तापक्रम बढ्दा हिमालसम्म पुग्यो लम्पी स्किन

तापक्रम बढ्दा हिमालसम्म पुग्यो लम्पी स्किन
फाइल तस्बिर।

काठमाडौं : मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा २०७७ साल असार १० मा लम्पी स्किन रोग देखा पर्‍यो। यसलाई नेपालमा पहिलोपटक भेटिएको भनिन्छ। त्यसपछि तरार्ईका जिल्लामा क्रमशः रोग फैलियो।

हिमाल र पहाडकाभन्दा तरार्ईका गाई र भैंसी बढी प्रभावित भयो। र, यो रोग तरार्ईमा मात्रै देखिन्छ पनि भनियो। तर, अहिले आएर हिमाली जिल्ला मनाङ र मुस्ताङमा समेत यसले महामारीको रूप लिएको छ। यहाँका याक र चौरी नै प्रभावित भएका छन्। विज्ञ भन्छन्, ‘यसरी पहिले तराईमा मात्रै देखिने रोग चाँडै हिमालसम्म पुग्नु भनेको जलवायु परिवर्तनको परिणाम हो। लामखुट्टे र किराहरू हिमालसम्म पुग्यो भन्ने हो।’ तर, यो विषयमा अझै अध्ययन आवश्यक भएको विज्ञ बताउँछन्। 

पशुमा लम्पी स्किनको महामारी आक्रामक बन्दै जानुमा ग्लोबल वार्मिङ पनि कारण रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि हुँदै गएको र त्यसैकारण रोग फैलाउने किटाणुलाई फाइदा पुगेको अध्ययनले देखाएको छ। तातो मौसममा वृद्धिविकास मौलाउने हुँदा यस्ता भाइरस आक्रामक भएका छन्। नेपाल, भारत, चीनलगायत देशमा आउँदा वर्षमा पनि लम्पी स्किनको महामारीको जोखिम रहेको ती अध्ययनहरूको निष्कर्ष छ। 

लम्पी स्किनका बारेमा सन् २०१२ देखि २०२२ सम्म गरिएको अध्ययन ‘एसियन मुलुकमा लम्पी स्किनको जोखिमका कारक’ ले पनि नेपाललगायतका देश अत्यन्त जोखिममा रहेको बताएको छ। गत मेमा प्रकाशित उक्त अध्ययनले भौगोलिक तथा वातावरणीय अवस्था, पारिस्थितिक प्रणाली, तापक्रम वृद्धिले यो भाइरसलाई फाइदा पुगेको उल्लेख छ। पशु ओसारपसार गर्दा भाइरस एक ठाउँबाट अर्को ठाउँमा पुगेको ती अध्ययनको दाबी छ। 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा कार्यरत महामारी रोग विशेषज्ञ डा. सुरेन्द्र कार्कीका अनुसार समग्रमा किट (भेक्टर) जन्य रोगहरूको फैलावट ग्लोबल वार्मिङसँग जोडिएको हुन्छ। रोग गराउने जीवाणु, विषाणु आदिको टोकाइबाट मानिस वा पशुमा सार्ने किराहरूलाई भेक्टर भनिन्छ। रोग सार्ने भेक्टरहरूमा मुख्यरूपमा लामखुट्टे, किर्ना, भुसुना र झिंगा आदि पर्छन्। गाई र भैंसीमा हाल महामारीको रूप लिएको लम्पी स्किन रोग पनि मुख्य रूपमा भेक्टरमार्फत सर्छ। तर, डा. कार्कीका अनुसार हाल नेपालमा फैलिएको लम्पी स्किनको महामारी ग्लोबल वार्मिङकै कारण फैलिएको हो भनेर भनिहाल्न सक्ने अवस्था भने भइसकेको छैन। भने, ‘समग्रमा हेर्दा ग्लोबल वामिङले भेक्टरहरूको फैलावटलाई बढावा दिन्छ। तर, नेपालमा लम्पी स्किन रोगको सन्दर्भमा खास अध्ययन भएको छैन। जलवायु परिवर्तनकै कारण मात्रै हो भन्न गाह्रो छ।’

