लम्पी स्किनले देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु

लम्पी स्किनले देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु

लम्पी स्किन रोगले यसपटक गोठ मात्रै रित्याएन, खेतसमेत बाँझै बनायो। जोत्ने गरु मरे, दुधालु गाई र बाच्छाबाच्छी मर्दा किसानका गोठ रित्तिए। मानो रोपेर मुरी उब्जाउने बेला जोत्ने गोरु मर्दा र बिरामी हुँदा किसान छटपटाउनु प¥यो। सरकारी तथ्यांकअनुसार साउन ३ गते सम्ममा देशभर लम्पी स्किनले गर्दा ४८ हजार १ सय ३३ पशु मरेका छन्। 

पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार हालसम्म संक्रमित १० लाख ५४ हजार ५५ पशु छन्। यसमध्ये ७ लाख ६८ हजार ६४१ निको भइसकेको विभागको दाबी छ। तर, अझै २ लाख ३७ हजार २ सय ८१ पशु सक्रिय संक्रमित छन्। ३ लाख १ हजार २ सय ४६ पशुमा खोप लगाइसकेको सूचना अधिकारी डा. ढकालले जानकारी दिए। तर, संक्रमण संख्या भने अझै बढ्दै गएको तथ्यांकमा देखिन्छ। 

नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। तर, अहिले यसले बिकराल रूप लिएर मुलुकभर आतंक मच्चिएको छ। पछिल्लो समय देशभर ७६ जिल्लाका गाईभैंसीमा यो रोग पुष्टि भएको छ। यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन्।

यो रोगको महामारी नियन्त्रणका लागि पशुसेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरू परिचालित रहेको विभागको भनाइ छ। ‘यस क्रममा अन्य सरकारी निकाय, निजीक्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरिएका छन्,’ विभाग भन्छ, ‘पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ। प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ।’ साथै खोप आपूर्तिको लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भई सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा १ लाख ८० हजार ९२२ पशुहरूमा खोप कार्य सम्पन्न भएको विभागले जनाएको छ। 

प्रदेश तथा स्थानीयतहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क उपायहरू अवलम्बन गरिएका छन्। पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना सहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ। प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको विभागले बताएको छ। ‘चालु आव २०७९/८० मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन भएको छ। 

कोसीमा लाखौं पशु संक्रमित

लम्पी स्किनले पशु संक्रमित हुँदा कोसी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन्। कोसीमा हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु संक्रमित भएका छन्। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म २ लाख १२ हजार ८ सय ५७ गाईगोरु र १ लाख ७ हजार ८८ भैंसी राँगामा यसको संक्रमण पुष्टि भइसकेको छ। लम्पी स्किनकै कारण ४ हजार ८ सय १४ वटा पशु मरिसकेका छन्। 

मृत्यु हुनेमा ४ हजार ७ सय ५७ गाईगोरु र ६२ वटा राँगा छन्। यो असार अन्तिमसम्मको तथ्यांक हो। प्रदेशमा हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ। संखुवासभा, तेह्रथुम र भोजपुरमा खोप कार्यक्रम पुग्न सकेको छैन। खोप पुगेका स्थानमा पनि पर्याप्त छैन। प्रदेशका १४ वटै जिल्ला लम्पी स्किनबाट प्रभावित छन्। प्रदेशभरि हालसम्म  १ लाख ३ हजार ७ सय ७१ पशुलाई मात्रै खोप लगाइएको हो। संक्रमितमध्ये आधा पशुले पनि खोप पाएका छैनन्। खोपको उपलब्धताको अवस्थाले पनि संक्रमण नियन्त्रण प्रभावकारी हुन नसकेको देखाउँछ। 

पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन्। ३२ हजार ९ सय ६२ पशु संक्रमित हुँदा पाँचथरमा ३ सय ७६ वटाको मृत्यु भइसकेको छ। संक्रमणका कारण मृत्यु हुने पशुको संख्या इलाममा धेरै छ। इलाममा हालसम्म १ हजार ३ सय ८२ पशु मरिसकेका छन्। ३१ हजार ३ सय ४९ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ। 

धनकुटामा २१ हजार ५ सय ५८, झापामा २० हजार ९ सय २५, उदयपुरमा २० हजार ८ सय ९९, मोरङमा १९ हजार ८ सय ६९, सुनसरीमा १६ हजार २ सय ४४, तेह्रथुममा १५ हजार ९ सय ८६, संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सय २४, ताप्लेजुङमा ६ हजार ९ सय २, भोजपुरमा ६ हजार ६ सय १९, ओखलढुंगामा ६ हजार ३ सय ३ र सोलुखुम्बुमा ७ सय ५ वटा पशुमा संक्रमण यकिन भइसकेको छ।  

