चीनको नाकाबन्दीले दैनिक उपभोग्य बस्तुको भाउ आकासियो

चीनको नाकाबन्दीले दैनिक उपभोग्य बस्तुको भाउ आकासियो
तिब्बती सीमा क्षेत्रमा रहेको चुमनुब्री १ को साम्दो गाउँ। तस्बिर : शिव उप्रेती।
सुन्नुहोस्

गोरखा : कोरोना महामारीको बहानामा चीन सरकारले गरेको नाकाबन्दी कोरोना साम्य भइसक्दा पनि खुलाएको छैन। २०७६ सालको पुसदेखि गरेको नाकाबन्दी नखुलाउँदा तिब्बती सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा दैनिक उपभोग्य सामानको भाउ आकासिएको छ।

नाकाबन्दी हुँदा तिब्बती बजारमा आश्रित चुमनुब्री गाउँपालिकाका दुईहजार ६८ घरधुरीका पाँचहजार ९३२ जना स्थानीय बासिन्दा मर्कामा परेका छन्। नजिकको तिब्बती बजार जाने नाका बन्द भएपछि तल्लो भेगको बजारबाट महंगो ढुवानी भाडा तिरेर दैनिक उपभोग्य बस्तु लैजान बाध्य छन्। 

तल्लो भेगमा २५ रुपैयाँ पर्ने प्रतिकिलो नूनलाई त्यहाँको बजारमा १६० रुपैयाँ तिर्नुपरेको वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामा बताउँछन्। ‘नून तपाईहरु २५ रुपैयाँमा पाउनु हुन्छ, हामीले एकसय साठी तिर्नुपरेको छ’, उनले भने, ‘खानेतेल प्रतिलिटर छ सय रुपैयाँ तिर्नुपर्छ।’ २५ किलोको जीरा मसिनो चामलको छ हजार रुपैयाँ तिर्ने गरेको उनले बताए।

वडा नं. १ को सामागाउँ र साम्दोगाउँ तिब्बती सीमानामा पर्ने गाउँ बस्ती हो। सडक सञ्जालले नजोडिएका ती गाउँहरुमा खच्चडले सामान ढुवानी गर्न तीनदेखि चारदिनसम्म लाग्ने गर्छ। बर्खा लागेपछि खच्चड हिडाउने बाटोसमेत अवरुद्ध भएको स्थानीयबासीको भनाइ छ।

त्यस्तै सीमा क्षेत्रमा पर्ने छेकम्पारमा पनि दैनिक उपभोग्य सामानको भाउ चुलिएको छ। ‘तिब्बतबाट ल्याउन पाएको भए आफ्नै याक, चौँरीले ढुवानी गथ्र्यो। सामानको मात्र मूल्य तिरे पुग्थ्यो। तर नाकाबन्द छ। तलको बजारबाट खच्चडले सामान ढुवानी गर्दा महंगो पर्छ’, वडा नं. ७ का अध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘अहिले छेकम्पारका उर्जा चामल २५ किलोको प्रतिबोरा पाँच हजार तिर्नुपर्छ। नून प्रतिकिलो १५०, खानेतेल प्रतिलिटर पाँचसय रुपैयाँ तिर्नुपर्छ।’ बर्खा लागेर लोक्पामा पहिरो झरेपछि खच्चड हिँडाउन बन्द भएको उनले बताए। ‘यसपटक नाका खुल्छ कि भन्ने आशाले मान्छेले धेरै स्टक राखेका छैनन्। नाका पनि नखुल्ने, खच्चड पनि नचल्ने हो भने खाद्यान्नको समस्या हुन सक्छ’, उनले भने।

नाका खुलाउन धेरै पटक प्रयास गरिएको तर सफल हुन नसकेको चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङको भनाइ छ। ‘हालसालै पनि हामीले गृहमन्त्रीलाई भेटेर पनि कुरा राखेका छौँ। गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र महावाणिज्य दूतावासमा पनि पत्राचार गरेका छौँ’, उनले भनिन्, ‘हामीले गर्ने प्रयास त गरिरहेका नै छौँ, तर नतिजा के हुन्छ भन्न सकिन्न।’ बर्खाका कारण अहिलेसम्म खाद्यान्न अभावको अबस्था नभएको भन्दै उनले पहिरोले लामो समयसम्म बाटो थुनियो भने समस्या हुन सक्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.