कर्णाली चिनाउँदै रोकाया
विगतमा सामान्यतया ६० देखि ७० हजार रुपैयाँमा एउटा गीतको अडियो तयार हुने गरेकोमा अहिले भिडियोसमेत गर्नुपर्ने भएकाले डेढ लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ।
वीरेन्द्रनगर : कर्णालीलाई अभाव, गरिवि र विभेदजस्ता नकारात्मक विषयमा मात्र चित्रण गरिन्छ। जहाँ खस भाषा र नेपाली सभ्यताको उत्पति, लोक संस्कृति र संगीतको आधार क्षेत्रलगायत थुप्रै जातजाति र भाषाको उत्पति भएको ऐतिहासिक विषय भने गुमनाम छ। यसै क्षेत्रबाट सांगीतिक क्षेत्रमा कर्णाली चिनाउने अभियानमा छन्, जुम्लाका पदम रोकाया। उनले गीत संगीतका माध्यमबाट पनि कर्णालीका सवालहरू उजागर गर्दै आएका छन्।
गायक तथा संगीतकार शिशिर योगीको ‘कर्णाली पारी, छैन खेतबारी, रुखो छ टारी’ होस् वा गायक, संगीतकार, गीतकार पदम रोकायाको ‘कर्णालीको दुर्दशा’। दुवै गीतले कर्णाली र कर्णालीवासीलाई राज्यले गरेको विभेदका कारण भोग्नु परेका असुविधाहरू र जटिलताको प्रतिनिधित्व गरेको छ। जुन गीत उत्तिकै कर्णप्रिय र लोकप्रिय पनि छन्। अन्य स्रष्टाहरूले पनि गीत, संगीत र कवितामार्फत् कर्णालीका सवालहरू उठाउँदै आएका छन्। तर, राज्य सञ्चालकहरू भने त्यसप्रति कहिल्यै गम्भीर भएनन्।
त्यसो त कर्णालीले जति कराए, चिच्याए पनि काठमाडौंले सुन्दैन भन्ने उखानै छ। काठमाडौंले सुनिदिएको भए साँस्कृतिक, पर्यटन र प्राकृतिक स्रोतमा नेपालकै धनी भएर पनि कर्णालीले गरिवि, अभाव र विकटता उपनामले चिनिनुपर्ने थिएन। कर्णाली हरेक सिर्जनाको वेदनायुक्त पात्र बन्नुपर्ने थिएन। विकास निर्माणका क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि कर्णालीमाथि विभेदको शृंखला कायमै छ।
कर्णालीको दुर्गम जिल्ला जुम्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धनमा लागेका संगीतकर्मी पदम रोकाया पनि कर्णालीले पटक–पटकको राजनीतिक परिवर्तनको महसुस गर्न नसकेको बताउँछन्। ‘कर्णालीको नाम बेचेर काठमाडौंले कमायो। सीमित व्यक्ति वा समूह माथि पुगे। तर, कर्णाली थिचिएको थिचियै भयो’, उनले भने। निरन्तरको संघर्षपछि राष्ट्रिय कलाकारका रूपमा स्थापित रोकाया कर्णाली विकासमा मात्र नभई कर्णालीको कला, संस्कृति र स्रष्टाहरूसमेत ओझेलमा रहेको बताउँछन्।
झन्डै दुई दशक लामो सांगीतिक जीवनमा डेढ सयभन्दा बढी गीतमा स्वर र करिब सात सयभन्दा बढी गीतमा शब्द/संगीत दिएका रोकाया आफ्नै शब्द/संगीत र स्वरको गीत ‘जुम्ला कालिकोट’ बजारमा ल्याएपछि चर्चामा आएका थिए। त्यसबाहेक ‘माया गर्ने जीवन साथी’, ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘तिम्ले घृणा गरे पनि’, ‘मेरी मायालु’, ‘बस मैना घरमा’, ‘कर्णालीको दुर्दशा’, ‘निष्ठुरी र परी’लगायत गीतहरू चर्चित छन्। उनले आफूमात्र नभई नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवद्र्धनका लागि नवप्रतिभालाई पनि प्रोत्साहित गर्दै आएका छन्।
रोकायाले कर्णालीको कला संस्कृतिको प्रवद्र्धनमार्फत् पर्यटन प्रवद्र्धनमा पनि जोड दिँदै आएका छन्। उनले नेतृत्व गरेको कर्णाली कलाकार समाजको अगुवाइमा सिन्जा महोत्सव २०६९, कालिकोट महोत्सव २०७१, कर्णाली साँस्कृतिक उत्सव २०७१, दोस्रो कालिकोट महोत्सव २०७३, कर्णाली साँस्कृतिक कार्यक्रम २०७४ र प्रथम सिन्जा पर्यटन महोत्सव २०७६ आयोजना भएका थिए। राष्ट्रिय पुरस्कार २०७५ द्वारा समेत सम्मानित रोकाया नेसनल म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड, बक्स म्युजिक भिडियो अवार्ड, कर्णाली साँस्कृतिक सम्मान, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मानलगायतबाट सम्मानित भइसकेका छन्।
रोकायाका अनुसार पछिल्लो समय गीत रेकर्डिङ निकै खर्चिलो बन्दै गएकाले नवप्रतिभाका लागि चुनौती बनेको छ। अडियोको जमाना परिवर्तन भएर अडियो–भिडियोले प्रवेश पाएसँगै रेकर्डिङ खर्चिलो बन्न पुगेको हो। विगतमा सामान्यतया ६० देखि ७० हजार रुपैयाँमा एउटा गीतको अडियो तयार हुने गरेकोमा अहिले भिडियोसमेत गर्नुपर्ने भएकाले डेढ लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ। त्यतिमात्रै नभई पछिल्लो समय नेपाली मौलिक गीतसंगीतमाथि पश्चिमी शैलीका संगीत हावी हुन थालेकाले गीतको मर्म र भावना मर्दै गएको उनले बताए।
‘एउटा गीतका लागि मिल्दो स्वर, शब्द, लय र संगीत हुनुपर्छ। तर, अब गीतका लागि केही नचाहिने अवस्था आएको छ, जसले पनि गाउने, जस्तो पनि गीत हुने, स्वर, शब्द, संगीत, लयको कुनै मापदन्ड छैन’, उनी भन्छन्, ‘यसले हाम्रो लोक संस्कृति र सांगीतिक विधामाथि अन्याय भएको छ।’
नेपाल भौगोलिक विविधासँगै साँस्कृतिक विविधतायुक्त मुलुक हो। देशको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा संगीतकर्मीको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछन्। ‘राजनीतिक र सामाजिक जागरणमासमेत गीतसंगीतलाई अघि सार्ने गरिएको छ। पश्चिम नेपाल अझै संगीतको उद्गमस्थल मानिन्छ।
कर्णालीले आफ्नो कला, संस्कृतिलाई मर्न दिएको छैन। सांगीतिक स्रष्टाहरूलाई निराश हुन नदिन सरकार गम्भीर हुनुपर्छ’, उनी भन्छन्। विगत लामो समयदेखि विभिन्न विद्यालयदेखि संगीत विद्यालयसम्म संगीत प्रशिक्षकका रुपमा कार्यरत रोकायाले मुलुकका तीन वटै तहका सरकारले संगीतकर्मीको भावनालाई सम्बोधन गर्न नसकेको बताए। ‘संगीत सबैलाई मन पर्छ। तर, त्यस क्षेत्रमा पर्याप्त लगानी कसैले गर्दैनन्। जसका कारण हाम्रो लोक संस्कृति संरक्षण गर्नुपर्ने अवस्था छ’, उनी भन्छन्।