लोडसेडिङ र विद्युत् निर्यात

लोडसेडिङ र विद्युत् निर्यात
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नेपालमा हिउँद याममा धेरै बिजुली चाहिन्छ तर उत्पादन कम हुन्छ। खोलानाला हिउँदमा सुक्छन् र जलविद्युत् उत्पादन कम हुन्छ। भारतमा भने ठीक उल्टो छ— बर्खाको बेला धेरै बिजुली चाहिन्छ, हिउँदमा कम भए पनि हुन्छ। नेपालमा बर्खाको बेला उत्पादन धेरै भएर खेर जाने अवस्था आउन थालिसकेको छ। नेपालमा धेरै हुँदा भारतलाई आवश्यक पर्ने र भारतलाई धेरै हुँदा नेपाललाई आवश्यक हुने बिजुली खरिदबिक्री गर्ने सम्झौताले दुवै देशको हित गरेको छ। अझ नेपाल त जलस्रोतमा धनी भएको हुँदा भारतलाई बीजुली बेच्ने र उताबाट आयातभन्दा धेरै निर्यात गर्ने लक्ष्यमा हिँडिरहेको छ। केही वर्षयता नेपालले प्रशस्तमात्रामा भारतलाई बिजुली दिएको छ।

नेपाल विद्युत् प्राधिकरणले १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ। दैनिक ४ सय मेगावाट बिजुली अहिले प्राधिकरणले भारतलाई बेचिरहेको छ। तर, ठीक यही बेला नेपालकै उद्योगधन्दामा भने विद्युत् आपूर्ति नियमित छैन। प्राधिकरणले लोडसेडिङ घोषणा गरेर बिजुली आउने र जाने तालिका सार्वजनिक गरेको छैन। तर, बिजुली भने गइरहन्छ। काटिरहन्छ। 

खास गरी वीरगन्ज, विराटनगर र भैरहवा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ जारी छ। उद्यमी व्यवसायी यसै भन्छन्।

अहिले नेपालको कुल आन्तरिक जडित क्षमता करिब २९ सय मेगावाट हो। यो वर्षको विद्युत्् उत्पादन करिब ३५ सय मेगावाट पुग्ने बताइएको छ। अहिले दैनिक उच्च माग २ हजार मेगावाट पुगेको छ। यसो भन्दाभन्दै पनि उद्योगधन्दामै लोडसेडिङ हुनुचाहिँ बिडम्बना हो। प्राधिकरणले उत्पादित बिजुली भारत बेच्न सकेको छ भने आफ्नै देशका उद्योगमा चाहिँ किन दिन सकेको छैन ? पक्कै पनि आवश्यक पूर्वाधार भरपर्दाे बनाउन प्राधिकरणले कमजोरी गरेको छ। प्रसारण लाइन र उच्च क्षमताका ट्रान्सफर्मरहरू आवश्यक ठाउँमा प्राधिकरणले व्यवस्था गर्न सकेको छैन। आवश्यक मात्रामा सबस्टेसन निर्माण गर्न सकेको छैन। यी लगायत कारणबाटै देशका उद्योगधन्दामा मात्रै नभई विभिन्न ठाउँमा हरेक दिन कुनै न कुनै बेला झ्याप्पझ्याप्प बिजुली काटिन्छ।

बिजुली निर्यात भयो भनेर सुन्दा सुखद सुनिए पनि भारतलाई बिजुली बेचेर नेपालले कमाएको भन्ने अवस्था होइन। प्राधिकरणले गत वर्षको जेठदेखि हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत्् निर्यात गर्दा २०८०÷८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको मात्र विद्युत्् भारतमा बेचेको छ। खासमा प्राधिकरणको जोड स्वदेशमा आवश्यक बिजुली स्वदेशमै खपत गर्नपट्टि पहिलो प्राथमिकता दिनुपर्छ। बिजुली खपत बढाउनु भनेको प्राधिकरणका लागि मात्रै होइन, समग्र अर्थतन्त्रकै लागि ठूलो ऊर्जा र इन्धन हो। त्यसले देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्छ। नागरिकको जीवनमा पनि सुविधा पुग्छ। तसर्थ उद्यमीहरूले भने झैं हतारमा निर्यातमा लाग्नुभन्दा स्वदेशकै माग पूरा गर्ने, अघोषित लोडसेडिङ अन्त्य गर्नपट्टि लाग्नुपर्छ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.