भेक्टरहरू हिमाली जिल्लातिर पनि बढ्दै गएका छन्। नेपालको हिमाली जिल्लामा समेत भेक्टरहरू देखिनु भनेको जलवायु परिवर्तनको संकेत हो। जलवायुका कारण तापक्रम वृद्धि हुँदा झिंगा, लामखुट्टेजस्ता किराहरूको वृद्धिका लागि उपयुक्त वातावरण बनेको छ। त्यसले गर्दा पहिला नदेखिएको ठाउँमा पनि भेक्टरहरू देखिएका छन्। यदि यी भेक्टरहरू संक्रमित भएका छन् भने तिनैले रोग सार्ने हो। ‘अहिले धेरै फैलिनुमा पशुको आवतजावत अनियन्त्रित हुनु हो। कहाँबाट कुन पशु कता पुग्छ, त्यसको भरपर्दो रेकर्ड हुँदैन,’ कार्कीले थपे ‘त्यसले लम्पी स्किन जस्ता समस्या फैलिन सहयोग गरेको छ। पशुको ओसारपसारसँगै संक्रमित भेक्टरहरू पनि नयाँ ठाउँमा पुगिरहेका हुन्छन्।’

संक्रमित भेक्टरहरू भएको ठाउँमा पशुहरू नजिकै भए अर्कोमा टोकाइमार्फत सर्छ। तर, टाढाटाढा रोग पुग्नका लागि संक्रमित पशुको ओसारपसार हुनुपर्छ। यसरी पशु ओसारपसार गर्दा पशुसँगै किर्नाहरू पनि टाँसिएर जान सक्छन्। गाडीको माध्यमबाट लामखुट्टेहरू टाढा पुग्छन्। किराहरू उडेर त्यति टाढा पुग्दैन। कहिलेकाहीँ हावाको बहावसँगै अलि टाढासम्म पुग्न भने सक्छन्। तर, सुदूरपूर्वमा फैलिएको रोग सुदूरपश्चिम ओसारपसार बिना पुग्न गाह्रो हुन्छ। एकपछि अर्को ठाउँमा बिस्तारै फैलिँदै जान भने सक्छ। टाढासम्म फैलिनुमा पशुको ओसारपसार र भेक्टरको आवतजावत नै मुख्य माध्यम बनेको अनुमान गर्न सकिन्छ। 

तापक्रम बढ्दै जाँदा उनीहरूका लागि उपयुक्त वातावरण बन्दा पहिला नपाइने ठाउँमा पनि भेक्टरहरू पुगेका हुन्। डेंगु, मलेरियाजस्ता लामखुट्टेबाट सर्ने रोगहरू हिमाली क्षेत्रसम्म पुगेका छन्। जलवायु परिवर्तनसँगै भेक्टरहरूका लागि उपयुक्त वातावरण बनिरहेको छ। किर्ना, लामखुट्टे, झिंगाजस्ता भेक्टरहरूमध्ये कुन भेक्टरले मुख्य रूपमा रोग फैलाएको छ, यस्ता विषयमा अनुसन्धान जरुरी छ। 

नेपालमा कस्ता किराहरूले लम्पी रोग फैलाइरहेको छ भनेर विश्वविद्यालय तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अनुसन्धान गरे सहज हुने उनी बताउँछन्। पशु सेवा विभाग, कृषि मन्त्रालय, प्रदेश र स्थानीय निकायले मिलेर रोग नियन्त्रणका लागि नीतिनियम बनाउने, नियमन गर्ने, खोप व्यवस्थापन, बिरामी पशुको उपचारका लागि औषधिको व्यवस्थापनको पाटो हेर्नुपर्छ। रोकथामका लागि रोग नदेखिएको ठाउँमा स्वास्थ्य पशुलाई खोप लगाउनुपर्छ। बिरामीहरूलाई भने खोप लगाउन मिल्दैन, उपचार गर्नुपर्छ। 

