‘सुनको व्यवसाय २५ वर्षअघि नै छोडिसकें’

‘सुनको व्यवसाय २५ वर्षअघि नै छोडिसकें’

सय किलो सुन तस्करी प्रकरणमा तपाईंको नाम जोडियो नि ? 

सुन तस्करीको घटनामा मेरो नाम किन र कसरी जोडियो भनेर मैले नै बुझ्न सकेको छैन। जसले मलाई आरोप लगायो, उनलाई पनि सोधें। आरोप लगाउनेले सो सूचना राजस्व अनुसन्धान विभागबाट आएको जानकारी गरायो। 

राजस्व अनुसन्धानले मेरो नाम किन लियो भन्ने प्रश्न छ। अघिल्लो दिन सुन समातेको छ, भोलिपल्टै मेरो नाम जोडियो। अनुसन्धान सुरु भएको २४ घन्टा नबित्दै कसैप्रति यति निश्चित भएर आरोप लगाउन मिल्छ ? यो काममा मेरो संलग्नता छैन भन्नेमा म सतप्रतिशत पक्का छु।

मेरो नाम राजस्व अनुसन्धान विभागले किन लियो ?  संलग्नता भएको भए नाम आउनु ठीकै होला। तर, म संलग्न छैन। यो विषयमा म चित्त बुझाउन सक्दिनँ। आरोप लगाउनेले पनि थप कुरा पुष्टि गर्न सकेको छैन। यसर्थ, म माथिका सबै आरोप हचुवाको भरमा लगाइएका हुन्। 

हावा नचलि पात हल्लियो होला र ?

त्यस्तो होइन। नेपालमा मात्र नभएर अन्य देशमा पनि कुनै घटना भएपछि कोही कसैको नाम जोड्दिने गरिन्छ। यसको कारण हो, आम सर्वसाधारणप्रतिको जवाफदेहीता। घटना बाहिरिएपछि कसले–कसरी गर्‍यो भन्ने जवाफ दिनुपर्ने हुन्छ। कसैको नाम लिइदिएर सर्वसाधारणलाई भुलाउन अथवा ध्यान अन्तै मोड्न यस्तो गरिन्छ। त्यसैकारण पनि सुन प्रकरणमा मेरो नाम लिइएको हुन सक्छ।

त्यसो भए सुन तस्करीमा कसको संलग्नता होला ?

पक्कै पनि ठूलै समूहको संलग्नता हुनुपर्छ। आफू बच्नका लागि सो समूहले मेरो नाम लिएको पनि हुन सक्छ। अरू कारण मैले देखेको छैन। जुन मिडियामा मेरो नाम आयो, ऊसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रै छ। उहाँहरूसँग मेरो संवाद पनि भएको छैन। एक्कासि मेरो नाम आउँदा म अचम्मित छु।

म के विषयमा स्पष्ट छु भने नखाएको विष लाग्दैन। त्यसैले कानुनी रूपमा समस्या छैन। तर, सर्वसाधारण र मेरा ग्राहकसामु मेरो छवि, प्रतिष्ठा धमिलिएकामा मेरो आपत्ति छ।

जब–जब सुनको प्रकरण आउँछ, तपाईंकै नाम किन जोडिन्छ ?

यसमा कसको नाम राख्दा सर्वसाधारणले पत्याउँछन् भनेर सोचविचार गरिएको होला। मेरो नाम लिइदियो भने सर्वसाधारणले पनि पत्याउँछन् भनेर मेरो नाम लिइएको होला। २५ वर्ष अघि म सुनको व्यापार गर्थें। त्यतिबेला नेपालीहरू विदेश जाँदा सुन ल्याउन पाउँथे। भन्सार तिरेर ल्याउन पाउने दिनमा मैले बैध रूपमा सुन व्यापार गर्थें। त्यसपछि यो व्यवसाय पूर्णरूपमा त्यागिसकेको छु। अहिले म अरू नै व्यवसाय गर्छु। 

त्यतिबेला सुनको कारोबार गर्ने करिब सय जना व्यवसायी थिए। उहाँहरूमध्ये सबैभन्दा चिनिएको नाम मेरै हो। त्यसैले पनि मेरो नाम मुछ्न असजिलो भएन।

  •     म माथिका सबै आरोप हचुवाको भरमा लगाइएका हुन्।
  •     मेरो नाम लिइदियो भने सर्वसाधारणले पनि पत्याउँछन् भनेर मेरो नाम लिइएको होला।
  •     तस्करीको सुन जसरी नेपाल आउँछ, त्यसैगरी भारततिर जान्छ। 

तस्करी गरेर नेपालमा यति ठूलो परिणामको सुन भित्र्याउनुको कारण के होला जस्तो लाग्छ ?  

