वीरगन्जका भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य, नेपालगन्जको पनि कमै प्रगति

वीरगन्जका भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य, नेपालगन्जको पनि कमै प्रगति
फाइल तस्बिर।

वीरगन्ज / नेपालगन्ज: मुलुकको कुल आयात निर्यातको झन्डै ७० प्रतिशत कारोबार हुने वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेनन्। वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन गरेका हुन्।

विश्वव्यापी आर्थिक मन्दीका कारण वीरगन्ज नाकाका भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भेट्टाउन नसकेको कार्यालयले जनाएको छ। 

गत आर्थिक वर्षमा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर यस भन्सारले लक्ष्यको ६० प्रतिशत अर्थात् १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए। 

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्ष लक्ष्यभन्दा लगभग एक प्रतिशतले बढी नै अर्थात् लक्ष्यभन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो। उक्त आर्थिक वर्षका लागि भन्सार विभागले २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाको लक्ष्य दिएकोमा यस भन्सारले २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/०७८ सम्म) मा भने वीरगन्ज भन्सार राजस्व असुलीको लक्ष्य पूरा गर्न असफल नै भएको थियो। 

त्यस्तै सिर्सिया भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्यको ६३ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ। भन्सार विभागले गत आर्थिक वर्षमा यस भन्सार कार्यालयलाई ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर उक्त भन्सारले पनि लक्ष्यको ६३ प्रतिशतमात्रै अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए। 

सिर्सिया भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष पनि लक्ष्यभन्दा करिब ५ प्रतिशत कममात्रै राजस्व संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा भन्सार विभागले ५२ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा यस कार्यालयले ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार रुपैयाँमात्रै राजस्व संकलन गरेको थियो।

वीरगन्ज भन्सारका पन्थीले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्नुको प्रमुख कारण विश्वव्यापी आर्थिक मन्दी भएको बताए। यसका साथै बढी राजस्व उठ्ने पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएका कारणले पनि त्यसको असर राजस्व संकलनमा परेको पन्थीले जनाए। पन्थीले भने, ‘राजस्व असुलीको लक्ष्य पूरा गर्न नसक्नुको प्रमुख कारण त विश्वव्यापी आर्थिक मन्दीको असर नै हो, जसका कारण समग्र मालवस्तुको आयातमा निकै कमी आयो, त्यससँगै बढी राजस्व उठ्ने इन्धन, नयाँ सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी भयो।’

सिर्सिया भन्सारका प्रमुख रामप्रसाद मैनालीले पनि विश्वव्यापी आर्थिक मन्दीको असर यस भन्सारको राजस्व असुलीमा परेको बताए। ‘केही महिना विलासिता वस्तुहरूको आयातमा प्रतिबन्ध लागेकाले पनि त्यसको नकारात्मक असर राजस्व संकलनमा प¥यो,’ उनले भने, ‘आर्थिक मन्दीले बजार चलायनमान नहुँदा मालवस्तुको आयातमा पनि कमी आयो । ’

नेपालगन्जको पनि कमै प्रगति

चोरी निकासी नियन्त्रण नगर्दा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भेट्न सकेको छैन। बर्सेनि राजस्व संकलन खस्कँदो छ।

विगत ११ वर्षको लक्ष्य र राजस्व असुली हेर्ने हो भने दुई आर्थिक वर्ष यता राजस्व गिर्दो छ। यसअघि लक्ष्यको कम्तीमा शतप्रतिशतदेखि बढीमा १ सय ३८ प्रतिशत प्रगति गरेको देखिन्छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार आव २०६९/०७० देखि २०७४/०७५ सम्म प्रत्येक  वर्ष १०५ प्रतिशत भन्दा  बढी राजस्व संकलन भएको थियो। त्यसैगरी, २०७५/०७६ मा १००, २०७६/०७७ मा ७६, २०७७/०७८ मा ११९, २०७८/०७९ मा ८९ र २०७९/०८० मा ६२ प्रतिशतले राजस्व संकलन भएको छ। 

अघिल्ला आवमा लक्ष्यभन्दा धेरै प्रगति गरेको भन्सार कार्यालयले गएका दुई आवमा लक्ष्यभन्दा थोरै राजस्व संंकलन गरेको छ। आव २०७८/०७९ मा संकलन भएको राजस्वभन्दा आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब १२ करोड १३ लाख रुपैयाँ कम राजस्व असुली भएको छ। २०७९/०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा नेपालगन्ज भन्सार कार्यालयले जम्मा १८ अर्ब १९ करोड ६९ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए। यो विगत ११ वर्ष यताकै सबैभन्दा कम प्रगति हो। यो लक्ष्यभन्दा ११ अर्ब १३ करोड २५ लाख रुपैयाँ कम राजस्व संकलन हो। 

गत जेठ १५ देखि भन्सार कार्यालयले एक सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा अनिवार्य रूपमा भन्सार गर्ने नियम लागू गरेको छ। भन्सारका सूचना अधिकारी शर्माले यो नियमका कारण राजस्व वृद्धि भइरहेको दाबी गरे। उनले जेठ १५ अघि दैनिक एक दुई लाख मात्र राजस्व संकलन हुनेमा अहिले १० देखि १५ लाख रुपैयाँ उठ्ने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.