स्याङ्जाको स्वास्थ्य, सुरक्षा र न्याय हाँक्ने महिला नेतृत्व

स्याङ्जाको स्वास्थ्य, सुरक्षा र न्याय हाँक्ने महिला नेतृत्व
सुन्नुहोस्

स्याङ्जा : निजामती सेवाअन्तर्गतका स्याङ्जाका तीनवटा मुख्य सरकारी कार्यालयहरूमा महिलाले नेतृत्व हाँकेका छन्। जिल्लाको शान्ति सुरक्षा, न्याय र स्वास्थ्यका क्षेत्रमा महिलाको प्रमुख नेतृत्व छ। उनीहरू तीन जनाले क्रमशः भदौ, कात्तिक र पुस महिनादेखि स्याङ्जामा सेवा सुरु गरेका हुन्।  

जिल्लाको शान्ति, सुव्यवस्था र सुरक्षाको जिम्मेवारी पाएकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं जिल्ला सहायक न्यायाधिवक्ता श्रीकला पौडेल र जिल्ला अस्पतालकी प्रमुख डा. रुक्बिना अधिकारीको नेतृत्वमा यी कार्यालय सञ्चालनमा छन्। उनीहरूले आ–आफ्ना जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्दै आएका छन्।

सुनिता नेपाल, प्रजिअ

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पहिलोपटक २०६१ सालमा शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेकी हुन्। उनको सेवा प्रारम्भ सामान्य प्रशासन मन्त्रालय काठमाडौंबाट सुरु भएको हो। त्यसको झन्डै ९ वर्षपछि उपसचिव हँुदै २०७७ मा उनको सहसचिवमा बढुवा भयो। योसँगै उनी निजामती सेवाअन्तर्गत जिल्लाकै उत्कृष्ट पदीय जिम्मेवारी सम्हाल्न सफल भइन्। 

उनी पहिलोपटक २०७९ मा प्यूठानको प्रमुख जिल्ला अधिकारी बनिन्। त्यसपछि सरुवा भई दोस्रोपटक सिन्धुलीको प्रअिज भइन्। सिन्धुलीमा झन्डै एकवर्षे सेवापछि हाल स्याङ्जाको प्रजिअ भई कार्यरत छन्। 

उनी खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत हुँदै उपसचिव भएकी हुन्। सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मुस्लिम आयोग, गृह मन्त्रालय हुँदै पुस महिनादेखि स्याङ्जाको प्रजिअको रूपमा कार्यरत छन्। 

प्रजिअ नेपालले जिल्लाको समग्र शान्ति, सुव्यवस्थासँगै कुनै पनि नागरिकले आफू नेपाली नागरिक हुनबाट बञ्चित हुन  नपरोस् भन्दै जिल्लाका ११ वटै पालिकामा पुगेर जनचेतनामूलक प्रशिक्षण दिने अभियान गर्दै आएकी छन्। जन्मेपछि जन्मदर्ता र बिहेलगत्तै विवाह दर्ता गरेमा धेरै समस्या समाधान हुने उनको भनाइ छ। 

श्रीकला पौडेल, सहायक न्यायाधिवक्ता

सरकारी वकिलका रूपमा पहिलोपटक जिल्लाले महिला नेतृत्व पाएको हो। श्रीकला पौडेल जिल्ला  सहायक न्यायाधिवक्ता हुन्। उनी २०६५ सालमा नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेकी हुन्। त्यसपछि २०७१ सालमा उपसचिव भई सरकारी वकिलका रूपमा तनहुँमा सेवा गरिन्। तनहुँमा तीन वर्षपछि काठमाडौं र म्याग्दीमा सहन्यायाधिवक्ताका रूपमा काम गरिन्। 

जागिरे अवधिभित्रै अध्ययन बिदामा बसेर संवैधानिक कानुन र फौजदारी कानुनमा एलएलएमसम्मको अध्ययन पनि उनले पूरा गरिन्। विशेष सरकारी वकिल कार्यालय काठमाडौं हँुदै उनी गत कात्तिकदेखि स्याङ्जाको सरकारी वकिलको रूपमा सेवारत छन्।  

उनको जन्म र कर्मथलो दुवै तनहुँ हो। कानुनको अज्ञानता क्षम्य नहुने जनाउँदै कानुनद्वारा नगर्न भनेको काम केही पनि नगर्न उनको सुझाव छ। आफ्ना हक, हित र अधिकारका बारेमा सबैले जानकारी लिनुपर्ने उनले बताइन्। राज्यद्वारा उपलब्ध न्याय र अधिकारका बारेमा थाहा पाउन सकेमा अन्याय भोग्नु नपर्ने उनको भनाइ छ। 

डा. रुक्बिना अधिकारी, मेडिकल सुपरिटेन्डेन्ट 

स्याङ्जाको नेतृत्व गरिरहेको ९ महिना पुगेको छ। अस्पतालमा क्रियाशील स्थायी, अस्थायी र करारका ८४ जना कर्मचारीको नेतृत्व सम्हाल्दै र आम नागरिकका स्वास्थ्योपचारमा समेत सजगता अपनाउनु उनका जिम्मेवारी हो। 

पोखरा महानगरपालिका—१७ कास्की जन्मथलो भएकी अधिकारीले २०७८ सालमा आठौं तह मेडिकल अफिसरबाट सेवा सुरु गरिन्। पहिलोपटक म्याग्दी अस्पतालमा मेडिकल अधिकृतको रूपमा उनले सेवा गरिन्। त्यसको एक वर्षपछि पर्वत जिल्ला अस्पतालको मेसुको जिम्मेवारी पाइन्। 

२०७९ मा पर्वत अस्पतालमा पुगेकी उनको झन्डै एकवर्षे सेवापछि भदौ महिनामा स्याङ्जा जिल्ला अस्पतालमा सरुवा भयो। झन्डै ११ महिनासम्म मेसुविहीन रहेको जिल्ला अस्पताल स्याङ्जामा आएर उनले जिम्मेवारी सम्हालेको ९ महिना पुगेको छ। 

म्याग्दी, पर्वत र स्याङ्जा अस्पतालका प्रकृति उस्तैउस्तै रहेको उनी बताउँछिन्। राज्यका सीमित स्रोत र साधन उपयोग गर्दै नागरिक स्वास्थ्य सेवाप्रति आफू र आफू मातहतका सबै चिकित्सकसहित प्राविधिक, कर्मचारी टिम क्रियाशील रहेको उनको भनाइ छ। पुतलीबजार नगरपालिका—३ स्थित जिल्ला अस्पताल स्याङ्जा १५ शय्याको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.