संक्रमणले झापामा ५ सय ४, मोरङमा ४ सय २९, उदयपुरमा ३ सय ७६, सुनसरीमा ३ सय ४३, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७५, संखुवासभामा २ सय ७२, ओखलढुंगामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय २५, भोजपुरमा ७२ र सोलुखुम्बुमा ३५ पशु मरिसकेका छन्। 

मधेसमा अवस्था विकराल 

मधेस प्रदेशमा यस रोगका कारण प्रदेशका आठवटै जिल्लामा किसानलाई अप्ठेरो झेल्नु परिरहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी निर्देशनालयले जनाएको छ। 

यस रोगबाट प्रदेश भरीमा हालसम्म १७ सय पशुहरूको मृत्यु भइसकेको छ भने ५२ हजार ६८६ वटा पशु प्रभावित छन्। लम्पी स्किन रोग एकातर्फ पशुहरूमा दु्रत गतिमा फैलिँदै गए पनि यसको निदानका लागि खोप अभियान प्रदेशमा निकै सुस्त गतिमा चलिरहेको छ। प्रदेशमा सबैभन्दा बढी पशु यस रोगले मरेको जिल्ला  सिरहामा हालसम्म खोप अभियान सञ्चालन समेत गरिएको छैन। त्यसैगरी सप्तरी, धनुषा, महोत्तरी र पर्सामा पनि पशुहरूलाई खोप लगाउन हालसम्म सुरु गरिएको छैन। सर्लाही, रौतहट र बारामा पशुहरूलाई यस रोगबाट बचाउन खोप लगाइएको हो। हालसम्म १२ हजार ७ सय ५९ पशुहरूलाई खोप लगाएर सुरक्षित पार्ने प्रयास गरिएको निर्देशनालयले जनाएको छ। 

बागमतीमा झन्डै साढे तीन हजार चौपायाको मृत्यु

बागमती प्रदेशको १३ जिल्लामा लम्पी स्किन रोगबाट ३ हजार ४ सय ७६ पशु चौपायाको मृत्यु भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका अनुसार साउन ४ गतेसम्म सबैभन्दा धेरै तीन हजार दुई सय ७६ गाईको मृत्यु भएको छ। २०७९ पुस महिनाबाट बागमती प्रदेशमा लम्पी स्कीनको प्रकोप फैलिएको थियो। हालसम्म एक सय २३ गोरु, ५० वटा बाच्चा बाच्छी र २७ भैंसीको लम्पी स्कीन संक्रमणबाट मृत्यु भएको छ। 
यस अवधिमा सबैभन्दा धेरै सिन्धुलीमा ६ सय ५० पशु चौपायाको मृत्यु भएको छ। निर्देशनालयको तथ्यांक अनुसार काभ्रेमा ६ सय २८, नुवाकोटमा ४ सय ११, काठमाडौंमा ९७, ललितपुरमा २३ र भक्तपुरमा १ सय २३ पशु चौपायाको मृत्यु भएको छ। त्यस्तै धादिङमा एक सय पाँच, रसुवामा ३२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४, सिन्धुपाल्चोकमा तीन सय ६०, चितवनमा एक सय ७६ र मकवानपुरमा दुई सय ७४ पशु चौपायाको मृत्यु भएको छ। 

निर्देशनालयका अधिकृत रामहरि शर्र्माका अनुसार लम्पी स्कीनबाट १ लाख ३९ हजार आठ सय ३८ पशु चौपाया संक्रमित भएका छन्। प्रदेश सरकारले संक्रमण न्युनिकरणको लागि खोप अभियान सञ्चालन गरिरहेको छ। यस अवधिमा ९७ हजार तीन सय ५१ पशु चौपायालाई लम्पी स्कीन बिरुद्धको खोप लगाइएको निर्देशनालयका अधिकृत शर्माले जानकारी दिए। निर्देशनालयका अनुसार ९३ हजार चार सय ७६ गाई र तीन हजार आठ सय ७५ भैंसीलाई खोप लगाइएको छ। 

