन्फाबीचको सहकार्य महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे। ‘नेपाली राष्ट्रिय फुटबल टोलीको स्तर माथि उठाउन एन्फासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ’, उनले भने, ‘आगामी दिनमा पनि हाम्रो यो सहकार्यले निरन्तरता पाउने छ भन्ने विश्वास लिएको छु।’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पछिल्लो समय महिला फुटबलले पनि पुरुष फुटबल सरह प्राथमिकता पाएकोमा खुसी ब्यक्त गर्दै महिला फुटबल खेलाडीको अभियानमा सहयोग पुर्याएकोमा युनिलिभरलाई धन्यवाद दिइन्।
प्रतिक्रिया दिनुहोस !