नेपालमा यति धेरै सुन आवश्यक छँदै छैन। यो सुन सीधा तस्करी भएरै बाहिरिन्छ। जसरी आउँछ, त्यसरी छिमेकी मुलुक भारतमा पुग्छ। नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन आयात गर्ने कोटा तोकेको छ, मैले सुनेको छु कि त्यो १० किलो पनि बिक्री भइरहेको छैन। अवैध सुनको सीधा कनेक्सन विदेशीसँग छ।

मैले सुनेअनुसार चिनियाँले लगानी गरेर सुन ल्याउँछन्। नेपालबाट भारतसम्म पुर्‍याउने अर्को नेक्सस छ अरे। अनुसन्धानको क्रममा अझै धेरै विषय खुल्नेछ भन्ने मेरो अनुमान छ।

अहिले तपाईंका के–के व्यवसाय छन् ?

म मोबाइल फोन आयातकर्ता, घरजग्गा व्यवसायी र जलविद्युत् क्षेत्रको लगानीकर्ता हुँ। मेरो आईएमएस ग्रुपले नेपालमा सामसङ ब्रान्डको मोबाइल फोन आयात गर्छ। सन् २००१ देखि यो व्यवसाय गर्दै आएको छु। जग्गा खरिद, प्लटिङ, हाउजिङ विकास गर्छु। यसबाहेक जलविद्युत्मा मेरो लगानी छ।

३.६ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छु। बूढीगण्डकी र ठूली भेरी गरी २ वटा ठूला जलविद्युत् परियोजनाको सर्वेक्षण भइरहेको छ। तिनमा पनि लगानी छ। सेलपे नामक भुक्तानी सेवा प्रदायक (वालेट)मा मेरै लगानी छ। यसबाहेक कृषिमा पनि लगानी छ। सुनसरीमा मेरो कागती खेती छ। 

एयरपोर्टको ठेक्कापट्टामा पनि तपाईंको संलग्नता छ, भनिन्छ नि ! 
एयरपोर्टको पार्किङ व्यवस्थापन गर्न ३० वर्षको ठेक्का पाएका हौं। त्यसमा अत्यधिक बढी लगानी छ। हालसम्म रिटर्न आउन थालेको छैन।

तपाईंका व्यावसायिक साझेदार को–को हुन् ?

विभिन्न व्यवसायमा अलग–अलग पार्टनर छन्। हाइड्रोपावर, मोबाइल, कृषि, घरजग्गामा छुट्टाछुट्टै पार्टनर हुनुहुन्छ।

व्यवसाय विस्तारका लागि तपाईंले उच्च राजनीतिक नेतृत्वसँग राम्रै हिमचिम गर्नुहुन्छ भन्ने आरोप पनि तपाईंलाई लगाउँछन् नि ! 

यो बारम्बार आइरहेको विषय हो। धेरै जनासँग राम्रो सम्बन्ध छ। तर, मेरो कुनै पनि व्यवसायका लागि पोलिटिकल प्रोटेक्सन चाहिँदैन। नेताहरूको साथ आवश्यक पर्दैन। मेरा व्यवसाय म आफैंले सम्हाल्न सक्छु। किनकी अधिकांश बिजनेसमा दीगोपन हासिल भइसकेको छ। 

नेताहरूसँग मेरा आवतजावत हुनुको प्रमुख कारण हो, म पनि व्यावसायिक क्षेत्रका केही संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छु। म नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष हुँ। मोबाइल आयातकर्ता संघको अध्यक्ष हुँ। नेपाल भियतनाम चेम्बर अफ कमर्सको अध्यक्ष हुँ। नेपाल घरजग्गा व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष हुँ। नेसनल बिजनेस इनिसिएटिभको कोषाध्यक्ष हुँ।

यसर्थ आफ्नो संस्थाका सदस्य व्यवसायीको आवाज पुर्‍याउन भूमिका खेल्नुपर्ने हुन्छ। छलफल तथा अन्तरक्रिया गर्नुपर्ने हुन्छ। डेलिगेसन जानुपर्ने हुन्छ। यसकारण राम्रो सम्बन्ध बनाउनुपर्ने हुन्छ। तर, मेरो आफ्नो लाभका लागि भेट गर्दिनँ। 

- प्रस्तुति : रोविन पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.