भेक्टर निश्चित सिजनमा बढी हुन्छ। अहिलेको समय लामखुट्टे, किर्नालगायतका किराहरू सक्रिय हुने बेला हो। जलवायु परिवर्तनले तापक्रम बढ्दै जाँदा भेक्टरहरू जति महिना सक्रिय हुन्थे, त्योभन्दा बढी समय सक्रिय हुन थालेका छन्। उनीहरू लामो समय सक्रिय हुने अवस्था आएको र यस सँगै किटजन्य रोग फैलिने जोखिम पनि बढ्ने डा.कार्कीले बताए। नार्कअन्तर्गत रहेको राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रका भेटेनरी वैज्ञानिक मिरा प्रजापतिले लम्पी स्किनको महामारी फैलिनुमा विभिन्न कारणहरूमध्ये जलवायु परिवर्तन पनि एउटा हुनेसक्ने बताइन्। 

उनले भनिन्, ‘वर्षाको प्याटर्न फेरिँदा, तापक्रम वृद्धि हुँदा भेक्टरहरू बढी फैलिने हुन्छन्। यस्तो अवस्थामा भेक्टरबाट संक्रमण बढ्नुमा जलवायु परिवर्तनले बढावा दिएको छ।’ यस्ता समस्या जाडोमा अलि कम र गर्मीमा व्यापक बन्छ। लामखुट्टे र किर्नाको टोकाइबाट एउटा पशुबाट अर्कोमा सर्ने गरेको दर धेरै छ। यस्ता किराहरूका लागि सुहाउँदो वातावरण बनिदिँदा रोग व्यापक फैलिएको छ।

भेक्टरबाट बच्नका लागि किसानहरूले पशुपालन गरेको ठाउँमा जैविक सुरक्षामा ध्यान दिनुपर्छ। रोग लागेको पशुलाई अलग्गै राख्नुपर्छ। या रोग फैलिनुमा मानिस पनि संवाहक बनेको छ। गाईगोरुको हेरचाह गर्ने मानिसको जुत्ता, लुगाबाट अर्को पशुमा संक्रमण सर्छ। पशुको हेरचाह गर्नेले यस्ता विषयमा ध्यान दिनुपर्नेछ। डा. प्रजापतिका अनुसार पहिला संक्रमण फैलिए पनि पशुको मृत्यु दर कम थियो। अहिले पशुको मृत्युदर अत्यधिक छ। नेपालमा २८ हजारभन्दा धेरै पशुको मृत्यु भइसकेको छ। 

मृत्युदर बढ्नुमा भाइरसमा केही परिवर्तन भएको हुनसक्ने उनले जनाइन्। अथवा भाइरसले संक्रमण भएको समयमा (सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन) भएको हुनसक्छ। पशु जब कमजोर हुन्छ अरू ब्याक्टेरियाले आक्रमण गर्छ। हालको परिणाम के कारणले भएको भन्न सकिएको छैन। यस विषयमा अध्ययन हुन बाँकी छ। आउने वर्षका लागि यो वर्ष योजना बनाइन्छ। उक्त योजनाहरू किसानहरूको सुझावअनुसार बनाइन्छ। किसानहरूसँग अन्तक्र्रिया गरेर उनीहरूको मागअनुसार अनुसन्धान हुँदै आएको पनि उनले बताइन्।

प्रजापतिले भनिन्, ‘लम्पी स्किन रोग थिएन। तर, पशुमा बाँझोपनको समस्या धेरै थियो। त्यसैमा काम गर्न किसानको आग्रह थियो।’ लम्पी स्किन लागेपछि किसानले एन्टिबायोटिक चलाउने गर्छन्। एन्टिबायोटिक चलाएको कम्तीमा ७ देखि १० दिन दूध खान मिल्दैन। तर, अन्य समयमा दूध खान सकिने प्रजापतिले बताइन्। यस्ता भाइरसबाट प्रतिरोधशक्ति बलियो गराउने सख्खर, कँुडो, पर्याप्त पानी, स्लाइन पानी लगाउनुपर्छ। यस्तो बेलामा भने ती गाईबाट दूध खान मिल्छ। 

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार हुम्ला, जुम्ला, डोल्पासम्म लम्पी स्किनको समस्या फैलिएको छ। ती ठाउँमा जनावर तथा मानिसको आवतजावत नभए पनि भेक्टरले संक्रमण फैलाएका छन्। त्यस्ता ठाउँमा लामखुट्टे, भुसुना देखिएको छ। जलवायु परिवर्तनको कारण यी परिणाम आएको भन्ने थुप्रै प्रमाणहरू भए पनि आधिकारिक निकायले अध्ययन गरेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.