गण्डकीमा सबैभन्दा धेरै नवलपुरमा 

लम्पी स्किन रोगका कारण गण्डकी प्रदेशमा असार २६ गते सम्म १८ सय १ (३.७४ प्रतिशत) गाई, भैंसी मरेका छन्। गण्डकी प्रदेशमा लम्पी स्किन रोगका कारण सबैभन्दा धेरै नवलपुरमा ४ सय ८ गाई, भैंसी (पाडापाडी, बाच्छाबाच्छीसमेत) मरेको पशुपंछि तथा मत्स्य विकास निर्देशनालय पोखराको तथ्यांक छ।  

नवलपुरपछि सबैभन्दा धेरै चौपायाको मृत्यु गण्डकी प्रदेशको राजधानीसमेत रहेको जिल्ला कास्कीमा ३ सय ५३ गाई, भैंसीलगायत मरेका छन्। यसैगरी गोरखा जिल्लामा ३ सय १९, तनहुँ जिल्लामा २ सय ४८, म्याग्दीमा १ सय ६९, बागलुङ जिल्लामा १ सय ६६, पर्वतमा ७०, लमजुङमा ४७, स्याङजामा १७, हिमाल पारीको जिल्ला मुस्ताङमा ४ वटा चौपाया मरेका छन्। हिमाल पारीको अर्को जिल्ला मनाङमा भने एउटा गोरुमा संक्रमण भए पनि पशुधनको क्षति भने नभएको पशुपन्छी तथा मत्स्य विकाश निर्देशनालय पोखराका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिए।

लुम्बिनीमा संक्रमण घट्दै

लुम्बिनी प्रदेशमा यस रोगको संक्रमण घट्दै गएको छ। प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार संक्रमित पशुहरूलाई अलग्गै राखी रोकथामको उपचारपछि संक्रमण नियन्त्रणमा आएको हो। संक्रमण घट्न थालेपछि प्रदेशमा पशु निर्देशनालयमार्फत लम्पी स्किन विरुद्ध खोप अभियान चलाइएको छ। निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमका अनुसार संक्रमण रोक्न खोप कार्यक्रम, आकस्मिक उपचार र सचेतना मुलुक कार्यक्रम सुरु गरिएको छ।

लम्पी स्किन संक्रमणका लागि निर्देशनालयले तोकेको  फोकल मत्स्य विकास अधिकृत रिमबहादुर सोमैका अनुसार प्रदेशभर ८४ हजार पशुमा संक्रमण देखिएको थियो। संक्रमितमध्ये करिब साढे तीन हजार पशु मरेका छन्। प्रदेशसभा सबैभन्दा बढी रोल्पा जिल्लाका पशुहरू प्रभावित भएका छन्। रोल्पामा मात्रै १ हजार २ सय ९६ पशु मरेको निर्देशनालयले जनाएको छ। निर्देशनालयले हरेक जिल्लामा अभियान नै चलाएर पशुहरूलाई खोप लगाउने काम गरेको छ। फोकल पर्सन सोमैले विकट क्षेत्रमा बाहेक अन्य स्थानमा खोप लगाइएको बताए। ‘रोल्पा जस्तै कतिपय विकट ग्रामीण क्षेत्रमा 
खोप लगाउन प्राविधिक पुग्न कठिन भएको छ’, उनले भने।

सुदूरमा पनि प्रकोप

सुदूरपश्चिमका ९ जिल्लामा लम्पी स्कीन रोगबाट २५ हजार ६०१ पशुचौपाया मरेका छन्। सुदूरपश्चिम प्रदेश पशु निर्देशनालयले दिएको तथ्यांक अनुसार असार ३० गतेसम्म सुदूरपश्चिममा ९ वटै जिल्लामा यति धेरै संख्यामा बाच्छाबाच्छी, गाईगोरु र भंैसी मरेका हुन्। 

सुदूरपश्चिममा सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया लम्पी स्किनबाट मरेका सुदूरपश्चिम पशु निर्देशनालयका सूचना अधिकारी पुष्कर नाथले जानकारी दिए। त्यसपछि बझाङमा ४ हजार ६२३, डोटीमा ३ हजार ६८८, डडेल्धुरामा २ हजार ३९६, अछाममा १ हजार ६७८, दार्चुलामा १ हजार १ सय ६९, बाजुरामा ७ सय ५३, कैलालीमा २७८ र कञ्चनपुरमा सबैभन्दा कम १८ पशुचौपाया मरेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

 

ममता थापा/काठमाडौं
किशोर बुढाथोकी/विराटनगर 
मनिका झा/जनकपुरधाम
कृष्ण सारु मगर/हेटौंडा
कृष्णमणि बराल/पोखरा
लक्ष्मण पोखरेल/बुटवल
शिवराज भट्ट/धनगढी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.