मौलाउँदो सुन तस्करी, सकसमा सच्चा व्यवसायी

मौलाउँदो सुन तस्करी, सकसमा सच्चा व्यवसायी
सुन्नुहोस्

जेठअघि १ किलो सुनमा ८ लाख रुपैयाँ भन्सार कर थियो। बजेटमार्फत झन्डै साढे चार लाख कर बढाइयो। अर्थात्, १ किलो सुनमा हाल १२ लाख ४० हजार रुपैयाँ भन्सार कर तिनुपर्छ। कर धेरै बढाइएका कारण सुन तस्करी मौलाएको हुन सक्छ। भन्सार छलेर तस्करीमार्फत ल्याएको सुनबाट नाफा पनि धेरै हुने नै भयो। जहाँ बढी नाफा हुन्छ, त्यहाँ आकर्षण हुने नै भयो। 

त्यसैकारण वैद्य बाटोभन्दा अवैद्य बाटो रोजेको हुन सक्छ। 

यतिबेला मलमास चलिरहेको छ। त्यसैकारण यो सुन व्यापारको ‘सिजन’ हैन। विवाहलगायत सिजनका बेला दैनिक ३० देखि ४० किलोसम्मको माग हुन्छ। तर, अहिले अफसिजन चलिरहेको छ। दैनिक करिब ८ किलोको माग बजारमा छ। अर्कोतिर मुलुकमा आर्थिक मन्दी छ। सुनको मूल्य पनि बढेको बढ्यै छ। त्यसैकारण पनि अहिले सुनको माग घटेको छ। तर, पहिला–पहिला अफसिजनमा पनि दैनिक १५ किलो सुन बिक्री हुन्थ्यो।


सरकारले २०६६ सालदेखि सुनको कोटा प्रणाली लागू गरेको हो। १४ वर्षको दौरानमा हरेक वर्ष ४० देखि ५० खर्ब रुपैयाँको सुनचाँदी आयात हुन्थ्यो। तर, विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटायो। दैनिक २० किलोबाट १० किलो आयात गर्न पाउने व्यवस्था गरियो। तर, यो सीमाले सिजनमा सुनको माग धान्दैन। पहिला सुन तोलाको २०–२५ हजार रुपैयाँ मात्रै थियो। अहिले तोलाकै १ लाख १३ हजार नाघेको छ। 

हामी नेपालीले पहिल्यैदेखि सुन खरिद गथ्र्यौ। त्यसैकारण हरेक नेपालीको घरमा सुन छ। अचल सम्पत्तिका रूपमा राखेको सुन हाम्रो स्रोत हो। यही सुन बजारमा किनबेच भइरहने भएकाले बजारमा सीमाभन्दा बढी सुनको कारोबार देखिने गरेको हो। तस्करीको सुनका कारण कोटाभन्दा बढी कारोबार भएको होइन। तस्करीको सुन त कसरी आउँछ ? कहाँ जान्छ ? थाहै हुँदैन। त्यत्रो सुन नेपालमा खपत हुन पनि सम्भव छैन। 

तस्करीको सुन कुन बजारमा जान्छ भन्ने निश्चित पनि हुँदैन। तस्करी भएर आउने सुनहरू सिधै अर्को देशमा जाने हो। नेपाल त एउटा ट्राञ्जिट जस्तो भइरहेको छ। खुला सिमाना भएकाले तस्करीबाट नेपाल भित्रिएको सुन तस्करी भएर छिमेकी मुलुकतिर जान्छ। 

तस्करी मौलाएका कारण सुनचाँदी व्यवसायलाई बदनाम भइरहेको छ। तर, तस्करी मौलायो भन्दैमा सुनचाँदी व्यवसायीलाई बदनाम गर्ने कारण छैन। तस्करी गर्ने अपराधी नै बदनाम हुनुपर्छ। सिङ्गो व्यवसायीहरूलाई बदनाम गर्न पाइँदैन। सुन व्यवसायीहरू त्यसमा संलग्न नै हँुदैनन्। किनभने सय किलो सुन मगाउन १ अर्ब बराबरको विदेशी मुद्रा चाहिन्छ। यति धेरै डलरको रकम व्यवसायीले साटेर लगानी गर्नै सक्दैनन। 

यसै पनि यस्तो जालोमा पर्न चाहँदैनन्। हामीले त्यत्रो सुन ल्याएर कहाँ राख्नु ? कसरी बिक्री गर्नु ? यस्तो जोखिम मोल्न सम्भव नै हँुदैन। तस्करी गर्नेहरू बन्दुक चलाउने ठूला माछा हुन्। तिनीहरूले बजारको लुपहोलहरू चिनेर त्यहाँको सेटिङ मिलाएर, भन्सारदेखि संसार मिलाएर तस्करी गर्ने गरेका छन्। 

सुन तस्करीले बजारमा एकदम नकारात्मक असर पर्छ। हामी व्यवसायीले बैंकसँग सुन किन्दा तोलामै १५ हजार जति भन्सार तिरेर किन्छौं। यसरी भन्सार तिरेर कारोबार गर्ने र भन्सार छलेर व्यवसाय गर्नेबीच प्रतिस्पर्धा हुनै सक्दैन। बजार व्यवस्थित गर्न पनि यस्ता तस्करीलाई बन्द गर्नुपर्छ। तब मात्रै बजार स्वच्छ हुन्छ। सरकारको राजस्व पनि बढ्छ। तस्करी बन्द नहुने हो भने सुन व्यवसायीहरू टिक्न नसकेर विस्थापित हुने अवस्था आउँछ। हामी दिनको ५० हजार सुन निकाल्न सक्दैनौं तर तस्करी गरेकाहरू दैनिक ५ किलो सुन निकाल्छन्। त्यस्ता व्यवसायीले नेपालको सुन बजार कब्जा गरेपछि राष्ट्रिय व्यवसायी विस्थापित हुने अवस्था छ। नेपालभर करिब २५ हजार सुन पसलहरू छन्। कालीगढ गर्ने कारखाना २ लाखभन्दा बढी छन्। 

 (शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुन्) 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.